सुजन तिमल्सिना
कोशी प्रदेश सरकारले इलामको सन्दकपुरलाई घुम्नैपर्ने पर्यटकीय गन्तव्यका रुपमा समावेश गरेको छ। सन्दकपुर गाउँपालिकाभित्र सन्दकपुर मात्र नभइ अन्य रमणीय गन्तव्यहरू पनि छन्।
दक्षिणमा माइटारबेसीदेखि उत्तरमा हिउँ तुसारोले ढाक्ने सन्दकपुरको चुचुरोसम्म, पूर्वमा आलेभञ्ज्याङ्गदेखि पश्चिममा थाक्लेभञ्ज्याङ्गसम्म गाउँपालिका फैलिएकाले यहाँका हरेक स्थानहरू घुम्न लायक छन्।
१५६.०१ वर्ग किमी क्षेत्रफल ओगटेको गाउँपालिका जनसंख्याको आधारमा १३३ औं र क्षेत्रफलको आधारमा चारसय ७७ औं सानो स्थानीय तह हो। इलामका चार नगरपालिका र ६ गाउँपालिका मध्ये सन्दकपुरमा तुलनात्मक रुपमा घुम्न लायक स्थानहरू बढी छन्।
सन्दकपुर उक्लिएपछि प्राकृतिक भू–बनोट, बहुमूल्य जडिबुटी, दुर्लभ वन्यजन्तु, जैविक विविधता विभिन्न जातजातिको भाषा, सस्कृति, रहनसहन, रितीरिवाज र कृषिमा आधारित जीवनशैलीको अध्ययन गर्न सकिन्छ। समुन्द्र सतहबाट ९ सय ९ मिटरदेखि तीन हजार ६ सय ३६ मिटरसम्म फैलिएको छ।
सिंहलिला र महाभारत पर्वत श्रृंखलाबाट उत्पन्न दर्जनौ नदीनाला, विश्व रामसार सुचीमा सुचीकृत माइपोखरी, अन्य सिमसार क्षेत्र, लोपोन्मुख वन्यजन्तु, वनजंगलभरी पाइने चराका बथान, वनस्पति हिमश्रृङ्खलाको दृश्य, झरनाहरू सन्दकपुरका आकर्षण हुन्। विशेषगरी लेकाली एवम पहाडी क्षेत्रमा रहेकाले यहाँका हरेक स्थान पदयात्राका लागि अब्बल छन्।
सन्दकपुर डाँडाः कहाँबाट पदयात्रा
स्थानीय तह घोषणा भइ जनप्रतिनिधि नेतृत्वमा आएपछि सन्दकपुर गाउँपालिका भित्र पर्यटन प्रवर्द्धनले गति लिएको थियो। २०७४ को स्थानीय तहको निर्वाचनपछि पर्यटन पूर्वाधारले पनि गति लिएको छ। सन्दकपुर गाउँपालिका भित्रका पर्यटकीयस्थल पछिल्लो समय पदमार्गले जोडिएका छन्। विश्व रामसार सूचीमा सूचीकृत माइपोखरीदेखि मानव निर्मित ढापपोखरी जोड्ने ४३ किलोमिटर लामो पदमार्ग निर्माण भएको छ।
माइपोखरीबाट शुरु भएको पदमार्गले डम्बरसिंह सुनुवार संग्राहालय, सातखाल्डे सहिद पार्क, रेडपाण्डा संरक्षण केन्द्र टप्पु, सूर्योदयमा दृश्यावलोकन क्षेत्र छोक्रेभञ्ज्याङ, छिन्टापु डाँडा, गोरुवाले, धुपि, आहाल हुदै सन्दकपुर डाँडा जोडिन्छ।
सन्दकपुरबाट गुराँसे भञ्ज्याङ्ग, बिखेभञ्ज्याङ, चौरीचौक, कालपोखरी, कैयाकट्टा हाँगेथाम हुँदै ढापपोखरी पुगेर पुरा हुन्छ। रेडपाण्डा पदमार्ग यात्राका क्रममा विश्वको अग्लो हिमश्रङ्खला ६० बढी हिमालको दृश्य, लोपउन्मुख वन्यजन्तु रेडपाण्डा, चरिबाघ, मुनाल, डाँफे सहित सयौँ प्रजातीका चराहरू, सिमसार, नदीका मुहान, प्राकृतिक सुन्दरतामा रमाउन सकिने स्थानीयहरूको दाबी छ।
