नेपाल औषधि लिमिटेडको ५१औं वार्षिक साधारण सभा सम्पन्न भएकाे छ।
आइतबार नेपाल औषधि लिमिटेडको सभा हल बबरमहलमा यज्ञप्रसाद न्यौपानेकाे अध्यक्षतामा साधारण सभा सम्पन्न भएकाे हाे।
नेपालको पहिलो एलोप्याथी औषधि उत्पादन गर्ने नेपाल औषधि लिमिटेडको योगदान अविस्मरणीय रहेको महाप्रबन्धक कैलाशकुमार पनेरुले बताए।
‘कुनैबेला बन्द अवस्थामा पुगेको कम्पनी अहिले जीवन्त लयमा छ’, नेपालमा सरकारको स्वामित्व रहको नेपाल औषधि लिमिटेड गौरवशाली रहेको बताउँदै उनले भने, ‘औषधि उत्पादन श्रमता बढाएर मुनाफामा लैजाने लक्ष्य बोकेका छौं।’
कुनैबेला सयथरि औषधि बनाएकाे इतिहास बाेकेकाे कम्पनीले अगामी वर्षहरूमा पनि औषधि उत्पादन क्षमता बढाउँदै लैजाउने उनकाे छ।
पाँच दशकदेखि औषधि उत्पादन गर्दैआइरहेकाे नेपाल औषधि लिमिटेडकाे अवस्था अहिले सुधाराेन्मुख रहेकाे अध्यक्ष न्यौपानेले बताए।
उनका अनुसार कम्पनी अहिले विश्व स्वास्थ्य संगठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास (जीएमपी) प्रमाणपत्र प्राप्त गर्न पनि सफल भएकाे छ।
जीएमपी प्राप्त नेपाल औषधि लिमिटेडले अहिले जीवनजल, सिटामाेल, सिटाप्लस, हेमाेडायलासिस, फ्लुड/पाउडर, सेटिमाइन, एर्माजटलगायत एमजिट डिएफ उत्पादन गर्दैआइरहेकाे छ।
यसै आ.वदेखि एम्लोडिपिन, मेटफार्मिन, एटोरवास्टेटिन, एजिथ्रोमाइसिन, एल्बेन्डाजोललगायत आइरन ट्याब्लेट ५ एमजीको आरडी सम्पन्न गरी व्यवसायिक उत्पादन सुरु गर्ने कम्पनीको तयारी रहेकाे छ।
त्यसैगरी कम्पनीकाे वार्षिक उत्पादन क्षमताबारे पनि अध्यक्ष न्याैपानले चर्चा गरे।
कम्पनीले वार्षिक सिटामाेल ३ कराेड ५० लाख ट्याब्लेट, जीवनजल ५५ लाख प्याकेट, हेमाेडाइलासिस एक लाख सेट, स्यानिटाइजर १५ हजार लिटर, ग्लिसरीन २ हजार केजी, मेट्रोनिडाजोल ४०० एमजी ६० लाख ट्याब्लेट, मेट्रोनिडाजोल डीएफ २० लाख ट्याब्लेट, सेट्रिजिन १० एमजी ४० लाख ट्याब्लेट, फोलिक एसिड ०.४ एमजी २० लाख ट्याब्लेट, डिस्टिल्ड वाटर ३० हजार लिटरलगायत आरओ वाटर ६० लाख लिटर उत्पादन गर्दैआइरहेको छ।
उनका अनुसार पछिल्लाे पाँच वर्षयता कम्पनीकाे अवस्था सुधाराेन्मुख छ। तर हालसम्म कम्पनीकाे ऋण भने १ अर्ब २६ कराेड, १९ लाख, ९५ हजार ८ सय ७९ रूपैयाँ छ।