प्रधानमन्त्री केपी शर्मा ओलीसँग युवा आदान-प्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन नेपाल आएका भारत, भूटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ (एनसिसी) का टोलीले शिष्टाचार भेट गरेको छ।
प्रधानमन्त्री ओलीसँग महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजना हुने उक्त युवा आदान-प्रदान कार्यक्रममा सहभागी हुन आएको टोलीले साेमबार प्रधानमन्त्री निवास, बालुवाटारमा भेट गरेको हो।
उक्त अवसरमा प्रधानमन्त्री ओलीले युवा आदान-प्रदानका कार्यक्रमद्वारा नेपाली सेनाले मित्रराष्ट्रका सेनासँगको आपसी सम्बन्धलाई बलियो बनाउनाका साथै क्याडेटबीच सीप, संस्कृति र परम्पराको आदान-प्रदान गर्ने सुनौलो अवसर सृजना गर्दै आएको बताएका थिए।
000
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेकाे सरकार पूँजीपतिहरूसँग घुस खाएर बनेको दाबी गरेका छन्।
झापाबाट तराई-मधेश जागरण अभियान उद्घाटन गर्दै प्रचण्डले ठूला पूँजीपतिहरूले आफ्नो घरमा नेताहरु बोलाएर सरकार बनाएको दाबी गरेका हुन्।
आफू नेतृत्वको सरकारले भ्रष्टाचारविरोधी अभियान चलाएपछि नेपाली कांग्रेस र नेकपा एमालेको अप्राकृतिक सरकार बनेको प्रचण्डकाे भनाइ थियाे।
भिडियो समाचार-
000
ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको घटना छानबिन गर्न समिति गठन भएको छ।
राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा कार्यरत डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो।
इन्स्पेक्टर बेसिकको तालिम गर्दै आएकी महत पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन ब्यारेकमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन्।
प्रेम सम्बन्धका कारण उनले आत्महत्या गरेको हुनसक्ने पारिवारले आशंका गरेको छ। परिवारले सशस्त्रकै एक इन्स्पेक्टरविरुद्ध आत्महत्या दुरुत्साहन कसुरमा किटानी जाहेरी दिएका छन्।
000
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशले डिजाइन भइरहेकै अवस्थामा यूएसएडका तीन कार्यक्रम रोकिएका छन्।
सोमबार अर्थ मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले सञ्चालन गर्न लागेका जैविक विविधता, प्रदेश एवं स्थानीय शासन सुदृढीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम रोकिएको जनाएको हो।
अर्थ मन्त्रालयका अनुसार रोकिएका तीनवटै कार्यक्रम डिजाइन भइरहेको थियाे।
000
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले आफ्नो पार्टीले एमसीसी ठिक भनेर कहिल्यै नभनेको दाबी गरेका छन्।
केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा महासचिव भुसालले व्याख्यात्मक टिप्पणीमा पनि कमजोरी रहेको स्वीकार गरेका हुन्।
000
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नाे पार्टी एमालेसँगको सम्झौतामा इमान्दार रहेकाे बताएका छन्।
सोमबार प्युठानमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले ०८४ को चुनावसम्म कांग्रेस एमालेसँग इमान्दार रहने बताएका हुन्।
तर एमालेबाट काहिँ कतैपनि दुर्व्यवहार भए वा विधि र कानूनको शासनमा सम्झौता गर्नुपरे तत्काल सरकार छाड्ने उनकाे भनाइ थियाे।
000
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र अजरबैजानका विदेश राज्यमन्त्री एलनुर ममादोभबिच जेनेभामा सोमबार द्विपक्षीय भेटवार्ता भएको छ।
संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषदको ५८औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहेका उनीहरूबीच साइडलाइन भेटवार्ता भएको उनको सचिवालयले जनाएको छ।
भेटका अवसरमा उनीहरूबीच द्विपक्षीय हित, आपसी चासोका विषयमा कुराकानी भएको थियो।
000
यसवर्ष शिवरात्रीमा पशुपतिनाथ क्षेत्रमा मेला भर्न तथा भगवानको दर्शन गर्न करिब ५ लाख दर्शनार्थी आउने अनुमान गरिएको छ।
सोमबार पशुपति क्षेत्र विकास कोषले पत्रकार सम्मेलन गरेर करिब ५ लाख दर्शनार्थी आउने अनुमान गरिएको जानकारी दिएको हाे।
महाशिवरात्रीको तयारी गर्न कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ। जसमा मूल समितिअन्तर्गत रहने गरी महाशिवरात्रीको तयारीका लागि १० वटा उपसमिति पनि गठन गरिएको छ।
000
काठमाडौंको ठमेलमा प्रहरीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका अनेरास्ववियुका नेता तथा कार्यकर्तालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले सोमबार यस्तो आदेश दिएको हो।
काठमाडौंको लैनचौर बस्ने २२ वर्षका रमेश फुलारालाई १५ हजार धरौटी माग गरिएको छ भने २५ वर्षका दिनेश सिग्देलसहित ६ जनालाई १० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
माघ २४ गते उनीहरूले प्रहरी टोलीमाथि आक्रमण गरेका थिए।
000
नेपाल पुलिस क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब केपी ओली कप च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
ललितपुर सादोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलको पुलिसलाई २-० गोलले पराजित गर्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो।
फागुन १८ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन्।