बस्तीमुनि नागढुङ्गा सुरुङ मार्ग: मूलहरू सुकिसके, घरहरू चर्किन थाले 

Breaknlinks
Breaknlinks

नागढुङ्गा–नौबिसे सुरुङमार्गले चन्द्रागिरी नगरपालिका १ र २ वडामा तीन वर्षदेखि पानीको संकट त निम्त्याएको छ नै अहिले स्थानीयका घरहरूसमेत चर्किन थालेपछि यहाँ आन्दोलन र भय पनि फैलिएको छ। 


जलुकेसँग थानकोटे गाग्राहरूको भेट नभएको तीन वर्ष भयो। तीन वर्ष अघिसम्म रित्ता थानकोटे गाग्रा दैनिक गाडी चढेर जलुके झर्थे। अनि पानीले भरिएर थानकोट उक्लिन्थे। 

थानकोट र जलुकेको सम्बन्ध पानीले जुराइदिएको थियो। चन्द्रागिरी नगरपालिका– १ मा पर्ने जलुकेले थानकोटको प्यास मेटाएको थियो।  

तर, तीन वर्ष (२०७७ साल)देखि वडा नम्बर ३ र ४ मा पर्ने थानकोटको प्यास मटाउन जलुकेले सकेको छैन, छरछिमेककै पनि प्यास मेटाउने अवस्थामा जलुके छैन।

किनकि जलुकेको जवानी खोसिएको छ। चार वर्षअघि (२०७६ कार्तिक ४)देखि सुरु भएको नागढुङ्गा सुरुङ मार्गले जलुकेको जवानी खोसिदिएपछि नजिकैको दहचाेकसँगै करिब किलोमिटर पश्चिम उचाइमा रहेको थानकोटको प्यास मेटिएको छैन।  

दहचाेकका विकास कँडेल त्यसका एक साक्षी हुन्। 

‘तीन वर्षअघिसम्म जलुके प्रशस्त पानी भएको मुल थियो। हामीलाई पुगेर पनि थानकोटसम्म जलुकेको पानी पुग्थ्यो,’ कँडेल भन्छन्, ‘तर अहिले यहाँ कमिला हिँड्छ।’

जलुकेमा पानी किन सुक्यो?

यो सब देखिरहेका, भोगिरहेका उनी भन्छन्, ‘नागढुङ्गा सुरुङ मार्गले पानी सुक्यो।’

नागढुङ्गा सुरुङमार्ग जलुकेमुनिबाट छेडिएको छ। त्यसैले गर्दा मुलको पानी हराएको उनी बताउँछन्। 

चन्द्रागिरी नगरपालिका–१ का कँडेल घर नजिकैकको जलुके मुलका साक्षी मात्रै होइनन्। आसपासमा भएका अन्य मुलका पनि सुकेको साक्षी हुन्। आफ्नै आँगनको इनारमा अब पानी छैन। छिमेकमा छैन। अब त सिंगै गाउँटोलमै पानी छैन।

घरछेउको आफ्नै इनारको पानीको सम्झना उनी खुबै गर्छन्। घरमा पुगेरसमेत छिमेकीलाई पुग्ने इनारको पानी सुरुङ खोलिएसँगै रित्तो भएको छ। इनार रित्तो भएको आज होइन। तीन वर्ष भइसकेको छ।

तीन वर्षदेखि उनले पानीको चरम संकट बेहोरिरहेका छन्। सुरुङ गाउँमुनिबाट छेडिएपछि सुरुङमार्ग आयोजनाले पानी त दिने भनेको छ। डिप बोरिङबाट आयोजनाले पानी वितरण पनि गरेको छ। 

तर विडम्बना एक दिन बिराएर एक घण्टापनि धारामा पानी आउँदैन्। त्यो पानी घरमै पिउनै पुग्दैन। तीन वर्षदेखि पिउन, नुहाउन, लुगाधुन समस्या त भएको छ नै विशेष गरेर कृषकले पानीको चरम संकट बेहोरेका छन्। 

पानीको संकटले कृषक पेशाबाट पलायन भएका छन्। कँडेलले पनि २०७६ सालमा २५ लाख रुपैयाँ बैंकबाट ऋण लिएर कुखुरा फार्म गरे। एक वर्षसम्म फार्म राम्रै चल्यो। 

तर जब घरकै इनारको पानी सुक्यो, गाउँछेउको जलुकेको मुल सुक्यो। त्यसपछि घरमै प्रयोग गर्ने पानीको अभाव झेल्नुपर्‍यो। डिप बोरिङबाट दिइएको पानीको शुल्क महंगो र त्यसमा पनि कम मात्रामा पाइने भएपछि उनले अहिले यो पेशा छाडेका छन्। जुन पानीकै अभावले हाे।

