प्रहरीले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरभित्रै हातपात र दुर्व्यवहार गर्ने एकजनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार आक्रमणको अनुसन्धानका क्रममा घटनामा संलग्न एकजना पक्राउ परेका छन्। उनले भने, ‘हातपातको प्रयास गर्ने एकजनालाई नियन्त्रणमा लिएका छौं। अनुसन्धान प्रक्रिया अगाडि बढेको छ।’
पक्राउ पर्नेमा दोलखा जिल्लाको तामाकोशी गाउँपालिका-१ का ४८ वर्षीय ललीत केसी छन्। उनी ललितपुर, टीकाथलीमा डेरा गरी बस्ने गरेको खुलेको छ। बुधबार साँझ जिल्ला अदालतनजिकैबाट पक्राउ उनलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ। उनीमाथि आज मात्रै म्याद थप गरेर अनुसन्धान गर्ने प्रहरीले जनाएको छ।
परिसरका अर्का एक अधिकारीका अनुसार प्रहरीले घटनाका भिडियो फुटेजहरू हेरेर आक्रमणकारीहरूको पहिचान गर्ने काम गरिरहेको छ। फुटेजको विश्लेषणपछि आक्रमणमा संलग्नहरूलाई पक्राउ गरिने उनले बताए।
स्रोतका अनुसार गृहमन्त्री रमेश लेखकले त्रिपाठीमाथि आक्रमण गर्नेमाथि तत्काल कारबाही प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएका छन्।
स्वर्णलक्ष्मी सहकारीको रकम ठगी प्रकरणमा हिरासतमा रहेका लामिछानेको बुधबार अदालतमा थुनछेक बहस भएको थियो। सहकारी पीडितको तर्फबाट बहस गरेका त्रिपाठीमाथि अदालत परिसरमै रवि लामिछानेको समर्थक केही युवाहरूले हातपात गरेका थिए।
आफूमाथि रास्वपा कार्यकर्ताले अश्लिल गालीगलौज गर्दै आक्रमण गरेको त्रिपाठीले बताएका छन्।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले पनि विज्ञप्ति जारी गर्दै घटनाको विषयमा पार्टीको अनुशासन विभागको ध्यानाकर्षण भएको र घटनामा यदि दलको कुनै पनि सदस्यको संलग्नता भेटिएमा आवश्यक कारबाही गर्ने बताइसकेका छन्।