लस एन्जलसमा ‘हिंसात्मक प्रदर्शन’, ट्रम्पको ‘राजनीतिक खेल!

Break n Links
Break n Links

अमेरिकाको क्यालिफोर्निया थप तनावग्रस्त बनेको छ। क्यालिफोर्नियाको लस एन्जलसमा त्यहाँको आप्रवासन विभागले छापा मारेर केही अवैध आप्रवासीहरूलाई नियन्त्रणमा लिएपछि चर्किएको आन्दोलन हिंसात्मक भएको छ। 

यो बीचमा त्यहाँको स्थितिलाई लिएर अमेरिकी राजनीति पनि विभाजित भएको छ। खासगरी डेमोक्र्याटहरूले शान्ति स्थापनाको प्रयास भन्दा राष्ट्रपति डोनाल्ड ट्रम्पले थप तनाव निम्त्याउनेगरी कदम चालेको आरोप लगाएका छन्। 
संघीय आप्रवासन तथा भन्सार प्रवर्तन विभाग (आईसिई) को कारबाहीको विरोधमा तीन दिनदेखि व्यापक प्रदर्शन जारी छ। प्रदर्शनकारीहरू विरुद्ध राष्ट्रपति डोनाल्ड ट्रम्पले तैनाथ गरेका राष्ट्रिय गार्डले बल प्रयोग गरेपछि स्थिति थप तनावग्रस्त भएको छ। अश्रुग्यास प्रयोग गरी प्रदर्शनकारीहरूलाई हटाउने प्रयास भइरहेको छ।

लस एन्जलसको मुख्य १०१ फ्रिउवे मार्ग अवरुद्ध गरेपछि सुरक्षा निकायले हस्तक्षेप गरेको हो। ट्रम्पले आफ्नो निर्णयको बचाउ गर्दै कानुन र व्यवस्थाको पुनःस्थापनाको लागि यो कदम आवश्यक रहेको बताएका छन्। तर, क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमले संघीय सैनिक हटाउन माग गरेका छन्। उनले ट्रम्पको कदमलाई ‘शक्तिको दुरुपयोग’ को संज्ञा दिएका छन्। सामान्यतया अमेरिकाले आफ्नै भूमिभित्र यस्ता सैनिक प्रयाेग गर्दैन। र गरिहालेमा त्याे एकदमै दुर्लभ मानिन्छ। 

उनले ट्रम्पलाई त्यहाँ ‘राजनीतिक खेल नखेल्न भन्दै शान्ति कायम गर्न पनि प्रदर्शनकारीलाई आह्वान गरेका छन्। प्रदर्शनकारी भने सरकारी भवन र सार्वजनिक सम्पत्तिको तोडफोड अनि आगजनीमा समेत उत्रिएका छन्। अमेरिकाका पूर्व उपराष्ट्रपति कमला ह्यारिसले पनि ट्रम्पको कदमलाई निकै ‘खतरनाक’ भनेकी छिन्। उनले ट्रम्पले सैनिक परिचालन गर्नु जनताको सुरक्षा भन्दा पनि डर फैलाउने कोसिस भएको भन्दै त्यसको आलोचना गरेकीह न्। 
कमला राष्ट्रपतिको चुनावमा ट्रम्पको प्रतिष्पर्धी पनि हुन्। 

शुक्रबारदेखि सुरु भएको प्रदर्शन शनिबार र आइतबार हिंसात्मक बन्दै गएको छ। दर्जनौं प्रदर्शनकारीहरूलाई प्रहरीले पक्राउ गरेको छ भने केही प्रहरी अधिकारीसमेत घाइते भएका छन्।

यता, लस एन्जलसमा रहेको एक आप्रवासी हिरासत केन्द्र नजिकै राष्ट्रिय गार्डका सैनिकहरूको बाक्लो उपस्थिति देखिएको छ। ट्रम्पले हिंसा कुनै पनि हालतमा सैह्य नभएको भन्दै त्यहाँ शान्ति कायम गर्न भन्दै करिब २ हजार नेशनल गार्डहरू तैनाथ गर्न आदेश दिएका थिए। प्रदर्शनका क्रममा दर्जनौंलाई गिरफ्तार गरिएको छ। 

स्थिति नियन्त्रणमा ल्याउन सुरक्षाकर्मीहरूले थप सतर्कता अपनाएको जनाइएको छ। तर, मानवअधिकारवादी समूहहरू र स्थानिय समुदायले संघीय कदमलाई अनावश्यक र भड्काउने प्रकृतिको भन्दै विरोध जारी राखेका छन्।


 

प्रकाशित मिति: : 2025-06-09 08:30:00

प्रतिकृया दिनुहोस्