उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले पछिल्लो समय अर्थ व्यवस्था केही हदसम्म चलायमान हुन लागेको संकेतहरू देखिएको बताएका छन्।
राजस्व चुहावट नियन्त्रणसँग सम्बन्धित नवीन प्रावधानहरू र भीसीटीसीको प्रयोग तथा परिपालनसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा उनले अर्थतन्त्रका सूचांकहरू सकारात्मक लयमा आउन लागेको भन्दै बजार धेरै राम्रो नभएपनि सुधारको हिसाबले राम्रो भएको बताए।
उनले भने, ‘गत वर्षको तुलनामा आयात ७.१ प्रतिशत र निर्यात ३१.८ प्रतिशत र निक्षेप संकलन ३.७ र नीजि क्षेत्रमा प्रभावित कर्जा ५.२ प्रतिशत, राजस्व संकलन १२.७ र खर्चमा १७.८ प्रतिशतले वृद्धि भएको तथ्यांकले बजार चलायमान भएको नै संकेत देखिएको छ। यो धेरै राम्रो नभएपनि सुधारको हिसाबले राम्रो संकेत हो।’
उनले आगामी दिनहरूमा सरकारका सबै निकायहरूको भूमिका र क्रियाकलापहरू समग्र आर्थिक गतिविधिलाई सक्रिय बनाउनेतर्फ लक्षित हुनुपर्ने भन्दै यसमा उद्योग वाणिज्य महासंघ सँधै साथमा रहने विश्वास व्यक्त गरेका छन्।
उनले भने, ‘आगामी दिनहरूमा सरकारका सबै निकायहरूको भूमिका र क्रियाकलापहरु समग्र आर्थिक गतिविधिलाई सक्रिय बनाउनेतर्फ लक्षित हुनुपर्छ। राजस्व अनुसन्धान विभागको भूमिका यसमा थप सन्तुलित र समन्वयकारी हुनुपर्ने हाम्रो धारणा छ। यसमा उद्योग वाणिज्य महासंघ सदैव तपाईहरुको साथमा रहने विश्वास समेत दिलाउन चाहन्छु।’
नीजि क्षेत्रको लगानीलाई प्रमोट गर्न र सक्रिय रुपमा अगाडि बढाउन सकेन भने परिणाम राम्रो नआउने पनि उनको भनाई छ।
उनले भने, ‘रियलमा भन्नुपर्दा निजी क्षेत्रको लगानीलाई प्रोमोट गर्न सकिएन भने, काम गर्ने वातावरण भएन भने त्यसले रिजल्ट दिन सक्छ भन्ने लाग्दैन।’