१२ घन्टा २५ मिनेट ५२ सेकेन्डमा ७७ किलोमिटर गोरेटो छिचोलेर च्याम्पियन बनेकी रसिला  

धादिङका गोरेटाहरूमा कुद्दै हुर्किएकी रसिला तामाङका पाइलाहरूले अब यसरी रफ्तार समाएका छन् कि भर्खरै उनले १२ घन्टा २५ मिनेट ५२ सेकेन्डमा ७७ किलोमिटर अप्ठ्यारा बाटाे छिचोलेर एउटा अन्तर्राष्ट्रिय उपाधि लिएर फर्किएकी छन्। ‘एसिया ट्रेल मास्टर च्याम्पियनसिप’को उपाधि ल्याउने रसिला पहिलो नेपाली धावक पनि बनेकी छिन्।


धादिङबाट कुर्ता र पाइन्ट लगाएर आएकी रसिला आफूजस्तै दिदी-बहिनीहरूसँग पाँच किलोमिटर दौडिन्, ललितपुरका सडकमा। त्यो बेला उनी १६ वर्षकी थिइन्।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर थियो। उनी पनि गाउँ/घरका महिलाहरूसँग ललितपुर आएकी थिइन्। रसिलालाई लागेको थियो, कुनै नारा जुलुस त होला। त्यसैले उनी कुर्ता पाइन्टमै थिइन्।

आउँदा त उनलाई पनि ट्र्याकमा पो खडा गरियो। अरु भने स्पोर्ट्स ड्रेसमै थिए।

उनी त्यत्तिकै दौडिन्, पछि थाहा भो, पाँच किलोमिटरको त्यो दौडमा दोस्रो भएकी रहिछन्।

धादिङका गोरेटाहरूमा कुद्दै हुर्किएकी रसिला तामाङका पाइलाहरूले अब यसरी रफ्तार समाएका छन् कि, भर्खरै उनले १२ घन्टा २५ मिनेट ५२ सेकेन्डमा ७७ किलोमिटर अप्ठ्यारा बाटा छिचोलेर एउटा अन्तर्राष्ट्रिय उपाधि लिएर फर्किएकी छिन्। ‘एसिया ट्रेल मास्टर च्याम्पियनसिप’को उपाधि ल्याउने रसिला पहिलो नेपाली धावक हुन्।

त्यसबेला अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर ललितपुरमा पाँच किलोमिटर ‘फन रन’ प्रतियोगिता आयोजना गरिएको थियो। उक्त दौड प्रतियोगितामा महिलाहरुले मात्र सहभागिता जनाउन पाउने थिए। सोही प्रतियोगितामा भाग लिन रसिला ललितपुर पुगिन्। दौडबारे अनविज्ञ रहेकी उनी पहिलोपटक दौडन जादाँ कुर्ता र पाइन्ट लगाएर गएकी थिइन्।

‘म दौड प्रतियोगितामा जाँदैछु भनेर मलाई थाहा थियो, तर त्यहाँ गएर नारा लगाउने सोच लिएर म कुर्ता र पाइन्ट लगाएर गएको थिएँ,’ रसिलाले भनिन्। झन्डै ४०० जना सहभागी भएको सो दौड प्रतियोगितामा रसिला एक्लै थिइन्, जो कुर्ता र पाइन्ट लगाएर दौडिँदै थिइन्।

दशकअघि कुर्ता लगाएर दौडिएकी रसिलालाई ती यादहरू अझै ताजै लाग्छन्। ‘मैले थाहा नपाएर नै त्यो प्रतियोगितामा कुर्ता र पाइन्ट लगाएर गएकी थिएँ, मेरो पाइन्ट एकदमै खुकुल्लो थियो र दौडिने जुत्ता पनि दिदीको मागेर लाएको थिएँ’, रसिलाले भनिन्, ‘मलाई दौडिन साह्रै असहज भएको थियो तर दोस्रो भए त्यही खुसी लाग्छ अहिले पनि।’ चार सय जान प्रतिस्पर्धीमध्ये उनी पनि एक थिइन, जब सबै जना भेला भएर एकैचोटि दौडिए त्यसपछि मात्र रसिलाले त्यहाँ दौडनुपर्छ भनेर थाहा पाइन्।

