एसईई परीक्षा दिएर बसेकी श्लिषालाई एकदिन नेपाली सेनामा कार्यरत उनका बुवाले सोधे, ‘सुटिङमा जान्छ्यौ…?’ झट्ट सुन्दा श्लिषालाई लाग्यो, ‘फिल्मको सुटिङ होला, एक्टिङ गर्ने होला!’
तर त्यो थिएन, बन्दूक लिएर उनले निशाना साँध्नुपर्ने थियो। सेनाकै खेलकुद हेरिरहेका उनका बुवाले परीक्षा सकाएकी श्लिषालाई त्रिभुवन आर्मी क्लब लगे।
त्यही यात्राको सुरुवात थियो, १९ वर्षीय श्लिषा भण्डारीका पाइला अब अन्तर्राष्ट्रिय खेल मञ्चतिर उक्लिँदैछन्। नेपालको प्रतिनिधित्व गर्दै उनी अब एसियाली प्रतियोगिता खेल्ने भइसकेकी छिन्।
‘यति चाँडै यहाँसम्म खेल्न पाउँछु भन्ने लागेकै थिएन’, निशानवाज श्लिषा भन्छिन्, ‘मेहनत गरिरहेको छु। राम्रै रिजल्ट आउला।’
सिन्धुपाल्चोकमा जन्मिएकी श्लिषा भण्डारी चीनमा हुने १९औँ एसियाली खेलकुदमा ‘सुटिङ’तर्फ नेपालको प्रतिनिधित्व गर्दैछिन्।
काठमाडौँमै हुर्किएकी श्लिषा सानैदेखि नै खेलकुदमा चासो राख्थिन्। तर अरू खेलमा निकै चाख मान्ने उनी यो सुटिङतिर भने खासै जानकार थिइनन्। ‘यसका बारेमा मलाई केही थाहा थिएन। मैले पनि अरु मानिसले जस्तै सुटिङ भनेको फिल्मको सुटिङ होला भनेर सोचेकी थिएँ’, उनी भन्छिन्।
२०७६ सालमा नेपाली सेनाको खेलकुदलाई कमाण्डिङ गरिरहेका उनका बुवाले श्लिषालाई ‘सुटिङ’मा लगेका थिए। एसईई रिजल्ट कुर्नका लागि तीन महिना टन्नै थियो, ती तीन महिना उनले भने आफ्नो निशाना साँध्नमै बिताइन्।
‘उहाँले पहिला ‘ट्राइ’ गर त्यसपछि आफैँ विचार गर भन्नुभएको थियो। सुरुमा त झन्झट लाग्यो। तर पछि त यो खेल मनपर्दै गयो र अनि यही खेल्न थालेँ’, सानैदेखि नै खेलकुदमा चासो राख्थिन्। तर अरू खेलमा निकै चाख मान्ने उनी यो सुटिङतिर भने खासै जानकार थिइनन्। श्लिषा भन्छिन्।
सैनिक बुवाका कारण हतियार मोह त श्लिषासँग छँदै थियो। त्यसैले पनि बुवाले भनेपछि उनी त्यसमा खुब दत्तचित्त भइन्। तालिमहरूमा खुब मन लगाएर मेहनत गरिन्।
खेल्दाखेल्दै उनी ‘सुटिङ’मा यसरी डुबिन् कि अझ उच्चस्तरको तालिमका लागि उनले १२ कक्षा पढेर केही समय पढाइ नै रोकिन्। त्रिभुवन आर्मी क्लबबाट सुटिङ सिकेकी उनी अहिले पनि त्रिभुवन आर्मी क्लबबाटै खेलिरहेकी छिन्।
‘सुरुमा सुटिङ खेल्न जाँदा निकै नै अल्छी लाग्दो खेल लागेको थियो, आर्मीले मलाई तीन महिनासम्म गोली हान्न दिएको थिएन, होल्डिङमै राखेको थियो’, ‘जब मेलै सिक्दै गएँ, त्यसपछि मलाई यो खेल एकदमै मनपर्न थाल्यो श्लिषा भन्छिन् ’नेपाली सेनाकै कारण म आज याे स्थानमा छु। मलाई मेराे परिवारले पनि खेल हुँदा-नहुँदा पनि साथ सहयाेग गर्नुभएकाे छ। त्यसैले पनि मलाई याे खेलप्रति हाैसला बढेकाे छ’, उनले भनिन्।
उसै त नेपाली खेलकुद क्षेत्र सरकारको खासै प्राथमिकतामा पर्दैन। त्यसमाथि सुटिङ त झन ध्यानमै हुँदैन। नेपालमा सुटिङको राष्ट्रिय खेल वर्षमा एकपटक मात्रै हुनेगर्छ। तीन वर्षसम्म सुटिङ खेलको अभ्यास गरेपछि मात्र राष्ट्रियस्तरको खेल खेल्न पाएको भण्डारी बताउँछिन्।