कृषिबाट उनीमात्र होइन, आसपासका अन्जन कुमार खत्री, गंगादेवी साउद, रवि डाँगी, मिया श्रेष्ठलगायतका दर्जनौं परिवारले अब यो पेशा छोडिसकेका छन्। 

०००

नागढुंगा सुरुङमार्गले चन्द्रागिरी नगरपालिका– १ का स्थानीयलाई मात्र पानी संकट पुर्‍याएको छैन। २ नम्बर वडामा १ को भन्दा अवस्था अझ जटिल छ। 

वडा नम्बर २ को बसुन्डोल टोलका नरेश वाग्लेको घरमुनी बाँसको घारी छ। घारीको छेवमै रहेको इनारमा तीन वर्षअघिसम्म पानी थियो। इनारमा पानी, घरमै सिमधाराबाट नियमित आउने पानी धारा थियो। 

पानीको अभाव कहिल्यै नरेशको परिवारले महसुस गरेन। तर अहिले न घरमा सिमधाराबाट पानी आउँछ, न घरमुनीको इनारमै पानी छ। दुवै ठाउँमा पानी सुकेको छ। 

पानी सुक्नुको कारण गाउँमुनीबाट छेडिएको सुरुङमार्ग रहेको नरेश बताउँछन्। नरेशका अनुसार गाउँ वरपर रहेका ५–७ वटा मुलहरू पनि सुकिगएका छन्।

तीन वर्षअघिसम्म नरेशलगायत बसुन्डोल टोलका नागरिकले पिउने पानी गाउँको उत्तर पश्चिममा रहेको सिमधाराबाट आउँथ्यो। सिमधारा मुलछेउवमै रहेको ट्याङ्कीमा पानी जम्मा भएर बसुन्डोल टोलमा पानी आइपुग्थ्यो। 

तीन वर्षदेखि सिमधाराको पानी कस्तो हुन्छ, बसुन्डोल टोलले देखेको छैन। सिमधाराको पानी सुकेपछि ट्याङ्की कमिलाको घर बनेको छ। ट्याङ्कीलाई वनमाराको झ्याङले पुरेको छ। 

सुरुङ निर्माण हुनुपूर्व यहीबाट आएको पानीले सिचाइका लागिसमेत प्रयोग हुने गरेको थियो। 

चन्द्रागिरी यसै पनि धेरै खेतीयोग्य जमिन भएको नगरपालिका हो। बसुन्डोल टोलमा पनि कृषिले गति लिदैथियो। बाहिरबाट आएकाहरू लिजमा जमिन लिएर तरकारी खेतीसमेत गर्न थालेका थिए। 

अहिले खेति गरेको टनेल भेट्टिन मुस्किल छ। 

‘घरमै खाने पानीको अभाव छ। सिंचाइ गर्ने भन्ने कुरै भएन। पानी नभएपछि सबै कृषिफार्महरू बन्द भए। अहिले सबै टनेलहरू खाली छन्’, नरेश वाग्लेले भने। 

डिप बोरिङमा पनि सुक्यो पानी

नागढुंगा सुरुङ मार्गले वडा नम्बर २ मा पानी उपलब्धन गराउन बनाएको डिप बोरिङमा पनि पानी सुकेको छ। गाउँमुनीको सुरुङमार्गले पानी सुक्ने मुल्याङ्कनसहित आयोजनाले सिमधारामुनी २०७६ सालमै डिप बोरिङ निर्माण गरेको थियो। 

तर सुरुङमार्ग निर्माण थालेको केही समयमै उक्त डिप बोरिङमा पानी सुकेको वडा नम्बर २ का वडासदस्य लवराम सुवेदीले बताए। त्यो डिप बोरिङ सुकेपछि फेरि त्यसको विकल्पमा आयोजनाले नै केही तल अर्को डिप बोरिङ बनाएको छ। 

अहिले वडा नम्बर २ का स्थानीयले सोही डिप बोरिङको पानी प्रयोग गरिरहेका छन्। उक्त डिप बोरिङको पानी स्थानीयले प्रयोग गरेको भएपनि प्रयाप्त भने छैन। एक दिन बिराएर दैनिक १ घण्टा पानी छाडिने गरिएको छ। 

उक्त पानी खान, नुहाउन, लुगाधुन पुग्दैन। डिप बोरिङको पानी अभावमा स्थानीयले ट्याङकरको महंगो पानी प्रयोग गर्दै आइरहेका छन्। तीन वर्षअघिसम्म नियमित पानीको प्रयोग गर्दै आइरहेको बताउँदै अहिले पानीको चरम संकट रहेको स्थानीय सम्झना अधिकारीले बताइन्। 