‘फन रन’ प्रतियोगिता हुने एकदिन अघिमात्र उनले यो दौडको बारेमा थाहा पाएकी थिइन्। त्यसबेला रसिला जावालखेलमा एक महिनादेखि दौडकै प्रशिक्षणमा व्यस्त थिइन्। जब उनी प्रशिक्षण सकेर घर फर्कन बेला भो, त्यसपछि उनले यस प्रतियोगिताबारे थाहा पाइन्।

‘मैले घर जाने एकदिन अघिमात्र थाहा पाएँ फोके फन रन प्रतियोगिता बारेमा त्यसबेला महिला दिवस थियो’, उनी भन्छिन, ‘त्यहाँ गएर नारामात्र लगाउने होला भनेर सोचेको थियो दौडिनु पर्दा त के गरौं गरौं भयो।’

त्यो बेला मीरा राई प्रथम भएकी थिइन भने दोस्रो स्थान रसिलाले हासिल गरिन्।

‘म दौडिन त दौडिए मलाई म के भए भनेर थाहा थिएन, त्यसबेला मिरा दिदी प्रथम हुनुभएको थियो। जब पुरस्कार वितरण गर्न बेला भयो, त्यसपछि थाहा पाए म दोस्रो भएछु’, उनले मुस्कुराउँदै सुनाइन्, ‘मेरै नाम बारम्बार लिएपछि मै रहेछु भनेर पुरस्कार लिन गएको थिएँ।’

यसरी दौडिन सुरुआत गरेकी उनी हालै इन्डोनेसियामा भएको एसियन ट्रेल रेसमा प्रथम भइन्। उनी प्रतियोगितामा प्रथममात्र होइन नेपालबाट एसियन ट्रेल रेस जित्ने पहिलो खेलाडीसमेत बनिन्।

दौडिँदै कलेज, दौडिँदै घर

धादिङको धुनेबेसी नगरपालिकामा २०५४ सालमा जन्मिएकी रसिला परिवारको कान्छी सन्तान हुन्। एकजना दाइ र दुईजना दिदीबीच हुर्किइन्, उनी। रसिला १ वर्षको हुँदा उनको बुबाको निधन भयो।

उनी आमा, दाइ र भाउजूको काखमा खेल्दा खेल्दै हुर्किन्। बुबा सानैमा बितेको हुँदा घरको सबै जिम्मेवारी दाइ र आमामाथि आएको थियो। परिवारको स्थिति भने त्यति राम्रो थिएन, खाना लगाउन त पुग्थ्याे तर अभावमै गुजरा चलिरहेको थियो। घरकी कान्छी सन्तान भएकाेले उनी सबैको प्यारी नै थिइन्।

सानैदेखि लजालु स्वभावकी उनी डर भने कसैको मान्दिन थिइन्। ‘म सानोमा एकदमै लजालु स्वभावको थिएँ, स्कुलको अनुशासित विद्यार्थीमा पर्दथेँ, शिक्षकहरुले जे गर भन्नुहुन्थ्याे म त्यही मात्र गर्थेँ’, उनले विगत सुनाइन्, ‘अहिले शिक्षकहरु भेट्दा उहाँहरुले तारिफ गर्नुहुन्छ त्यो मलाई एकदम खुसी लाग्छ।’

उनले आफ्नाे गाउँमा कक्षा ७ सम्म मात्र अध्ययन गरिन, त्यसपछि ८ कक्षाभन्दा माथि पढ्न मामाघर ललितपुरको चापागाउँ आइन्। पढाइमा ठिकै रहेकी उनी कक्षा ७ मा हुँदा विद्यालयमै कराँते खेल्न थालिन्। तर, उनले कराँते धेरै लामो समय खेल्न पाइनन्। अरेन्ज बेल्टसम्म पुगेकी उनले त्यसपछि कराँते खेल्न छाडिन्।