सन्दकपुर डाँडासम्मको पदयात्रा सन्दकपुर गाउँपालिका ५ को पर्यटकीय गाउँ जौबारी बाट गैरीबास, कैयाकट्टा, कालपोखरी हुँदै पदयात्रा गर्न सकिन्छ। जौबारी सन्दकपुर पदमार्ग २५ किलोमिटर लामो छ।
सन्दकपुर डाँडाको पदयात्रा वडा नम्बर १ को बिखेभञ्ज्याङबाट पर्यटकीयस्थल छिन्टापु गोरुवाले हुँदै सन्दकपुर पुगिन्छ। बिखेभञ्ज्याङबाट सन्दकपुरसम्मको पदयात्रा ३० किलोमिटर लामो छ।
रेडपाण्डा पदमार्ग
विश्व रामसार सुचिमा सुचिकृत माइपोखरीदेखि जौबारीसम्म जोड्ने पदमार्ग रेडपाण्डा पदमार्ग हो। पदमार्ग ४३ किलोमिटर लामो छ। रेडपाण्डा पदमार्गमा पर्ने कैयाकट्टाबाट मानव निर्मित चन्द्रपाल थेवे ढापपोखरीसम्म पनि पदमार्गले जोडिएको छ।
माइपोखरीबाट शुरु भएको पदमार्गले पर्यटकीयस्थल डम्बरसिंह सुनुवार संग्राहालय, सातखाल्डे सहिद पार्क, रेडपाण्डा संरक्षण केन्द्र टप्पु, छोक्रेभञ्ज्याङ, छिन्टापु डाँडा, गोरुवाले, धुपि, आहाल हुँदै कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर पुगिन्छ।
सन्दकपुरबाट बिखेभञ्ज्याङ, चौरीचौक, कालपोखरी, कैयाकट्टा हाँगेथाम हुँदै ढापपोखरी पनि पुगिन्छ। सन्दकपुर गाउँपालिकाबाट रेडपाण्डा पदमार्ग नामाकरण भएको पदमार्गमा संघीय सरकारको पर्यटन विभागबाट ६ करोड र प्रदेश सरकारबाट १ करोड खर्च भएको छ। जुन सन्दकपुर गाउँपालिका १ को रामसार क्षेत्र माईपोखरीबाट वडा नम्बर ५ को जौबारी बजार जोडिन्छ। जौबारीलाई पूर्वी नेपालको मुस्ताङको उपमा पाएको छ।
पदमार्गका आकर्षण
रेडपाण्डा पदमार्गले १५ पर्यटकीय गन्तव्य समेटिएका छन्। रामसार क्षेत्र माईपोखरी, डम्बरसिंह सुनुवार संग्राहालय, सहिदभुमि सातखाल्डे, रेडपाण्डा संरक्षण केन्द्र टप्पु, छोक्रेभञ्ज्याङ, खप्परे, ढुङ्गेपानी, छिन्टापु डाँडा, गोरुवाले पर्दछ। पदमार्गमा धुपि, आहाल डाँडा, सन्दकपुर डाँडा, गुराँसे भञ्ज्याङ्ग, बिखेभञ्ज्याङ, चौरीचौक, कालपोखरी, लालबास पोखरी, दोबाटे, माबुथाम, कैयाकट्टा, गैरीबास र जौबारी बजार रहेका छन्।
रेडपाण्डा पदमार्गको शुरुवात सन्दकपुर १ र ३ मा अवस्थित रामसार क्षेत्र माईपोखरीबाट शुरु हुन्छ। माइपोखरी विश्व रामसार सुचिमा सुचिकृत धार्मिक र पर्यटकीय गन्तव्य हो।
पदमार्ग यात्राका क्रममा विश्वको अग्लो सगरमाथा सहित नेपाल, भारत, भुटान र चीनको तिब्बतका ६० बढी हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ। लोपउन्मुख रेडपाण्डा, थार, चितुवा, चरिबाघलगायतका वन्यजन्तुको अध्ययन गर्न सकिन्छ।
