कुनै समय काठमाडौं (कान्तिपुर) को सौन्दर्यवाट मोहित भएर आदिकवि भानुभक्त आचार्यले अलकापुरी नगरी कविता लेखेका थिए । यो अलकापुरी नगरी वास्तुशिल्पको शहर हो । यसलाई ‘मन्दिरै मन्दिरको शहर’ पनि भनियो । ४०० ईशापूर्व पुरानो किरात सभ्यतालाई अझैपनि आफ्नो गर्भमा समेटेर बाँचेको यो शहरले आधुनिकतालाई पनि आत्मसात गर्दै गएको छ ।
अहिले मन्दिरै मन्दिरको यो शहरमा आधुनिक व्यापारिक भवन, सिनेमा घर, प्रविधियुक्त संरचनाहरु थपिएका छन् । आदिकवि भानुभक्तले भनेझै कतै दिल्लीजस्तो, कतै लन्डनजस्तो फेरि कतै वाराणसीजस्तै । आधुनिकता र प्राचीन शैलीको फ्युजन भएको छ यो शहर ।
सानो उपत्यकाको एउटा अत्याधुनिक शहर । गगनचुम्बी भवन, पानीको फोहोरा लहराईरहेका कृतिम ताल-तलैया, सुविधासम्पन्न सपिङ मल, सिनेमा घर, चिल्ला एवं फराकिलो सडक, ठाउँ-ठाउँमा ओभरफ्लाई, सुरुङ मार्ग । व्यवस्थित सार्वजनिक यातायात । बेतोडले दौडिरहने मोनो रेल । थरीथरी बिजुलीबत्तीले झलमल्ल शहर । यस्तो शहर, जहाँ प्रवेश गर्नसाथ आधुनिकताले परिपूर्ण शहरमा पुगेको अनुभूत गर्न पाइयोस् । करिब दुई हजार बर्ष पुरानो सभ्यता बोकेर ठडिएको काठमाडौं शहर कस्तो होस् ? आधुनिक वा प्राचीन ?