दोस्रो पटक बनाइएको डिप बोरिङको पानी पनि सुक्दै गएको स्थानीय अनुमान गर्छन्। आयोजनाले गाउँमा पानी आपुर्तिका लागि फेरि अर्को डिपबोरिङ निर्माण थालेको छ। 

वडा नम्बर १ मा एकवटा र २ मा तीन वटा डिपबोरिङ निर्माण हुँदा पनि पानीको संकटबाट भने स्थानीयले मुक्ति पाउन सकेका छैनन्। 

वडा नम्बर १ मा ७० घरधुरी र २ मा ५०० घरधुरी पानीका लागि संघर्ष गरिरहेका छन्। सुरुङमार्गको बढी भू–भाग वडा नम्बर २ मा पर्छ। त्यसले पनि २ नम्बर वडामा पानी संकट धेरै रहेको वडा सदस्य सुवेदीले बताए।

आयोजनाको बदमासी : घरबास उठायो, मुआब्जा दिन मान्दैन

सुरुङमार्ग निर्माण थालेपछि वडा नम्बर १ र २ मा धेरै घरहरू चर्किएका छन्। १ मा ६०–७० वटा घर र २ मा ९३ वटा घर चर्किएको छ। तर, त्यसको क्षतिपूर्ति दिने विषयमा आयोजना आनाकानी गरिरहेको छ। 

वडा नम्बर १ का कँडेलले २०७२ पछि घर बनाए। घर बनाएर बसेको चार वर्षसम्म केही नभएको घर सुरुङमार्ग निर्माण सुरु भएसँगै चर्किएर बस्न नमिल्ने भएको छ।

सुरुङमार्गको अलाइनमेन्टमा पर्ने उनको घर ठाउँ–ठाउँमा चर्किएको छ। घर चर्किएर बस्न नमिल्ने भएपछि आयोजनाले कोठाभाडामा उनीसहित राजेश महर्जन, ताराबहादुर खत्री, अन्जनकुमार खत्रीलगायत ९ जनालाई कोठा भाडामा बसालेको छ।

घरमा बस्न नमिल्ने भन्दै अन्य घरमा कोठा भाडामा सारेर बसालेको आयोजनाले मुआब्जा माग गर्दा भने दिन मानेको छैन। सुरुङमार्गको अलाइनमेन्टेमा पर्ने घरधुरीले आयोजना सुरु हुनुपूर्व नै मुआब्जालगायतको माग गरेका थिए। 

तर, पनि आयोजना सकिँदासमेत माग पूरा हुन सकेको छैन। आयोजनाले विभिन्न बाहाना बनाउँदै आफूहरूलाई अल्झाइरहेको कँडेल बताउँछन्।  

माग सुनाइ नहुँदा स्थानीयले रोके निर्माणको काम

सुरुङमार्गको निर्माण सुरु भएदेखि मुआब्जा, पानीको सहजतालगायतको माग राख्दै वडा नम्बर १ र २ का स्थानीयले पटक–पटक आन्दोलन गर्दा पनि उनीहरूको माग भने पुरा हुन सकेको छैन। 

भू-गर्भविदहरूलेसमेत अलाइनमेन्टमा भएको ठाउँमा जोखिम हुन सक्ने भनिसकेका छन्। केही समयअघि सुरुङमार्गको अलाइनमेन्टमा जमिन भासिएर प्वालसमेत परेको थियो। 

भोलिका दिनमा यस्तै थप ठाउँमा भासिनसक्ने जोखिम रहेको छ। तर, सम्बन्धित निकायले माग सुनुवाइ नगर्दा स्थानीयले फागुन ६ गतेदेखि सुरुङमार्गको काम रोकिदिएका छन्। 

अहिले काम पूर्ण रुपमा ठप्प छ। फागुमा सुरुङमार्गको ब्रेक–थ्रु गर्ने गरी काम गरेको आयोजनाले काम रोकिएपछि कहिले सुरुवात हुन्छ भन्ने अन्योल छ। आयोजना कम्पनीले केही कामदारलाई घरसमेत पठाइसकेको छ। 

तर स्थानीय सहज पानीको आपूर्ति हुनुपर्ने, चर्किएका घरको क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आन्दोलन गरिरहेका छन्। उनीहरूले भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालासँग पनि छलफल गरेको भए पनि निकास भने निस्कन सकेको छैन। 

सुरुङमार्ग आयोजनासँग पानीको समस्या, घर चर्किएर नागरिकले भागेकाे त्रासलगायत विषयमा बुझ्नका लागि बिएल नेपाली सेवाकाे टीम आयाेजना कार्यालयमा नै पुग्दासमेत भेट गर्न भने दिइएन। 

तस्बिरहरु : रविन भण्डारी

प्रकाशित मिति: : 2024-03-03 19:05:00

प्रतिकृया दिनुहोस्