लोपउन्मुख डाँफे, मुनालसहित दर्जनौँ चराहरूको दृश्यावलोकन र अध्ययन पदमार्ग यात्राका क्रममा पाइन्छ। दजनौँ सिमसार, नदीका मुहान, र प्राकृतिक सुन्दरतासँगै जडिबुटी र गुराँससहित दर्जनौँ प्रजातिका वनस्पति, फुलहरूमा रमाउन सकिन्छ।
यात्रा र समय
रेडपाण्डा पदमार्ग ४३ दशमलव १८ किलोमिटर लामो छ। पदमार्गको यात्रा तीन दिनमा गर्न सकिने भएपनि भौगोलिक अवस्था, पदयात्रीको सुविधाका लागि आवश्यक पूर्वाधारका कारण पाँच दिनमा यात्रा गर्न सकिन्छ।
पदयात्रा छोट्याउने र लम्ब्याउने पदयात्रीको खर्च गर्ने क्षमता र यात्राको अवस्थामा निर्भर हुन्छ। पदमार्गमा क्षेत्रमा खाने र बस्ने सुविधाको आधारमा यात्रा गर्न सकिन्छ। पदयात्राको शुरु माइपोखरी वा जौबारीबाट गर्न सकिन्छ। माइपोखरीबाट यात्रा तय गर्ने योजना बनाएमा झापाको पूर्व पश्चिम राजमार्गको चारआलीबाट इलाम सदरमुकाम हुँदै ८० किलोमिटर यात्रा गाडीको यात्रा गर्नुपर्छ।
त्यसपछि माइपोखरीसम्म गाडीको यात्रा थप १२ किलोमिटर हुनेछ। यदि हामीले जौबारीबाट पदयात्राको योजना बनाएमा मेची राजमार्गको फिक्कलबाट माईजोगमाई गाउँपालिकाको नयाँबजारहुँदै जौबारीसम्म ७२ किलोमिटर गाडीमा यात्रा गर्नुपर्छ।
पर्यटकीय गन्तव्यसँगै रहेका होटल र होमस्टेमा गाँस र बासको सुविधा रहेकाले यात्रा रमाइलो हुनेगर्छ। यात्राका क्रममा दर्जनौ प्रजातीका चराहरू, लोपोन्मुख रेडपाण्डा, दर्जनौ हिमश्रृङ्खलाको दृश्यमा रमाउन सकिन्छ।
यात्राका क्रममा भेटिने छोक्रेभञ्ज्याङ, खप्परे घिवाला भञ्ज्याङ्ग र ढुङ्गेपानी क्षेत्रसम्मको क्षेत्र वन्यजन्तु र चराहरूको अध्ययनको क्षेत्र मानिन्छ। छिन्टापु डाँडा नेपालको प्राकृतिक ग्रेटवालले प्रख्यात छ। चीनको ग्रेटवाल झैँ देखिन्छ। छिन्टापु ३ हजार ३ सय ३ मिटरको उचाईमा अवस्थित छ। छिन्टापु क्षेत्र इलामको गुराँसको राजधानीका रुपमा परिचत छ। छिन्टापुबाट दर्जनौ हिमश्रृङ्खलाहरूको दृश्यमा रमाउन सकिन्छ।
छिन्टापु क्षेत्रमा क्याम्प राखेर गर्न बस्न सकिने भएपनि होटल र होमस्टेको व्यवस्था नभएकाले गोरुवाले क्षेत्रमा पुगेर होमस्टेमा बस्न सकिन्छ। सन्दकपुर क्षेत्र समुन्द्र सतहबाट ३६ सय ३६ मिटरमा अवस्थित छ।
पदयात्राका क्रममा चराहरूको चिरबिर अनि भेटिने मुनाल र रेडपाण्डाको दृश्यले सबैको मन फुरुङ्ग बनाउँछ। चैत्र र बैशाखमा फुल्ने लाली गुराँसको फुलमा रम्न सकिन्छ। यात्राका क्रममा धुपि क्षेत्रमा रहेका चौरी गोठहरूमा चौँरीको दूधको स्वादमा रमाउँदै धुपिबाट आहाल डाँडा हुँदै सन्दकपुर डाँडासम्म पुग्न सकिन्छ।