‘पहिला मलाई कराँते खेल्न एकदमै मन थियो तर जब कक्षा ७ मा पुगेँ, त्यसपछि मैले विद्यालयमै कराँते खेल्न थालेँ। मैले स्पाइरग गर्दा विद्यालयको सबै केटीलाई जित्थे’, रसिलाले सुनाइन, ‘मैले विद्यालयको एउटा केटालाई बाहेक सबैलाई हराइदिन्थे।’ त्यसपछि उनी कक्षा ८ बाट पढन् ललितपुरको चापागाउँमा मामाघर आएकी थिइन्।

मामाघरकी पनि निकै प्यारी उनी मामा/माइजूलाई हरेक कामममा सघाइउने गर्थिन्। उनी पढिरहँदा आफूले आफूलाई आर्मीको बर्दीमा देख्थिइन किनभने उनको सानैदेखि चाहना थियाे, आर्मी बन्ने। ‘मेरो मम्मी दमको बिरामी हुनुहुन्छ घरको स्थिति पनि त्यति राम्रो थिएन, त्यसबेला मैले कतैबाट सुनेको थिएँ आर्मी भयो भने आफ्नाे आमा-बाबाकाे नि:शुल्क उपचार हुन्छ भनेर मम्मीको उपचारको लागि मलाई आर्मी बन्नु थियो’, रसिलाले बताइन्।

पढाइ र घरको कामसँगै लगिरहेकी उनी जब कक्षा १० मा पुगिन् त्यसपछि उनलाई पढाइमा प्रेसर हुन थाल्यो। उनी बिहान ३ बजेर उठेर तरकारी बेच्न जान्थिइन्, अनि तरकारी बेचेर स्कुल जान्थिन्। यो उनको दैनिकी नै थियो।

‘एसएलसी पनि पास गर्न सकिएन भने गाउँ/समाजले के भन्लान्’ भन्ने डरले सताइरहेको थियो। त्यही बेला उनले आत्महत्या प्रयास पनि गरिन्। सिटामोल खाएर प्राण त्याग्न लागेकी उनले ४९ वटा सिटामोल खाएकी थिइन। सिटामोल खाएको केही समयमा परिवारले थाहा पायाे। उनलाई अस्पताल लगियो। समयमै अस्पताल लगिएकोले उनकाे ज्यान बच्याे।

‘त्यो बेला मैले त्यस्तो निर्णय कसरी लिएँ, त्यो मलाई आजसम्म पनि थाहा छैन। सहर गएर पनि एसएलसी पास गर्न सकिन भने गाउँ/समाजले के भन्नला भनेर मैले सोचे’, उनले बिएल नेपाली सेवासँग भनिन, ‘मैले आत्माहत्याको प्रयास एसएलसी पास गर्न सकिनँ भने अरुले के सोचलान् भनेर मात्र गरेको थिएँ।’

करिब १ हप्ता आइसियूमा बसेपछि उनी फेरि आफ्नाे घर धादिङ फर्किन्। करिब दुई वर्षको अन्तरालपछि उनले २०७२ सालमा श्री दशरथ चन्द्र माध्यमिक विद्यालयबाट एसएलसी पास गरिन्। त्याे बिचको दुई वर्षकाे अन्तरालमै हो, उनी पहिलोपटक दौडमा सहभागी भएको। गाउँकै बसाइँको क्रममा उनी त्यसबेलला मेलापातमा जाने गर्थिन्।

‘मैले त्यो दुई वर्षको बिचमा धेरै कुराहरु पाएँ। एउटा नयाँ जीवनको अध्याय सुरु भएको जस्तो भयो। तर, ती दुई वर्ष चाहिँ मैले खेर फाल्न दिइनँ कुनै न कुनै काममा अल्झिरहेँ’, उनले सुनाइन्, ‘मैले ७२ केजीसम्मको भारी बोक्ने गर्थेँ, त्यो बेला।’

