उदयपुरबाट हुँइकिएको बस काठमाडौँको सहिद गेटअघि रोकियो। पार्वती राई बसबाट ओर्लिएर पहिलो पटक पाइला टेकिन्, काठमाडौँको जमिनमा।
सपनाजस्तै थियो काठमाडौँ सहर। पहिलो पटक आएको। कौतुहलता छ, मनमा। बसबाट झरेर अगाडि हेरेको देखिए, केही छुट्टै मानिस।
लुगा सफा छ। हातमा सेता पन्जा। त्यही हातले इसारा गरिरहेका र गाडीलाई रोक्ने, पठाउने गरिरहेका थिए, ‘ट्राफिक प्रहरीहरू’।
१३ वर्षकी पार्वती। उनको मन त्यसै चञ्चल छ। सबै नयाँ छन्। अर्को दिन एकाबिहानै देखिए, केही घोडा। घोडामा चेढेका उनै ट्राफिक पुलिस।
उनलाई रहर जागिहाल्यो, घोडा चढ्ने। र, बन्न मन लाग्यो, पुलिस।
तर, पार्वती खेलाडी थिइन्। एथ्लेटिक्सका लागि उनी काठमाडौँमा आएकी थिइन्। उलने राष्ट्रियस्तरको प्रतिस्पर्धा गर्दै थिइन्।
‘पहिलो पटक काठमाडौँ आउँदा म पुलिस देखेर लोभिएकी थिएँ। मलाई सानैबाट घोडा चढ्न अति मनपर्थ्यो’, उनी भन्छिन्, ‘घोडा चढ्न भएपनि पुलिस बन्छु भनेर सोचेकी थिएँ।’
२०३९ सालमा हो उनले पुलिस देखेको। घोडामा पुलिस चढेको देखेको। र, सपनाको सहर काठमाडौँमा आएर पुलिस बन्ने सपना देखेको पनि।
अहिले पार्वती न पुलिस छिन्, न एथ्लेटिक्स खेलाडीमै रहिन्। अब उनी कबड्डी खेलाडी हुन् र प्रशिक्षक पनि। राष्ट्रिय महिला कबड्डी टोलीको मुख्य प्रशिक्षक भएको दुई वर्ष भयो।
वीरगञ्जमा भएको तेस्रो राष्ट्रिय प्रतियोगिता (२०४३) बाट उनले कबड्डीमा डेब्यू गरिन्। यसपछि उनले खेलबाट पछाडि फर्किनु परेको छैन।
भन्छिन्, ‘मैले अन्य खेल पनि खेलेँ। तर यस (कबड्डी) खेल खेलेपछि अरुमा जान मन लागेन।’
गाई गोठको त्यो कबड्डी
पार्वती खोटाङको दिक्तेलमा जन्मिएकी हुन्। २०२६ सालमा जन्मिएकी उनको ९ जनाको परिवार थियो। उनी सानै छँदा उनका पाँच दिदीबहिनी, दुई दाजुभाइ र आमाबुवासहित उदयपुरको बसारघोडा अरे भन्ने ठाउँमा झरे।
बसारघोडामै हो, आफूजस्तै केटाकेटीसँग उनले कबड्डी खेलेको सानै छँदा। त्यो पनि गाईगोठमा। किनकी गाईगोठ कबड्डी कोर्टजस्तै थियो, चारकुना मिलेको। फुर्सद भएमा सधैँ कबड्डी खेल्न हतार हुन्थ्यो उनलाई।
घरायसी कामभन्दा पनि खेलकुदमा बढी रुचि लाग्ने गरेको उनी बताउँछिन्।
‘म खेल्नकै लागि भनेर घरको काम एकदम छिटो सक्काउँथेँ। काम नसकाए आमाले खेल्न जान नदिने,’ पार्वतीले विगत सम्झिइन्, ‘त्योबेला जति काम गरेपनि आन्नद हुन्थ्यो।’