आहालडाँडा सुर्योदय र सुर्यास्तको दृश्यमा रमाउन सकिन्छ। नेपाल र भारत सीमा क्षेत्रमो रहेको आहालडाँडा क्षेत्रमा भारत भएर दैनिक सयौँ पर्यटकहरू आउने गरेको छ। आहालडाँडाबाट सगरमाथा,
कंचनजंघमा हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ। आहालडाँडाबाट नजिकै रहेको छ सन्दकपुर डाँडा। भारतको पश्चिमबंगाल र इलामको शीर सन्दकपुर डाँडा महाभारत पर्वतमा पर्ने सुनको अण्डा मानिन्छ।
नेपाल, भारत, भुटान र चीनको तिब्बतका हिमश्रृङ्खलाहरूको चराले झैँ दृश्यावलोकन गर्न सकिने सन्दकपुर क्षेत्रमा होटल र होमस्टेहरूमा बास बस्नको आनन्द बेग्लै हुन्छ। सन्दकपुरबाट नेपाल, भारतका ग्रामीण बस्तीदेखि सहरहरूसम्मको दृश्यमा रमाउन सकिन्छ।
पदयात्रामा भेटिने दोबाटे लोपोन्मुख रेडपाण्डाको अध्ययन क्षेत्रको रुपमा परिचित छ। सन्दकपुर डाँडाबाट हामी गुराँसे भञ्ज्याङ, बिखेभञ्ज्याङ्ग, चौरी चौक, कालपोखरी, लालबास पोखरी हुँदै दोबाटे पुग्न सकिन्छ।
दोबाटे क्षेत्रका होमस्टेमा बास बसेर अर्गानिक खाना अनि लोपोन्मुख रेडपाण्डाको अध्ययन गर्न सकिन्छ। दोबाटे क्षेत्रमा मुनाल र डाँफे चराको पनि अध्ययन गर्न पाइन्छ। त्यसबाहेक चरिबाघ र सयौँ प्रजातीका चराहरूको अध्ययन अवलोकन गर्न पाइन्छ।
दोबाटेबाट जौबारीसम्मको यात्रा अझै रोमान्चक बनाउन सकिन्छ। सन्दकपुर ४ को माबुथाम डाँडासम्म पदयात्रा माबु सन्दकपुर सडकको प्रयोग गर्नुपर्छ।
माबुथाम डाँडामा निर्माणाधिन टावरबाट पुरै सन्दकपुर गाउँपालिकासँगै तराईका भु–भागहरूको दृश्यावलोकन गर्न सकिन्छ। दोबाटे फर्केर कैयाकट्टा, गैरीबास, जौबारीसम्म यात्रा झनै रोमान्चक लाग्छ। जंगलको बिचमा रहेको पदमार्ग यात्राको आनन्द बेग्लै हुन्छ। यात्राको बिचमा पर्ने कैयाकट्टा, गैरीबास, जौबारी क्षेत्र रेडपाण्डा, सयौँचराहरू, मुनाल, डाँफे, चरीबाघको अध्ययन गर्ने अवसर पाइन्छ।
थप्न सकिन्छ यात्रा
रेडपाण्डा पदमार्गको यात्रा सकिएपछि यात्रा थप गर्न सकिन्छ। सन्दकपुर ५ को कैयाकट्टाबाट हाँगेथाम हुँदै ढापपोखरीसम्मको पदयात्रा थप्न सकिन्छ।
कैयाकट्टाबाट ढापोखरीसम्मको यात्रामा पर्यटकीय गन्तव्य कैयाकट्टा, हाँगेथाम, साँङ्गे छ्योलिङ्ग गुम्बा, ढापोखरी, पाहा झरना जोडिएका छन्। यो यात्रा ८ किलोमिटरको हुनेछ। त्यस्तै सन्दकपुर– ५ को जौबारीबाट आहालभञ्ज्याङ्ग क्षेत्रसम्मको यात्रा थप गर्न सकिन्छ।
