को हुन् अमेरिकाले फिर्ता पठाएका नेपालीहरू?

Break n Links
Break n Links

अमेरिकामा अवैध रुपमा बस्दै आएका नेपालीहरू स्वदेश फिर्ता भएका छन्। फिर्ता हुनेमा ८ जना नेपाली रहेको विमानस्थल अध्यागमनले पुष्टि गरेको छ।

बुधबार अमेरिकाको न्यू ह्याम्पसरको पोट्र्समाउथबाट नेपालीहरूलाई लिएर आएको गल्फ स्ट्रिमको जीआरपी-२३ चार्टर जहाज ९ बजेर ५३ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।

सो जहाज अल्बानियाको तिराना अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका केही नागरिकलाई ओरालेपछि सोझै नेपाल आएको थियो। अमेरिकाबाट निष्कासितहरूलाई अल्बानियासम्म हत्कडीसमेत लगाइएको थियो।

नेपाल फिर्ता हुनेमा एक महिला र सात पुरुष छन्। फिर्ता हुनेहरू २२ वर्षदेखि ४७ वर्षसम्म उमेरका छन्। फिर्ता हुने महिला ३५ वर्षकी छन्।

नेपाल फिर्ता भएका उनीहरूलाई अध्यागमन कार्यालयले अध्यागमन प्रक्रिया सकेर नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोको जिम्मा लगाएको छ।

नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुँवरले अमेरिकाले फर्काएकाहरू मानव बेचबिखन तथा ओसारपसारका पीडित हुन् कि भनेर सोधपुछका लागि झिकाइएको बताए।

उनले भने, ‘अमेरिकामा गैरकानुनी रुपमा बसोबास गर्दै आएका ९ जना हाम्रो सम्पर्कमा छन्, उहाँहरू कसरी त्यहाँ पुग्नुभयो, मानव बेचबिखन तथा ओसारपसारका भिक्टिम हो कि भन्ने ढंगले सामान्य सोधपुछ गर्नका लागि बोलाएका हौं।’

राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासीप्रति कडा नीति अवलम्बन गर्दै गैरकानुनी आप्रवासीलाई स्वदेश फर्काइरहेका छन्। त्यसक्रममा यसअघि २७ नेपाली फिर्ता भएको अध्यागमन विभागले जनाएको छ।
 

प्रकाशित मिति: : 2025-03-05 13:12:00

प्रतिकृया दिनुहोस्