नेपालमा सुटिङ खेलको सम्भावना छ। तर यो राष्ट्रिय खेलकुदको प्राथमिकतामा परेको छैन। नेपालकाे ओलम्पिक तथा एसियाली खेलकुद क्षेत्रमा सुटिङको आफ्नै इतिहास छ।
प्रशस्त सुटिङ रेन्ज नभएकाले यो खेल आफैँ हराउँदै गइरहेको छ। सुटिङ इन्डोर खेल हो, जुन बन्द कोठाभित्र खेलाइन्छ। सुटिङ प्रशिक्षक प्रशिक्षक अशिम यादव सातै प्रदेशमा त्यस्ता सुटिङ निर्माण गर्नसके सुटिङले गति लिने बताउँछन्।
‘सुटिङ खेलको विकासको लागि सातैवटा प्रदेशमा रेन्ज हुन जरुरी छ, सबै प्रदेशमा रेन्ज भएमा रेन्जलाई व्यवस्थित पारे नेपालमा सुटिङ खेलले अझ राम्रो नजिता दिनसक्छ,’ उनले भने।
विगत २५ वर्षदेखि सुटिङमै जीवन बिताएका उनले केही वर्षदेखि सुटिङ खेलाडीलाई प्रशिक्षण दिँदै आइरहेका छन्। सुटिङ अन्य खेलको तुलनामा कम प्राथमिकतामा पर्छ, जहाँ खेलाडीहरूले प्रशिक्षण गर्न स्थान समेत हुँदैन, काठमाडौँबाहेक अन्य जिल्लामा सुटिङको रेन्ज नै छैनन्।
केही समयअघि मात्रै काठमाडौंमा आधुनिक डिजिटल रेन्ज राखिएको छ, काठमाडौंपछि नेपालगञ्जमा इलेक्ट्रिक टाइपको डिजिटल रेन्ज छ। तर त्यो पनि बजेटको अभावमा व्यवस्थित हुन सकेको छैन।
काठमाडौंमा भएको रेन्ज दक्षिण एसियाको सबैभन्दा उत्कृष्ट भएको प्रशिक्षक यादव बताउँछन्।
‘म २५ वर्षअघि आउँदा यहाँ सुटिङ खेल्ने रेन्ज नै थिएन, तर अहिले काठमाडाैँमै रहेको मोर्डन डिजिटल रेन्ज अन्तर्राष्ट्रिय स्तरको रेन्ज भएको छ,’ उनी भन्छन्, ‘अहिले यहाँ रहेको रेन्ज दक्षिण एसियाको पहिलो नम्बरमै आउने रेन्ज हो।’
नेपालमा सुटिङको इतिहास हेर्ने हो भने यसमा खेलाडीहरूले राम्रो नतिजा पनि ल्याएका छन्। सुटिङका लागि खेलाडीहरू रेन्ज नभएका कारण इँटाको सहायताले सुटिङको अभ्यास गरिरहेका हुन्छन्।
रेन्जबाहेक सुटिङका लागि अरू सामग्रीहरूको पनि कमी छ। सुटिङ खेल्न बन्दुक, पेस्तोल, राइफल, गोली, टार्गेट बक्स जस्ता धेरै सामाग्रीहरूको आवश्यकता पर्छ। जसको अभावमा नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा राम्रो नतिजा दिन सकिरहेका छैनन्।
अघिल्लो साग प्रतियोगितामा नेपाली खेलाडीको राइफल नचलेपछि सुटिङ संघ र राष्ट्रिय खेलकुद परिषद आलोचित भएको थियो। ‘पहिलाको तुलनामा हेर्ने हो भने अहिले सुटिङ खेल्नका केही सामाग्रीहरू त छन् तर जुनबेला चाहिएको थियो, त्योबेला रह्यो,’ प्रशिक्षक यादवले भने।
खेलका लागि पर्याप्त सामान नहुँदा नेपालमा खेलाडीहरूले आलोपालो गर्दै खेल्ने गर्छन्। जहाँ संघ स्वंय आफैँले पनि किन्न सकेन अवस्था छैन, खेलाडीहरू वर्षौं पुरानो बन्दुकसँग खेल्न बाध्य छन्। नेपालमा सुटिङका लागि बन्दुकको मूल्य २० लाखभन्दा पनि बढी पर्छ। खेलाडीहरूले त्यति महँगो बन्दुक किन्नसक्ने अवस्था हुँदैन।
काठमाडौंमा अहिले आधुनिकखालको डिजिटल रेन्ज जडान गरिएको छ भने सुटिङ खेल्नका लागि स्थान पनि छुट्याइएको छ। दाङ र विराटनगरमा रेन्जकै अभावको कारण खेल अघि बढ्न सकेको छैन। अरू खेलका तुलनामा यो खेलका खेलाडीहरू पनि कम छन्। तर स्रोत र साधनको अभावमा पनि आफ्नै मेहनतले खेलाडीहरू अब्बल छन्।
सुटिङ खेलमा धेरैजसो प्रहरी र सेनाका खेलाडी अगाडि छन्। ‘सुटिङका लागि कतिपय खेलाडीहरू खेल नबुझेरै आइरहेको हुन्छन्,’ प्रशिक्षक यादव भन्छन्, ‘धेरै खेलाडी सुटर बन्ने सोख लिएर नै खेल खेल्न आइरहेका हुन्छन्।’
अरू खेलको तुलनामा यो खेल अलि महँगो खेल पनि हो। त्यसमा पनि राज्यले नै यो खेललाई वेवास्ता गर्न थालेपछि सम्भावना बोकेका अब्बल खेलाडीहरूसमेत विदेश पलायन हुन थालेका छन्।
‘सुटिङ खेल्नका लागि कोही व्यक्ति या खेलाडीले बन्दुक किन्न चाहयो भने, नेपालले सरकारले अरु केही नगरे पनि सहुलियत दिनसक्छ। तर त्यो पनि छैन,’ प्रशिक्षक यादव भन्छन्।
आगामी भदौमा चीनको होञ्जाओमा हुने १९औं एसियन गेम्सका लागि संघले १२ जना खेलाडीलाई प्रतियोगितामा सहभागी गराउने तयारी गरेको थियो। तर सरकारले बजेट दिएन र २ जनामात्रै पठाउने भएको छ।
‘एसियन गेम्सका लागि सरकारले खेलाडीहरू तथा म्यानेजर नपठाउने निर्णय लिएको छ, तर यो खेलका लागि म्यानेजर त आवश्यक नै पर्छ,’ प्रशिक्षक यादव भन्छन्, ‘सरकारले १२ जनामध्ये दुई जनामात्रै पठाउने निर्णय लियो। अहिले उहाँहरूको मात्रै प्रशिक्षण चलिरहेको छ।’