एसएलसी उत्तीर्णपछि उनी काठमाडौँको कंलकीस्थित गणेशमान सिंह बहुमुखी क्याम्पसमा भर्ना भइन। कक्षा ११ पढ्नकाे लागि उनी छ महिनासम्म दिनकाे २१ किलाेमिटरसम्म दाैडिइन्। पढाइ सकिएपछि पनि उनी दाैडिएरै घर फर्किन्थिन्।

११ र १२ पढ्ने बेला उनी धादिङको धुनिबेसीबाट काठमाडौँकाे कंलकीसम्म दौडिएरै आउने/जाने गर्थिन्।

बिहान ११ बजेको कक्षा भेटाउन उनी धुनिबेसीबाट बिहान ७ बजे हिँड्थिइन। क्याम्पसमै खाना खाएर, पढेर फेरि दाैडिएरै घर फर्किन्थिइन्। दैनिक ११ किलाेमिटर दाैडिनु उनकाे दैनिकी बनिसकेकाे थियाे। ‘मैले छ महिना २१ किलोमिटर दौडेर आउने/जाने गर्थेँ। जहिल्यै सबेरै उठ्थेँ अनि दौडिँदै कलेज पढ्न जान्थे पढेर फेरि कुद्दै घर आउँथेँ’, रसिला भन्छिन, ‘कहिलेकहिँ अति गाह्राे भयो भने मात्र म गाडी चढ्थेँ।’

आशिषसँगको भेटले बद्लिएकाे जीवन

उनका साथीसँग आशिष मिश्र २०७२ सालमा भूकम्प जानू ठिक एक हप्ताअघि धादिङ घुम्न पुगेका थिए। उनी त्यहाँ पुगेको एक हप्ता नपुग्दै भूकम्प गयो। त्यसपछि चिनाजान भयो रसिला र आशिषको।

भूकम्प जानुअघि आशिषले धेरै वर्ष आइएनजिओमा काम गरेका थिए। त्यही भएर पनि रसिलाको गाउँ वरपर उनले भूकम्प पीडितलाई धेरै सहयोग गरे। आइएनजिओमा काम गरेको अनुभव उनले धुनिबेसी नगरपालिकामा देखाउन पाए।

आशिषलाई भेट्नुअघि रसिला पढ्न छाडेर ललितपुरबाट घर फर्किएकी थिइन्। आशिषले रसिलाको बारेमा थाहा पाएपछि भेट्नकाे लागि घरमै पुगे। त्यसपछि उनकाे जीवन नै परिवर्तन भयाे। ‘आशिष दाइले मेरो पूरै जीवन नै परिवर्तन गरिदिनुभयो। दाइको र मेरो भेट त्यही भूकम्प गएको बेला भएको थियो’, रसिलाले भनिन्, ‘उहाँले पढ्न पर्छ, नपढी केही हुन्न भनेपछि मैले फेरि कक्षा १० पढ्न थालेँ।’

भूकम्प गएको केही हप्तासम्म आशिष र उनका साथीहरु रसिलाकाे गाउँमा बसे। आशिषले रसिला दाैड प्रतियाेगितामा दाेस्राे भएकाे कुरा गाउँमै पुगेपछि थाहा पाएका थिए। बिना अभ्यास मिरा राई खेलेको प्रतियोगितामा दोस्रो भएको थाहा पाएपछि रसिलाले झन दौडन पर्छ भनेर उनले हिम्मत दिएका थिए।

‘दाइले म कुदेको हेर्नुहुन्थ्यो। मलाई तिमी राम्रो कुद्दाेरहेछौ भन्नु भएको थियो। उहाँबाट नै थाहा पाएको थिएँ, यो ट्रेल रेसको बारेमा’, रसिलाले बताइन्।