उनी घरकी साइली सन्तान हुन्। उदयपुरबाटै औपचारिक शिक्षा सुरु गरिन्। औपचारिक शिक्षासँगै उनले कराँते खेलिन्। कराँते पनि मनले रोजेको खेल थियो। तर, यसलाई पूर्णकालीन बनाउन सकिनन्।
‘स्कुलमा मैलै कराँते खेल्दा छोरी मान्छेले कराँते खेल्नु हुँदैन भन्थे। पछि घरबाट पनि कराँते खेल्न जान रोके,’ उनले बिएल नेपाली सेवासँग भनिन्, ‘पछि मैलै कराँते खेल्नै छाडेँ।’
उनले कराँते छाडिन्। खेल छाडिनन्।
‘मलाई सानैदेखि कुनै न कुनै खेल खेल्नुपर्छ भन्ने लाग्थ्यो। कराँते छाडेपनि खेल छाड्न सकिएन,’ उनले भनिन्।
कराँते छाडेपछि पार्वती एथ्लेटिक्स खेल्न थालिन्। ७ कक्षा पढ्दासम्म उनी राष्ट्रिय खेलाडी भइसकेकी थिइन्। अर्थात पहिलो पटक राष्ट्रियस्तरको एथ्लेटिक्स ७ कक्षा पढ्दा खेलिन्। त्यहीबेला हो उनी काठमाडौँमा खेल खेल्न पुगेको बेला प्रहरी बन्ने सपना देखेको।
१४ वर्ष हुँदा एथ्लेटिक्सबाट पहिलो पटक सिंगापुर खेल्न पुगिन्। विदेशमा खेलेर आएकी उनी खेलकुदप्रति मोह थप बढेको बताउँछिन्। उनले एथ्लेटिक्स मात्र होइन, महिला राष्ट्रिय ह्यान्डबलसमेत खेलिन्।
‘त्यतिखेर त म जता पनि कुद्ने। कहिले प्रदेशको खेल खल्नु पर्थ्याे, कहिले जिल्ला,’ पार्वती भन्छिन्। सबै खेलमा आवद्ध भएकी उनी आफूलाई अलराउन्डर भन्न रुचाउँछिन्।
उमेर १८ वर्ष पुग्दा उनले कराँते, एथ्लेटिक्स, ह्यान्डबल खेलिसकेकी थिइन्। १८ वर्ष हुँदा उनी कबड्डी खेलको राष्ट्रिय खेलाडी भइसकेकी थिइन्।
कबड्डी खेलको जस्तो मोह अन्य खेलमा नलागेको उनी बताउँछिन्। ‘मलाई कबड्डी खेल्न धेरै मन लाग्यो। सबै खेलपछि कबड्डीमै जाने भनेर एउटा निर्णय गरेँ,’ उनी भन्छिन्, ‘कबड्डी खेल्न थालेपछि सबै छाडेर मैलै यही खेललाई निरन्तरता दिएँ।’
इतिहास रच्न पाउँदाको गर्व
पार्वती दुई वर्षअघि मात्र महिला कबड्डी टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भइन्। उनकै प्ररीक्षणमा नेपाली महिला टोलीले डेब्यू गरेको १९औँ एसियाली खेलकुदमा कास्य पदक जित्यो।
डेब्यू खेलमै महिला टोलीले कास्य पदक हात पार्दा अहिले महिला टोलीको प्रशंसा भइरहेको छ। चीनमा भएको एसियाडमा प्राथमिकतामा राखिएको खेल एकपछि अर्को गर्दै पदकविहीन भएपछि महिला टोलीले मात्र पदक ल्याएको हो।
‘म आफैँ पनि कबड्डी खेलाडी भएको हुनाले कबड्डीमा लाग्ने मेहनत थाहा छ। तयारी पुगेन कि भन्ने थियो। तर मेरो नेतृत्वको टोलीले इतिहास रच्न पाउँदा यो कुराहरु शब्दमा बयान गर्न सक्दिनँ,’ उनी भन्छिन्।