यात्रामा रेडपाण्डा र चराचुरुङ्गीको अध्ययन गर्न सकिन्छ। सन्दकपुर १ को बिखेभञ्ज्याङ्गबाट छिन्टापु हुँदै सन्दकपुरसम्म यात्रा गर्न सकिन्छ। यो क्षेत्रमा पाँचथरको पौवाभञ्ज्याङ्गबाट निर्माण शुरु भएको फाल्गुनन्द पदमार्गले जोडिन्छ। हिमाली दृश्यसँगै लोपउन्मुख वन्यजन्तु रेडपाण्डा र चराचुरुङ्गीको अध्ययनबाट आनन्द लिन सकिन्छ।
पदमार्गमा पूवार्धार आवश्यक
रेडपाण्डा पदमार्ग पूर्ण रुपमा संचालनका लागि थप पूर्वाधार निर्माण हुुनपर्ने आवाज उठिरहेको छ । पदमार्ग र पर्यटकीय गन्तव्यहरूको सूचना लिनका लागि सुचना केन्द्रको आवश्यकता देखिएको छ। विश्व रामसार सूचिमा सुचिकृत माइपोखरीमा सुचना केन्द्र स्थापना गर्न यात्रुहरूले माग गर्ने गरेका छन्।
पदमार्गको सुरक्षा र मर्मतको काम नियमित हुनुपर्ने आवाज पनि उठिरहेको छ। पदमार्गको नियमित मर्मत नहुँदा झाडीमा परिणत हुने भएकाले अशोस र फागुन महिनामा पदमार्ग सफा गर्नुपर्ने बाध्यता छ। पदमार्गको छिन्टापु क्षेत्रमा पर्यटक बस्ने आवास गृहसँगै, शौचालय र खानेपानीको व्यवस्था गर्न आवश्यक छ।
सन्दकपुर डाँडामा गेष्टहाउस संचालन गर्न, पदमार्गको टप्पु छिन्टापु क्षेत्रको घिवाला भञ्ज्याङ्ग क्षेत्रमा पर्यटक बस्नका लागि गेष्ट हाउस बनाउन आवश्यक छ। गोरुवाले आहाल खण्डको धुपी क्षेत्रमा गेष्ट हाउस र क्याम्प राख्नका लागि पूर्वाधार निर्माण गर्नुपर्नेमा स्थानीयको जोड छ।
पदमार्गको कैयाकट्टा र गैरीबास जोड्ने खण्ड पूर्णरुपमा मर्मत गर्नुपर्ने, घिवाला भञ्ज्याङ्ग, छिन्टापु, धुपि, लगायतका क्षेत्रमा खानेपानीको व्यवस्था हुनुपर्ने, आरामका लागि गोल घर बनाउनुपर्ने पर्यटन व्यवसायीहरूले माग गर्दै आइरहेका छन्। पदमार्ग भित्र पर्ने बजारहरूमा फोहोरमैला व्यवस्थापन गर्न समुदायलाई सचेत गराउनुपर्ने आवाज पनि उठिरहेको छ।
रेडपाण्डा पदमार्ग क्षेत्रमा जैविक विविधता, जडिबुटी, चराचुरुङ्गी, सरिश्रप, लोपउन्मुख वन्यजन्तु रेडपाण्डा, चितुवा, चरिबाघ, मुनाल, डाँफे र पोखरीहरू रहेकाले सोही अनुसारका कार्यक्रमहरू अघि बढाउन सरोकारवालाहरूले बताउँदै आइरहेका छन्। यद्यपी, भौतिक पूर्वाधार निर्माण गर्दा वनजंगल र जंगल क्षेत्रमा बसोबास गर्ने चराचुरुङ्गी, वन्यजन्तु, चराचुङ्गी र सिमसार क्षेत्रको सुरक्षालाई ध्यान दिनुपर्ने सुझाव सरोकारवालाहरूको छ।
रेडपाण्डा पदमार्गको सुरक्षा र व्यवस्थापनका लागि समुदायसँग जोड्नुपर्ने, नियमित मर्मतका लागि समुदायलाई जिम्मा दिनुपर्ने, समुदायमा आधारित पर्यटन प्रवर्द्धन कार्यक्रम संचालन गर्नुपर्ने, होमस्टे, गोठस्टे, गाइड, पोटरलगायतका सीपमुलक कार्यक्रमहरूअघि बढाउन सुझाव आएको सरोकारवालाहरूको भनाइ छ।