रसिलाले खेल र पढाइ एकैसाथ लगिन्।

त्यतिमात्र नभई कोरोना महामारीमा पनि आशिष र रसिला स्वयम्भू वरपर दौडिने गर्थे। आशिष खेलमा एकदमै रुची राख्ने व्यक्ति हुन्, आफू खेलमा आबद्ध नभए पनि उनी धेरैजस्ताे खेलहरु हेर्ने गर्थे। ‘अहिले पनि दाइले मलाई हरेक काममा मद्दत गर्नुहुन्छ’, रसिलाले मुस्कुराउँदै भनिन्, ‘मेरो खेल भनेपछि दाइ अहिले पनि सबै काम छाडेर हेर्नुहुन्छ।’

आशिष रसिलाको हरेक प्रतियोगिताहरुमा व्यवस्थापककाे रुपमा सहयाेग गर्छन्। प्रतियाेगिताहरुमा रसिलाकाे तस्बिरहरु खिच्छन्।

खेल जीवन

सन् २०१५ मा १६ वर्षकी हुँदा पाँच किलोमिटरकाे फन रनमा दोस्रो भएकी रसिला त्यही वर्ष भएको हिमालयन आउट अफ फेस्टिबलमा प्रथम भएकी थिइन्।

उनले यहीबाट अल्ट्रा रेसको सुरुवात गरेकी थिइन। फोके रन प्रतियोगितामा भेटिएका दिवसलाल प्रधानले उनलाई हिमालयन फेस्टिबलबारे जानकारी दिएका थिए।

उनी गाउँबाट प्रतियोगिताको लागि फाराम भर्न पुन: काठमाडौँ आइन्। ‘म हिमालयन रन फेस्टिबल खेल्ने बेलामा सानो नै थिएँ तर यहाँ फाराम भर्न आएको बेला तिमी १२ किलोमिटर दौडिँन सक्दैनौँ भनेर फाराम नै दिन आनाकानी गरिरहेका थिए’, रसिलाले भनिन्। तर, उनी प्रतियोगितामा प्रथम भइन्।

त्यसपछि उनी नेपालमा हुने अधिकांश दौड प्रतियोगितामा सहभागी हुन थालिन्। युनिभर्सिटी च्याम्पियनसिपमा पनि उनी सहभागी भएकी थिइन्। त्यतिबेला उनले ४०० मिटरको दौडमा १ मिनेट १६ सेकेन्डमै पूरा गरेकी थिइन्।

उनले पाँचपोखरी दौड प्रतियोगितामा २१ किलोमिटर दौडिएर आफ्नै कीर्तिमान सुधारेकी थिइन्। उनले सो दौड दुई घन्टा ४४ मिनेट ४५ सेकेन्डमा पूरा गरेकी थिइन्।

त्यस्तै सन् २०२१ मा भारतमा भएको हेल रेसमा पनि उनी प्रथम भइन्।

स्विट्जरल्यान्डमा भएको युटिएमआरमा भने उनी ३२औँ स्थानमा पुगिन्। त्यतिबेला उनले १०० किलोमिटर दूरी १५ घन्टा १५ मिनेटमा पूरा गरेकी थिइन्।

उनी मलेसियामा भएको ५० किलाेमिटर दूरीकाे दि नर्थ फेस मलेसिया माउन्टेन ट्रेल फेस्टिबल- २०२३ मा दोस्रो भइन्।

त्यस्तै उनी चीनमा भएको ५० किलाेमिटरकाे जिओजी माउन्टेन क्रसिङ कम्पिटिसन पनि प्रथम भएकी थिइन्।

उनले एभरेस्ट म्याराथनलगायत धेरै प्रतियोगितामा सहभागीता जनाएकी छन्। रसिलाले १०० किलोमिटर दूरी १५ घन्टा ४५ मिनेट तथा ५० किलोमिटरकाे दूरी ५ घन्टा ८ मिनेटमा पूरा गरेकी छन्।

कीर्तिमानी

अघिल्लो साता भएको ‘एसिया ट्रेल मास्टर च्याम्पियनसिप’मा रसिला च्याम्पियन बनेर फर्किएकी छिन्। यसअघिको पछिल्लो सातौँ संस्करणमा नेपाल रित्तो हात फर्किएको थियो।

