कुलमानलाई हटाएरै छाड्ने ऊर्जामन्त्रीको अडान, ‘भीआईपी’सँग आजित एन्फा

ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फेरि २४ घण्टे स्पष्टीकरण सोधेका छन्।

यसअघि, सोधेको स्पष्टीकरणको जवाफ चित्त नबुझेको भन्दै मन्त्री खड्काले पुनः स्पष्टीकरण सोधेका हुन्। 

घिसिङलाई सरकारले सोमबारको‍ मन्त्रिपरिषद्‌को बैठकबाट हटाउने तयारी गरेको थियो। तर, चौतर्फी दबाबका कारण सरकार पछि हटेको थियो।

प्राधिकरणको सञ्चालक समितिको अध्यक्षमा खड्का नियुक्त भएयता आन्तरिक भ्रमण वा अन्तर्राष्ट्रिय भ्रमणमा कति पटक गएको भन्ने विषयमा पनि घिसिङलाई प्रश्न साेधिएकाे छ। 

000

बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठको स्वकीय सचिव रवि थापाले आत्महत्या गरेका छन्। 

उनले सोमबार राति गहुँमा राख्ने विषादी ट्याब्लेट सेवन गरेर आत्माहत्या गरेका हुन्। 

प्रदेशको सहकारी मन्त्रालय मातहतमा रहेको सहकारी महाशाखाले गत पुस २८ गते समस्याग्रस्त सहकारी घोषणा गरेको सुमेरु सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिडेटको विषयमा फोनमा गरेको कुराकानी बाहिरिएपछि थापाले आत्महत्या गरेको खुलेको छ। 

धादिङको धुनिवेँशी नगरपालिका–९ घर भएका थापा केही महिनाअघि मात्रै मन्त्री श्रेष्ठको स्वकीयमा नियुक्त भएका थिए।

भिडियो रिपोर्ट-

000

बाढी, पहिरो जस्ता मनसुनजन्य घटनामा परी बेपत्ता भएका परिवारले मृतकसरह राहत पाउने भएका छन्। 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले २०८० वैशाख १ गतेदेखि यताका मनसुनजन्य विपद्मा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई यस्तो राहत उपलब्ध गराउने निर्णय गरेको हो। 

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार त्यस्तो विपद्मा बेपत्ता भएको व्यक्ति १० दिनसम्म पनि फेला पर्न नसकेको अवस्था यकिन गरी सम्बन्धित जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकसरह राहत उपलब्ध गराउने निर्णय भएको हो।

000

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाथीभरा केबुलकार निर्माण विवादमा सरकारले बल प्रयोग गरे आफूहरू आन्दोलनकारीको पक्षमा उभिने बताएका छन्।

जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा आयोजित खबरदारी सभा तथा दोस्रो गाउँ सम्मेलन उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका छन् । 

पाथीभराको मुद्दा सांस्कृतिक र भावनात्मक ऐतिहासिक मुद्दा भएको बताउँदै प्रचण्डले यसमा बल प्रयोग गर्ने दुस्साहस नगर्न सरकारलाई आग्रह गरेका थिए।

000

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रियसभालाई फेरि वृद्धाश्रम भनेका छन्। 

प्रतिनिधिसभाको बैठकमा आमसञ्चार विधेयकमाथिको छलफलका क्रममा उनले राष्ट्रिययसभालाई वृद्धाश्रम भनेका हुन्। 

सांसद शाहीले राष्ट्रियसभालाई वृद्धाश्रम भनेपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र एमाले सांसद रघुजी पन्तले उठेर विरोध समेत जनाएका थिए।

000

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले वर्तमान दल र तिनीहरूको अवस्थासहित राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। 

वर्तमान सरकार लामो समय नटिक्ने दाबीसहितको राजनीतिक प्रतिवेदनमा उनले वर्तमान सत्ता सहयात्री दल नेपाली कांग्रेस र नेकपा एमालेसहित विप्लव नेकपाबारे पनि उक्त प्रतिवेदनमार्फत टिप्पणी गरेका हुन्।

पार्टीको केन्द्रीय समिति बैठकमा महताेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा अहिलेको सरकार चीनको सहयोगमा बनेको आरोप पनि लगाएका छन्।

000

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले झापामा आफू आक्रोशित भएकोमा नेता कार्यकर्तासँग माफी मागेका छन्।