‘मैलै तीन वर्ष सुटिङ खेलको लागि अभ्यास गरेँ। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मेरो पहिलो राष्ट्रिय स्तरको प्रतियोगिता हो’, उनले भनिन्, ‘त्यो तीन वर्षको समयमा कुनै खालको प्रतियोगिता भएन, सानोतिनो प्रतियोगिता हुन्थ्यो, त्यही पनि ‘ओलम्पियन डे’मा मात्रै।’
गण्डकीमा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितमा उनी व्यक्तिगत सुटिङ खेलेर चौथो भएकी थिइन् भने समूह अन्तर्गत उनी आवद्ध त्रिभुवन आर्मी क्लब च्याम्पियन भएको थियो।
‘मेरो परिवार म चौथो आउँदा निकै नै खुसी हुनुभएको थियो’, उनी भन्छिन्, ‘पहिलो राष्ट्रिय स्तरको खेलमा चौथो हुँदा परिवारबाट अझै बढी हौसाल मिल्यो।’ तीन वर्ष लामो अभ्यासपछि राष्ट्रिय खेलमा सहभागी भएर चौथो हुँदामा श्लिषालाई सुटिङप्रति अझै बढी मोह बढ्न थाल्यो।
अभ्यासकै क्रममा उनले पहिलो पुरस्कार त्रिभुवन आर्मी क्लबाट नै पाएकी थिइन्। ‘मैले सुटिङबाट पहिलो पुरस्कार नै ट्रेनिङका बेला पाएको थिएँ, क्लबकै खेलाडीबीच भएको आन्तरिक प्रतियोगितामा गोल्डमेडेल जितेको थिएँ’,श्लिषाले भनिन्।
एसियाडका लागि भनेर सुटिङ संघले चीनमा खेल्नका लागि १२ जना खेलाडीको नाम पठाएको थियो। तर सरकारले बजेट दिन मानेन। र अब संघले दुई जनामात्रै खेलाडी पठाउने भयो। तिनैमध्येकी एक श्लिषा पनि हुन्।
‘पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको खेल खेल्न जाँदैछु, उत्साहित छु तर नर्भस पनि छु’, उनले सुनाइन् ‘आफूले यहाँ ट्रेनिङको रेकर्ड ब्रेक गर्छु भन्ने लागिरहेको छ।’
एसिएन गेमका लागि अरु विधामा जस्तै सुटिङको पनि खुल्ला प्रतिस्पर्धाबाट छनोट भएको हो। त्यहाँ श्लिषाको स्कोर पनि शीर्ष नै रह्यो। अनि उनी छानिइन्।
‘देशैभरिबाट खुल्ला प्रतिस्पर्धा भएर छनोट भएको हो। खुल्ला प्रतिस्पर्धाबाट म टप आठमा आउन सफल भएँ, टप आठमा मेरो दोस्रो हाइस्कोर थियो’, उनी भन्छिन्, ‘त्यसपछि फेरि फाइनल सेलेक्सनका लागि प्रतिस्पर्धा भयो, जहाँ म सबैभन्दा बढी हाइस्कोर हानेर पहिलो भएँ। त्यसपछि म सिधै एसियडाका लागि छनोट भएँ।’
अहिले उनको बन्द प्रशिक्षण चलिरहेको छ। ओलम्पियन बन्ने सपना बोकेकी श्लिषासँग चीनमा पनि मेडल ल्याउने बलियो आशा छ। ‘१२ जना खेलाडीबाट अहिले हामी दुईजनाले मात्रै सुटिङमा प्रतिस्पर्धा गर्दैछौँ, जुन एकदमै चुनौतीपूर्ण छ’, श्लिषाले भनिन्, ‘अन्य देशबाट धेरै खेलाडीहरू आउनुहुन्छ, चुनौती त छँदैछ। तैपनि हामीले हाम्रो बेस्ट दिन सक्यौँ भने राम्रो हुन्छ।’
अन्य खेलको तुलनामा सुटिङ निकै नै महङ्गो खेल हो, जहाँ एउटा बन्दुक किन्न १५ लाखजति खर्च हुछ। यो व्यक्तिगत खेल पनि हो।
‘नेपालमा राइफल, पेस्तोल राख्नका लागि लाइसेन्स चाहिन्छ’, उनी भन्छिन्, ‘यो झन्झटिलो र महङ्गो पनि लाग्छ। त्यसैले धेरै मान्छेको मन नभएको होला। तर मलाई त अब गहिरो मोह भइसक्यो।’