इन्डोनेसियामा भएको प्रतियोगितामा रसिलाले महिला तर्फकाे ७७ किलोमिटर दौडमा प्रथम भएर स्वर्ण जितिन्। उनी एसिया ट्रेल मास्टर च्याम्पियन बन्ने पहिलो नेपाली खेलाडी हुन्। उनले निर्धारित ७७ कि.मि. दूरी १२ घन्टा २५ मिनेट ५२ सेकेन्डमा पूरा गरेर एउटा इतिहास रच्न सफल भएकी छन्।

‘आफ्नो नामसहित देशको झन्डा फरफराउन पाउँदा एकदमै खुसी लागेको थियो’, रसिला भन्छिन, ‘च्याम्पियन बनेर देशको नाम राख्न पाउँदा गर्व महसुस भएको छ।’

सन् २०१५ देखि आयोजना हुन थालेको एसिया ट्रेल मास्टर च्याम्पियनसिपमा यसअघि कुनै पनि नेपाली खेलाडी विजेता भएका थिएनन्। रसिलाले नेपालको नाममात्र राखिनन् नेपालबाट यस प्रतियोगिताको जित्ने पहिलो खेलाडी बनिन्। १२ घन्टा दौडिएर उनले यो एतिहासिक यात्रा तय गरेकी हुन्।

४२ किलोमिटर भन्दा माथिको रेसलाई अल्ट्रा ट्रेल रेसको रुपमा लिइन्छ। यसमा गोरेटो बाटो, उकालो/ओरोलाे अनि त्यस्तै अप्ठ्यारा बाटाहरूमा दौडिरहनुपर्छ। त्यतिमात्र नभई अल्ट्रा ट्रेल रेसमा वातावरण जस्तोसुकै भएपनि दौडिनै पर्छ।

रसिला पनि यो प्रतियोगितामा २ घन्टाभन्दा बढी समय त पानीमा रुझ्दै दौडिएकी थिइन्। ‘यो रेसमा गाह्रो त हुन्छ किनभने जस्तोसुकै अवस्थामा पनि दौडिरहनै पर्छ म झन्डै दुई घन्टाभन्दा बढी त पानीमा भिज्दै दौडिएँ’, रसिला भन्छिन्, ‘तर, बाटो त्यस्तो अप्ठ्यारा लागेनन्।’

१२ घण्टाको दौडमा उनले ठाउँ-ठाउँमा राखिएका चेकप्वाइन्टहरूमा मात्र फलफूल र पानी खाना पाउँथिन्। त्यस्तै चेकप्वाइन्टहरूबाट फलफूल बोकेर दौडिँदै खान्थिन्। ‘यसरी कुद्दा त एक्स्ट्रा पावर चाहिन्छ नि। किनभने, धेरै लामो बाटो कुद्नुपर्छ’, उनले भनिन्।

सुरुमा दौडिरहँदा दोस्रो हुने बेल्जियमकी भान्जा कनोप्स र रसिला २० किलोमिटरसम्म सँगै दौडिरहेका थिए तर त्यसपछि भने रसिलाले उनलाई उछिनेर भेट्नै दिइनन्। ‘त्यो बेला म जुनै हालतमा पनि रेस जित्छु भनेर दौडिरहेकी थिएँ। एकबेला बेल्जियमकी खेलाडीले मलाई टप्न खोजेकी थिइन्। मेरो मनमा नै उनलाई जसरी पनि भेट्नैपर्छ भन्ने थियो’, रसिलाले भनिन्, ‘त्यसपछि मैले उनलाई टप्न थालेँ त्यसपछि झन् धेरै जोस् आयो र कुदिरहेँ। भेट्न दिइनँ।’

भिडियाे :

तस्बिर : रसिला तामाङकाे फेसबुकबाट

थप सामाग्रीहरु :
प्रकाशित मिति: : 2023-12-09 20:00:00

प्रतिकृया दिनुहोस्