माओवादीको तराईं मधेस जागरण अभियानको झापामा उद्घाटन कार्यक्रममा सोमबार मन्तव्य दिइरहेका नारायणकाजी श्रेष्ठ आक्रोशित हुँदै बिचमै बोल्न छोडेर फर्किएका थिए।

आफूबाट हुन पुगेको उक्त व्यवहारप्रति उनले चितवन पुगेर माफी मागेका हुन्।

झापामा आफूमा मनोवैज्ञानिक रुपमा अवरोध जस्तो भएपछि आफूलाई बिझाएको र त्यसपछि थप नबोलेको उनकाे प्रष्टीकरण थियाे।

000

सिराहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको शंकास्पद मृत्यु प्रकरणमा पक्राउ परेका तीन जनामाथि अनुसन्धान गर्न ५ दिन म्याद थप गरिएकाे छ।

पक्राउ परेका चन्देश्वर मण्डल, रामविनोद मण्डल र कमलेशकुमार दासमाथि अनुसन्धान गर्नका लागि जिल्ला अदालत सिराहाबाट सोमबार म्याद थप गरिएको हो।

सिराहा प्रहरीले आइतबार मात्रै घटना दबाउन पञ्चायती बसेको आरोपमा आठ जनालाई नियन्त्रणमा लिएको थियो। तीमध्ये ४ जना दाेषी देखिएपछि उनीहरूविरूद्ध म्याद थप गरेर अनुसन्धान अघि बढाइएकाे हाे।

000

सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणमा इन्स्पेक्टर विवेक जोशी पक्राउ परेका छन्।

आत्महत्या दुरुत्साहनमा किटानी जाहेरीका आधारमा इन्स्पेक्टर जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्त शर्माले जानकारी दिए।

पक्राउ परेका इन्स्पेक्टर २३ नम्बर गण तनहुँमा कार्यरत छन्। मृतक सन्तोषीका परिवारले सोमबार जोशीविरुद्ध उजुरी दिएका थिए।

000

नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेकाे छ। 

लगातार बढिरहेको सुनको मूल्य मंगलबार हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

याेसँगै सुनकाे मूल्य प्रतितोला एक लाख ७१ हजार तीन सय रूपैयाँ पुगेको छ। त्यसैगरी चाँदीकाे मूल्य भने घटेर १ हजार ९ सय ७० रुपैयाँ पुग्याे। 

000

जारी युक्रेन–रुस युद्धकाबीच संयुक्त राष्ट्रसंघमा अमेरिकाले पहिलोपटक रुसको पक्षमा मतदान गर्दा नेपालले भने युक्रेनको साथ दिएको छ।

सोमबार पेस गरिएको रुसलाई युक्रेनी क्षेत्रबाट हटाउने एक प्रस्तावका पक्षमा नेपालसहित छयानब्बे देशले समर्थन गरेका थिए। जबकी भारत र चीनसहित संयुक्त राष्ट्रसंघमा आवद्ध ६५ देशले मतदानमा भाग नै लिएनन्।

रुस–युक्रेन युद्ध तेस्रो वर्षमा प्रवेश गरेसँगै युक्रेनी क्षेत्रबाट रुसलाई हटाउन मतदान भएको थियो। यद्यपि रुसले युक्रेनको भूभागमा गरेको कारबाहीको राष्ट्रसंघको बहुमतले विरोध जनाएको छ।

000

अखिल नेपाल फुटबल संघ एन्फाले फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको फाइनल खेलमा निमन्त्रणाबिना रंगशालामा नआउन विशिष्ट व्यक्तिहरूलाई आग्रह गरेको छ।

बुधबारको फाइनल खेलअघि मंगलबार आयोजित पत्रकार सम्मेलनमा एन्फा कम्पिटिशन डाइरेक्टर सञ्जीव मिश्रले मेयरदेखि सांसद, मन्त्रीहरूलाई बिना निमन्त्रणा मैदान नआउन आग्रह गरेका हुन्। 

विना निमन्त्रणा मैदान आउँदा व्यवस्थापन गर्न गाह्रो हुने भन्दै निमन्त्रणा नभएको विशिष्ट व्यक्ति मैदानमा नआउन उनको अनुरोध थियो। 

फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको उपाधिका लागि बुधबार नेपाल र म्यानमारबीच प्रतिष्पर्धा हुँदैछ। उक्त खेल दशरथ रंगशालामा साँझ ६ बजेबाट सुरु हुनेछ । 

प्रकाशित मिति: : 2025-02-25 20:10:00

प्रतिकृया दिनुहोस्