बालविवाह मुद्दामा गृहमन्त्रीलाई जोडेर भ्रम फैलाइयो- गृह मन्त्रालय

गृह मन्त्रालयले बालविवाह मुद्दामा राज्यका निकायहरूले आफ्नो तोकिएको अधिकार क्षेत्रभित्र रहेर कार्य सम्पादन गरेका विषयमा गृहमन्त्री रमेश लेखकलाई जोडेर भ्रम फैलाउने काम भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मङ्गलबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले गृहमन्त्री लेखकलाई सामान्य जानकारीसमेत नभएको विषयमा समाजमा भ्रम फैलाउने गरी भ्रामक समाचार प्रकाशन भएको बताएको हो।

गृह मन्त्रालयले समाजमा छुवाछूत र जातीय विभेद बढाउनेलाई कानुनको दायरामा ल्याउन प्रतिबद्ध रहेको जनाएको छ।

सत्येन्द्रकुमार राम (चमार) र नेहा रौनियारबीचको अन्तरजातीय बालविवाहको विषयमा सिर्जित घटनाबारे गृहमन्त्री लेखकलाई सामान्य जाकारीसमेत थिएन। 

संविधान र कानुनप्रदत्त नागरिकका अधिकारहरूको उपभोगमा अवरोध पुर्‍याउने क्रियाकलापलाई कानुनको दायरामा ल्याउने कुरामा गृहमन्त्री प्रतिबद्ध रहेको उनको सचिवालयले जनाएको छ।

साथै, गृहमन्त्री लेखकले सो घटनाको यथार्थ विवरण सार्वजनिक गर्न र आवश्यक छानविन गर्न प्रहरी महानिरीक्षकलाई निर्देशन समेत दिएका छन्। उक्त घटनामा नेपाल प्रहरीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सत्येन्द्रकुमार रामविरुद्ध बाल विवाहको कसुरमा गत कार्तिक २५ गते जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ।

त्यसपछि ३ पुसमा मात्र कपिलवस्तु जिल्ला अदालतमा सत्येन्द्रकुमार राम र स्नेहा रौनियारबिच विवाह दर्ता भएको थियो। अहिले सत्येन्द्रकुमारविरुद्ध बालविवाहको कसुरमा जिल्ला अदालत सर्लाहीमा मुद्दा विचाराधिन अवस्थामा छ। उनी तीस हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्।

प्रहरीले सो विषय जातीय नभई कानुनी विषय भएको भन्दै गृहमन्त्री, प्रहरी महानिरीक्षक तथा अन्य प्रहरी कर्मचारीहरूप्रति लाञ्छना लगाउने भ्रमपूर्ण समाचार प्रति विस्वास नगर्न अनुरोध गरेको छ।

प्रकाशित मिति: : 2025-02-05 16:16:00

प्रतिकृया दिनुहोस्