गगन हिँडिरहेको बाटो

नेपाली काँग्रेसको चौधौ महाधिवेशनमा लोकप्रिय मतसहित निर्वाचित महामन्त्री त हुन् नै गगनकुमार थापा, त्यसमाथि उनको वाकपटुताले कायल पर्छन् कार्यकर्ता र आम नागरिक पनि।

‘समुदायमा काँग्रेस’ अभियानको समानान्तर महामन्त्री थापाले आफ्नो संवाद यात्रा कार्यक्रमको ओपनिङ पनि गरे। अब पालो आम नागरिक र आफ्नै पार्टीका कार्यकर्ताबीचको छ।

महामन्त्रीको पदीय जिम्मेवारीको भूमिकामा आफ्नो व्यक्तित्वलाई समेत मिश्रण गर्ने उनको रणनीति चातुर्यतापूर्ण छ।

पार्टीको मूल फ्रेममा कार्यकर्ताहरुलाई संस्थागत रुपमा जोड्ने प्रयास त सह्रानीय नै मान्नुपर्छ तर थापाले त्यसभित्रै आफ्नो व्यक्तित्वको ओज चलाखीपूर्वक मिसाइदिएका छन्।

मेची पुलबाट माघ १३ देखि सुरु भएको उनको ‘संवाद यात्रा’ले लय समातेको देखिन्छ। त्यसमाथि १६ गतेदेखिको ‘समुदायमा काँग्रेस’ कार्यक्रमले सहभागीको संख्यामा गुणात्मक वृद्धि पनि गराउनेछ।

२०८४ सँगै ‘मिसन पिएम’ उनको सामाजिक सञ्जालमा गति लिइरहेको अर्को अभियान पनि छ। पार्टीभित्र मूल नीति र मूल नेतृत्वका अघिल्लतिर विद्रोही भूमिकामा रहने स्वभावले उनलाई लोकप्रियताको शिखरमा पुर्‍याइरहेको छ।

विद्यार्थी आन्दोलनबाट आर्जेको उनको पूँजी भनेकै लोकप्रियता हो। उनको त्यही पूँजीले थापालाई पार्टीमा महामन्त्रीसम्म डोर्‍यायो। संसदको ढोका जनमतले दिलायो। मन्त्रीसम्मको पद पार्टी-लाइनले दियो।

बाहिरबाट हेर्दा सब ठिकठाक छ महामन्त्री थापाको राजनीतिक जीवन। तर बेलाबखत उनी स्वयं उकुसमुकुसमा भएको गरी खरो रुपमा आफ्ना कुरा राखिदिन्छन्। अनि त पार्टीभित्र र राष्ट्रिय राजनीतिमा उनको चर्चा चुलिन्छ।

साँच्चै भनौँ भने महामन्त्री थापा भाग्यमानी पनि छन्। भाग्यमानी यो अर्थमा कि उनले बोलेका कुराहरू समाचारका खुराक बन्छन्। र त लाइम-लाइटमा भइरहन्छन्। डिजिटल मिडिया र सोसल मिडियामा महामन्त्री थापालाई उछिन्ने पात्र पुराना दलहरूका हकमा अरु कोही छैनन् भन्दा अन्याय नै त नहोला।

मिडिया व्यवस्थापन र सञ्जाल प्रयोग उनको व्यक्तित्वको महत्वपूर्ण ‘टुल’ नै भइसक्यो। लोकतन्त्रमा यो कौशलताका लागि महामन्त्री थापाको निपुणता ‘वाह!’ भन्न लायक छ।

गगन पथमा संवादयात्रा

संसदीय दलमा सोचेअनुसार नतिजा नआएदेखि महामन्त्री थापाको प्रस्तुतिमा बदलावको भाव झल्किन्छ। त्यसको उदाहरण पछिल्लो पटक पार्टीको बैठकमा लिखित असहमति दर्ज गरेर देखाए। जो उनको राजनीतिक परिपक्वताको उदाहरण पनि हो।

मूलरुपमा संस्थागत कार्यक्रमको तालिकामा महामन्त्रीको ‘संवाद यात्रा’ कार्यक्रमले के सन्देश दिन खोजेको भनेर चर्चामा पनि छन् महामन्त्री थापा।

