क्वालालाम्पुर । मलेसियामा जारी एसीसी यू १९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा नेपालले हङकङविरुद्ध उत्कृष्ट फिल्डिङ गर्दै ९५ रनमा समेटेको छ।
किनरारा ओभल क्रिकेट मैदानमा टस जितेर नेपालले पहिला फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गर्न आएको हङकङ ४३.१ ओभरमा सबै विकेट गुमाउँदै ९५ रनमा समेटियो।
हङहङका लागि कप्तान अदित गोरावाराले सर्वाधिक २४ रनको योगदान दिए। कल्हण मार्कले १९ रन जोड्दा राउनक कपुरले १२ रन जोडे। बाँकी कुनै पनि ब्याट्मेनले दोहोरो रनको स्कोर छुन सकेनन्।
नेपालले पहिलो ओभरमै स्पिनर सागर ढकाललाई बलिङमा ल्याएको थियो । सागरले चौथो बलमै हङकङका ओपनर नसरुल्लाह रानालाई शून्यमा पवन सरार्फबाट क्याच आउट गराए । सागरले नै तेस्रो ओभरको दोस्रो बलमा राहुल शर्मालाई सुन्यमा विकेटकीपर हरि बहादुर चौहानबाट स्टमपिङ आउट गर्न सफल भए ।
सुरुवाती दुवै विकेट शून्यमा गुमाए पनि तेस्रो विकेटका लागि अदित गोरवारा र कल्हण मार्कले तेस्रो विकेटका लागि २९ रनको साझेदारी गर्दै हङकङको स्कोर उकासे। यी दुईबीचको साझेदारी पनि सागर ढकालले १३ ओभरको पाँचौ बलमा मार्कलाई १९ रनमा एलबी डब्लू आउट गर्दै तोडे।
लगत्तै आरूष भगतलाई पनि खाता नखोल्दै सागरले बोल्ड गरे।
पाँचौ विकेटको लागि कप्तान गोरावर र मेहरन बीच १८ रनको साझेदारी भयो। पुनः सागरले २३ औं ओभरमा मेहरनलाई स्टम्प आउट गर्दै पाँचौ विकेट दिलाए। लगातार रन नबन्दा ठूलो सट खेल्ने चक्करमा उनी आउट भएका थिए।
लगत्तै अर्को ओभरमा लेग स्पिनर तिलक राज भण्डारीले लगातार क्रिजमा जमीरहेका र उत्कृस्ट लयमा रहेका कप्तान अदित गोरावराको विकेट लिए। प्रतियोगिताकै सर्वाधिक रनकर्ता गोरावरा स्लिपमा क्याच समातिन पुगे जस अघि उनले ७१ बलमा ४ चौका मदतले २४ रन बनाए।
त्यसपछि सुस्त ब्याटिङ गर्दै २८ बलमा ३ रन बनाएका मोहम्मद हसन खान र ३७ बलमा १२ रन बनाएका रौनक कपुरलाई कमल सिंह ऐरीले बोल्ड गर्दै विकेट लिए।
नवौं विकेटको लागि मोहम्मद हसन ( २ ) र अब्दुल उर्सलानले २५ रनको साझेदारी गर्दै हङकङको इनिङ्स तन्काए। ४३ औं ओभरमा हसनलाई कमलले एलबिडब्लु आउट गरे जसले ३७ बलमा ९ रन बनाए। उर्सलां पनि ७ रन बनाएर कुशल मल्लबाट बोल्ड आउट भए।
फलस्वरूप हङकङ ४३.१ ओभरमा ९५ रनमै समेटिन पुग्यो।
नेपालको बलिंगमा सागर ढकाल एक्लैले ५ विकेट लिन १० ओभरमा ५ मेडन ओभर गर्दै मात्र १८ रन खर्चिए। पेस बलर कमल सिंह ऐरीले ३ विकेट ( ८-२-२३-३ ) लिए भने कुशल मल्ल ( ८.१-५-४-१ ) र टिकल राज भण्डारीले ( ४-१-१२-१ ) १/१ विकेट लिए।
सागरको उत्कृस्ट बलिङ
प्रतियोगितामा यस अघि सागरले चीनसँग ६ विकेट, सिंगापुरसँग १ विकेट तथा मलेसियासँग ३ विकेट लिएका थिए। आज लिएको ५ विकेट सहित कुल १५ विकेट लिँदै सागर प्रतियोगिताकै सर्वाधिक विकेटकर्ता बनेका छन् र प्लेयर अफ द सिरिज अवार्डको पनि दाबेदार बनेका छन्।
सन् २०१७ मा नेपालले प्रतियोगिताको उपाधि जित्दा ५ खेलमा १६ विकेट लिँदै सन्दिप लामिछाने प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिएका थिए। दोस्रो पटक नेपाली खेलाडी त्यसतर्फ अघि बढेका हुन्।
सागर चीन र मलेसियासँगको खेलमा प्लेयर अफ द म्याच समेत चुनिएका थिए।
फाइनल खेल जिते नेपाल आगामी अगस्टमा श्रीलंका आयोजना हुने यु-१९ एसिया कप खेल्न छनौट हुनेछ।