राजतन्त्र ल्याउने महाअभियान लिएर प्रदर्शनमा उत्रिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं प्रदर्शन स्थगित गरेर सांस्कृति ककार्यक्रममा लागेका छन्। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान भनेर उनको नेतृत्वमा बिहीबार काठमाडौंको बल्खुमा जनप्रदर्शन आयोजना गरिएको थियो।
बल्खु क्षेत्रको प्रदर्शनमा देशभरबाट आएका समर्थकलाई देखेपछि हौसिएका प्रसाईंले आन्दोलन निरन्तर हुने भनेपनि त्यसपछि भने जनताको साथ पाउन सकेनन्। उनको आन्दोलन अराजक भएपछि शुक्रबार तीनकुनेमा गर्ने भनिएको प्रदर्शनलाई प्रशासनले रोक लगाइदिएको थियो।
शनिबार प्रसाईंले सिफलमा प्रदर्शन गरे। तर उनको प्रदर्शनमा सहभागी निकै न्यून संख्यामा भएपछि उनी प्रदर्शनको कार्यक्रम नै स्थगित गर्न पुगेका छन्। सिफल कार्यक्रममा उनले काठमाडौं उपत्यकाका नागरिकले आन्दोलनलाई सहयोग नगरेको गुनासो गरेका थिए।
आज आइतबार भक्तपुरको दरबार क्षेत्रमा प्रदर्शन गर्ने कार्यक्रम प्रसाईंले तय गरेका थिए। तर, उक्त कार्यक्रम स्थगित भएको छ। दरबार क्षेत्रमा गरिने भनिएको कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेर प्रसाईं साँस्कृति कार्यक्रममा लागेका छन्।
उनी सोमबार काठमाडौंमा सांस्कृतिक कार्यक्रम गर्ने तय गरका छन्। जसअनुसार बिहान ११ बजेदेखि कलंकी चोक, बालाजु बिजी मल र रत्नपार्कमा कार्यक्रम गर्ने प्रसाईंको अभियानले जनाएको छ। तर, सांस्कृतिक कार्यक्रम कस्तो हुने भन्ने खुलाइएको छैन।