सडकमा बालबालिका: गर्भवतीदेखि एचआईभी संक्रमितसम्म

वि.स. २०७३ साल वैशाख–२७ गतेदेखि राष्ट्रिय कार्यक्रमको रुपमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद्, बालबालिका खोजतलास केन्द्र ‘१०४’ र विभिन्न संघसंस्थाहरूको सहकार्यमा सडक बालबालिकाहरूको उद्धार हुँदै आइरहेको छ।

हराएका, बेवारिसे फेला परेका, बेचबिखन तथा ओसारपोसारमा परेका, बालश्रममा रहेका र सडक बालबालिकाहरूको उद्धारमा खटिरहेकाे छ, बालबालिका खोजतलास केन्द्र ‘१०४’।

जाेखिममा परेका बालबालिकाहरूकाे क्षेत्रमा काम गर्दैआइरहेकाे खाेजतलास केन्द्रले २ हजार तीन सयभन्दा बढी सडक बालबालिकाकाे उद्धार गरेर संरक्षण र व्यवस्थापन गरिसकेकाे छ। 

सडकलाई संसार बुझ्ने र नयाँ दुनियाँ बनाइसकेका बालबालिकाहरूकाे उद्धार गर्न कठिन भएपनि निरन्तर संयमका साथ उद्धार र सडक बालबालिका मुक्त राष्ट्र घोषणा गर्न निरन्तर लागिपरिरहेकाे छ, बालबालिका खाेजतलास अर्थात् १०४।

आठ वर्षदेखि सडक बालबालिकाहरूलाई नयाँ जीवन र सामाजिक जीवनयापनमा फर्काउन बालबालिका खोजतलास केन्द्रले गत बिहीबार मात्रै करिब आधा दर्जन सडक बालबालिकाको उद्धार गर्‍यो।

कंलकी, स्वयम्भू, नयाँ बसपार्क, ठमेल, बसन्तपुरलगायत रातोपुलबाट जोखिमयुक्त अवस्थामा रहेका सात जना बालकहरूको उद्धार गरेको बालबालिका खोजतलास केन्द्रका अधिकृत सन्तोष अधिकारीले बताए।

उनका अनुसार जाेखिमपूर्ण अवस्थाबाट उद्धार गरिएका बालकहरू अहिले विभिन्न अस्थायी संरक्षण गृहमा छन्।

‘घर त्यागेर सडकमा बसेका बालबालिकालाई उद्धार गर्नु जोखिमपूर्ण छ तर हामीले जोखिम मोलेरै उहाँहरूको उद्धार गरिरहेका छौं’, उनले भने, ‘सडकबाट उद्धार गरिएका बालबालिकाहरूको मनाेविमर्श र अन्य सुधारका क्रियाकलापहरू पनि भइरहकाे छ।’

खोजतलास केन्द्र ‘१०४’ ले काठमाडौं उपत्यका मात्र नभई धरान, इटहरी, दमक, पोखरा, बुटवल, सुर्खेतलगायत होटौंडाका सडक बालबालिकाहरूको उद्धार गरिसकेको छ।

त्यसरी सडकबाट उद्धार गरिएका बालबालिकाहरूमध्ये २५ प्रतिशत बालिका छन् भने ७५ प्रतिशत बालक रहेका छन्। सडकबाट उद्धार गरिएका बालबालिकाहरू ठुलाे जाेखिममा रहेकाे अधिकारी बताउँछन्।

उनका अनुसार सडकबाट उद्धार गरिएका बालबालिकाहरू विभिन्न राेगबाट ग्रसित हुने, एड्स राेग देखिने र केही बालिकाहरू गर्भवती समेत हुने गरेका छन्। 

‘हामीले उद्धार गर्ने क्रममा अवस्था जाेखिमयुक्त हुन्छ। उहाँहरूकाे उद्धार गरिसकेपछि प्रारम्भिक उपचार गराउँर्छाैं। त्यसपछि हामी आफैंले नै बालबालिकाहरूलाई अस्थायी संरक्षण गृहमा पुर्‍याउँछाैं’, उनले बिएल नेपाली सेवालाई बताए।

त्यसैगरी पछिल्लो समय बालश्रमको गुनासो आइरहेको छ। सोहीकारण बालश्रममा रहेकाहरूको खोजी गर्दै उद्धार प्रक्रियामा निरन्तर खटिरहेको छ, बालबालिका खोजतलास ‘१०४’।

नेपाल प्रहरीको ‘१००’, बाल हेल्पलाइन ‘१०९८’ र बालबालिका खोजतलास ‘१०४’ले जोखिमयुक्त बालबालिकाहरूको उद्धार गरिरहेकाे बताउँदै उनी आग्रह गर्छन्, ‘जो–कसैलेपनि छिमेकमा बालश्रम लगाएको देख्नुभयो भने हामीलाई सम्पर्क गर्नुहोस्। जोखिममा रहका बालबालिकाहरूको उद्धारका लागि २४सै घण्टा खटिरहेका छौं।’

याे पनि...

प्रकाशित मिति: : 2024-06-17 15:00:00

प्रतिकृया दिनुहोस्