‘समुदायमा काँग्रेस’ माघ १६ गतेदेखि सहिद सप्ताह पारेर अभियानको पहिलो चरण सुरु हुने विज्ञप्ति काँग्रेसको अफिसियल भएको देखिन्छ। तर महामन्त्री थापाले १३ गते नै मेची पुलबाट ‘समुदायमा काँग्रेस’ सुरु भएको सन्देश लेख्दै आफ्नो ‘संवाद यात्रा’ कार्यक्रम लन्च गरिसकेका थिए।

काँग्रेसभित्र तीर्थस्थल मानिने विराटनगर-मोरङ पुगेर कोइराला परिवारकी महत्वपूर्ण पात्र स्व. नोना कोइरालाको शालिकसामु महामन्त्री थापा उभिएका थिए। त्यो दिन नोना कोइरालाको स्मृति दिवस पनि थियो।

महामन्त्री थापाले ‘समुदायमा कांग्रेस’ को ब्यानरमुनि ‘संवाद’ र ‘यात्रा’ शब्दलाई कलात्मक रुपले उल्लेख गरिरहेका छन्।

यति कुरा पृष्ठभूमिमा छन्। कार्यकर्ताहरू पनि पार्टीको महामन्त्री नै आफ्नो जिल्ला र ठाउँमा उपस्थित भइरहँदा उत्साहित देखिन्छन्। चाहे त्यो ‘समुदायमा कांग्रेस’ को नाममा होस् वा ‘संवाद यात्रा’ को शीर्षकमा होस्। यिनै बहानामा कार्यकर्ताको घर-आँगनमा उपलब्ध छन्, महामन्त्री थापा।

महामन्त्री थापाको अबको राजनीतिक रोडम्याप के होला? यो आम कार्यकर्ता र (केही हदसम्म) जनताको चासो पनि जोडिएको देखिन्छ। कार्यकर्ताहरू आफ्ना समस्या र गुनासाका पोका महामन्त्री सामुन्ने खोल्न पाउँदा उत्साहित पनि देखिन्छन्।

कुनै बखत थियो, स्व. गिरिजाप्रसाद कोइराला कार्यकर्ताहरूका घर दैलोमा पुग्थे। स्व. सुशील कोइरालाले पनि त्यो पदचाप पछ्याए। स्व. खुमबहादुर खड्का पनि कार्यकर्ताहरूका आँगनमा भेटिने त्यो सूचीमा कार्यकर्ताका लागि चिरपरिचित थिए।

महामन्त्री थापाले व्यक्तिगतरुपमा पार्टीभित्र मार्ग बदल्न उपयुक्त समयमा चुन्छन् नै। पार्टीभित्र वैचारिक बहसको ह्रास छ। नेतृत्वमा स्थापित हुन र संगठनमा दवदबा कायम गर्ने ध्येयले पछिल्लो समय काँग्रेस ग्रस्त छ।

महामन्त्री थापाको संवाद यात्राले आगामी महाधिवेशनका लागि वैचारिक र नेतृत्वको बेग्लै लाइन बनाउने सम्भावनालाई खुल्ला राखेको विश्लेषणसमेत भइरहेका छन्। तर साँच्चिकै त्यो उदेश्यमा महामन्त्री थापा सफल होलान्? यो प्रश्नले गर्भाधान गरिसक्यो।

पटाक्षेप भइरहेका सांगठनिक परिदृश्यले उनको मिसन पिएम र सभापतिको लक्ष्यमा पुग्ने प्रयास आफैँमा अस्वभाविक भने होइन। राजनीतिक जीवनको टाइमलाइन तोकेर हिँडेका महामन्त्री थापाको अर्जुनदृष्टि के मा छ? त्यो भने उनको आगामी रणनीतिले प्रष्ट पार्दै लैजानेछ।

रणनीतिगत रुपमा संगठनमा अघि बढिरहेका थापालाई पन्ध्रौँ महाधिवेशन सकसपूर्ण रहने देखिन्छ। सभापति पदका लागि संगठनात्मक धरातल बनाइरहेका महामन्त्री थापा संगठनमा अघि बढ्न व्यापक समर्थन हासिल गर्ने अभियानमा अघि बढेको भने प्रष्टै बुझिन्छ।

प्रकाशित मिति: : 2024-01-31 16:50:00

प्रतिकृया दिनुहोस्