नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियालाई ७ विकेटले हराउँदै दुई खेलको अन्तर्राष्ट्रिय टी-ट्वान्टी सिरिजमा १-० को अग्रता बनाएको छ।
मलेसियाले दिएको १२९ रनको लक्ष्य नेपालले ९ बल बाँकि छँदै ३ विकेट गुमाएर पूरा गर्यो।
नेपालको सहज जितमा कप्तान पारस खड्काले बिस्फोटक ब्याटिङ गर्दै ५० बल खेलेर ८६ रनमा अविजित रहे । उनले ५ छक्का र ८ चौका प्रहार गरे ।
यस्तै शरद भेसवाकरले अविजित १६ रन बनाउने क्रममा २० बल खेल्दै १ छक्का प्रहार गरेका थिए ।
यसअघि ओपनर प्रदीप ऐरीले ८ रन बनाउँदा ज्ञानेन्द्र मल्लले ७ तथा रोहित पौडेलले ५ रन बनाएका थिए ।
मलेसियाका लागि अनवार रहमानले २ तथा फित्री शामले १ विकेट लिए ।
योसँगै नेपालले दुई टी-ट्वान्टी सिरिजमा १-० को अग्रता लिएको छ । नेपालले दोस्रो खेल भोलि खेल्ने छ । टी-ट्वान्टीआईमा यो विकेटका हिसावले नेपालको सर्वाधिक ठूलो जित पनि हो ।
यसअघि किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२८ रन बनाएको थियो ।
मलेसियाका लागि विरेनदीप सिंहले सर्वाधिक ५७ रनको योगदान दिए । ४९ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरेका थिए।
यस्तै कप्तान अहमद फैजले ३९ बलमा ४५ रन बनाएका थिए । उनले २ छक्का हिर्काएका थिए ।
ओपनर शेयद अजिद शून्य रनमा आउट हुँदा फित्री शाम १२ रनमा आउट भएका थिए ।
मलेसियाका ५ खेलाडी शुन्यमा आउट भए भने बाँकि खेलाडीले पनि दोहोरो रनको स्कोर छुन सकेनन् ।
नेपालका लागि करन केसीले ३ विकेट लिए । बसन्त रेग्मी र सन्दीप लामिछानेले समान २-२ विकेट लिँदा सोमपाल कामीले १ विकेट लिए ।
करनले आफ्नो अन्तिम ओभरमा ३ रन खर्चिएर ३ विकेट लिएका थिए । ४ ओभर बलिङ गरेका करनले २७ रन खर्चिने क्रममा ३ चौका र १ छक्का दिएका थिए ।
बसन्तले आफ्नो चार ओभर स्पेलमा २८ रन खर्चिएर २ विकेट लिए । उनले १ छक्का दिएका थिए ।
यस्ते सन्दीपले आफ्नो चार ओभर स्पेलमा २५ रन खर्चिएर दुई विकेट लिने क्रममा २ छक्का दिए । यो सँगै सन्दीपले आफ्नो टी-ट्वान्टी अन्तर्राष्ट्रियमा ६ खेलबाट ७ विकेट लिएका छन् ।
नेपालले आज युवा अलराउण्डर दिपेन्द्रसिंह ऐरी, पवन सरार्फ र अविनास बोहोरालाई सुरूवाती ११ मा राखेको थिएन ।
सिंगापुरमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप एसिया फाइनलको तयारी गर्ने क्रममा नेपाली टिम मलेसिया गएको हो । नेपालले मलेसियासंग दुई म्याचको टी–ट्वान्टी सिरिज खेल्ने छ ।
सन् २०२० मा अष्ट्रेलियामा हुने विश्वकपको छनोटको रुपमा रहेको फाइनल जुलाई २२ देखि २८ सम्म सिंगापुरमा आयोजना हुनेछ । एसिया फाइनलमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपाल पहिलो खेल कतारसँग खेल्ने छ ।
मलेसिया नेपालभन्दा तुलानात्मक रुपमा कमजोर टोली हो । नेपालको लक्ष्य पहिलो पटक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज क्लिन स्वीप गर्ने देखिन्छ । नेपालले हालसम्म ४ अन्तर्राष्ट्रिय टी-ट्वान्टी सिरिज खेलेको छ । २ सिरिजमा पराजित हुँदा १ मा जित र १ बराबरी नतिजा निकालेको छ ।
आईसीसीबाट एकदिवसीय र टी–ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरिसकेपछि नेपालले पहिलो पटक युएईविरुद्धको टी–ट्वान्टी सिरिज जितेको थियो। माघमा भएको सो सिरिजपछि नेपालले मलेसियासँग खेल्न लागेको हो ।
हेर्नुहोस् पुरा भिडियो