प्रधानमन्त्री केपी शर्मा ओलीले बेइमानी गरेर पाएको सफलता समाजका लागि उपयोगी नहुने बताएका छन्।
इमानदारिताले मात्रै सकारात्मक सफलता पाउन सकिने भन्दै उनले बेइमानी गरेर पाएको सफलता समाजका लागि उपयोगी नहुने बताएका हुन्।
बिहीबार कास्कीको ढुङ्गेपाटनमा आयोजित पोखरा विश्वविद्यालयको २०औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले दीक्षित विद्यार्थीहरू समाज र देशका लागि उपयोगी हुनुपर्ने बताएका थिए।
000
परराष्ट्र मन्त्री आरजु राणा देउवाले भारतको किट कलेजमा उत्पन्न समस्या समाधान भएको बताएकी छन्।
किटमा पढ्ने नेपालकी छात्रा प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित घटनाक्रमलाई नेपाल सरकारले गम्भीर रूपमा लिएर कूटनीतिक माध्यमबाट समाधान गरेको उनले बताएकी हुन्।
आफूले बुधबार ओडिसाका उच्च शिक्षामन्त्री सूर्यबंशी सुरजसँग फोनमा कुराकानी गरेर नेपाली विद्यार्थी प्रकृती लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका साथै त्यहाँका नेपाली विद्यार्थीहरूलाई कलेजमा सुरक्षित वातावरण सहित पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेको उनले बताएकी थिइन्।
000
भारतको ओडिसास्थित किट कलेजको छात्रावासमा विद्यार्थी प्रकृति लम्साल मृत भेटिएलगत्तै निकालिएका विद्याथीहरू होस्टल फर्किन थालेका छन्।
भारतस्थित नेपाली दूतावासका काउन्सिलहरू सञ्जीव शर्मा दास र नविन अधिकारीसँग सोमबार साँझ र मंगलबार दिनभर भएको संवादपछि विद्यार्थीहरू होस्टेल फर्किन थालेका हुन्।
दास र अधिकारीले विद्यार्थीहरूसँग कुराकानी गर्नुका साथै कलेज प्रशासन र ओडिसा प्रहरीका अधिकारीहरूसँग पनि छलफल गरेका थिए।
000
संविधानसभा सदस्य एवं नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ।
लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित ५९ वर्षीय सापकोटाको काठमाडौंको चाबहिलस्थित हेल्पिङ ह्याण्डस् सामुदायिक अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान निधन भएको हो।
पार्टी पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सह-इन्चार्ज सापकोटाको निधन भएकाले बैठक शुक्रबार बस्ने गरी स्थगित गरिएकाे थियाे।
000
नेपालबाट हुने वस्तु तथा सेवाहरूको निर्यात बढेको छ।
चालू आर्थिक वर्ष २०८१/८२ को सात महिनामा निर्यात ४६ दशमलब पाँच शून्य प्रतिशतले बढेकाे हाे।
भन्सार विभागका अनुसार चालू आवको सात महिनामा एक खर्ब २७ अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालबाट निर्यात भएको छ।
यो गत आवको सोही अवधिको तुलनामा ४६ दशमलब पाँच शून्य प्रतिशत बढी हो। त्यसबेला ८६ अर्ब ८३ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात गरिएको थियो।
000
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको काममा व्यस्त हुँदा आफ्नो निर्वाचन क्षेत्रलाई पर्याप्त समय दिन नपाएको बताएका छन्।
गोरखाको गोरखा नगरपालिका-१४ गोप्लिङस्थित एकै घरबाट तीनजना सहिद भएका नहर्की परिवारसँग भेट गर्दै उनले यस्तो बताएका हुन्।
प्रचण्डले सरकारको काममा व्यस्त हुँदा आफ्नो निर्वाचन क्षेत्रका कार्यक्रममा बढी ध्यान दिन नसकेको उल्लेख गर्दै सरकारबाट बाहिरिएपछि त्यसलाई बढाइएको र अब निरन्तर आफ्ना मतदातासँग भेटघाटमा आइरहने बताएका थिए।
000
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन्।
पोखरा भ्रमण वर्ष, २०२५ समारोह उद्घाटन गर्ने क्रममा बेलुन विस्फोट भएपछि घाइते भएका उनी कीर्तिपुर अस्पतालबाट डिस्चार्ज भएका हुन्।
उनीसँग विस्फोटमा परेर घाइते भएका अर्थमन्त्री विष्णु पाैडेल भने यसअघि नै अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।
000
अन्तर्राष्ट्रिय समाचार-
भारतीय जनता पार्टीकी रेखा गुप्ता दिल्लीको नयाँ मुख्यमन्त्री बनेकी छन्। आम आदमी पार्टीकी बन्दना कुमारीलाई करिब ३० हजार भोटले हराउँदै उनी मुख्यमन्त्री बनेकी हुन्।
मुख्यमन्त्री बनेलगत्तै गुप्ताले बिहीबार रामलीला मैदानमा शपथ लिएकी हुन्। यसअघि दिल्ली नगर निगमको मेयर समेत भइसकेकी उनी भाजपा दिल्लीकी महासचिव र महिला मोर्चाकी उपाध्यक्ष पनि हुन्।
000
हमासले गाजामा मृत्यु भएका चार जना इसराइली बन्धकको शव हस्तान्तरण गरेको छ।
बिहीबार दिउँसो रेड क्रसमार्फत ती शवहरू हमासले इसराइललाई हस्तान्तरण गरेको टाइम्स अफ इसराइलले जनाएकाे छ।
सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणपछि हमासले पहिलो पटक शव हस्तान्तरण गरेकाे हाे।
यो काम हमास र इजरायली पक्षबीच जनवरी १५ मा सहमति गरिएको र जनवरी १९ मा कार्यान्वयनमा आएको युद्धविराम सम्झौताअन्तर्गत भइरहेको छ। बदलामा इजरायली जेलमा रहेका जीवित प्यालेस्टिनी बन्दीको आदानप्रदान हुनेछ।
000
खेल समाचार-
किर्गिस्तानमाथि फराकिलो जित हासिल गर्दै म्यानमार अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप २०२५ को फाइनल नजिक पुगेको छ।
बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएकाे खेलमा म्यानमारले किर्गिस्तानलाई ५-० ले हराएर फाइनल नजिक पुगेको हाे।
यसअघि म्यानमारले लेवनानमाथि ३-१ गोलको जित निकालेको थियो।