स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशव्यापी रुपमा सञ्चालन गरेको एचपीभी खोप अभियानमा हालसम्म १४ लाख ३५ हजार ६ सय ८९ जना किशोरीहरूलाई खोप प्रदान गरिसकेकाे छ।
हालसम्म १० वर्षदेखि १४ वर्ष उमेरसम्मका १४ लाख ३५ हजार ६ सय ८९ जना किशोरीहरूलाई खोप प्रदान गरिसकेको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले बताए। उनका अनुसार यो कुल लक्ष्यको ९२ प्रतिशत हो।
‘स्वास्थ्य मन्त्रालयले देशव्यापी रुपमा सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियानमा हालसम्म कक्षा ६ देखि १० सम्म अध्यनरत छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरसम्मका १४ लाख ३५ हजार ६ सय ८९ जना किशोरीहरुलाई खोप प्रदान गरिसकेको छ’, शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनमा उनले भनेका थिए।
यसको साथै उनले मनाङ, मुस्ताङ र हुम्लामा फागुन १८ गते र डोल्पामा फागुन २२ गतेदेखि खोप अभियान सञ्चालन हुने जानकारी दिएका छन्।
यस्तै, उनले फागुन महिनाभर नसर्ने रोगहरुको रोगथाम, प्रारम्भिक पहिचान र व्यवस्थापनका लागि देशव्यापी अभियान सञ्चालन भइरहेको र त्यसको लागि स्थानिय तहद्वारा सञ्चालित स्वास्थ्य संस्थामा जान पनि आग्रह गरेका छन्।
उनले भने, ‘फागुन महिनाभर नसर्ने रोगहरुको रोगथाम, प्रारम्भिक पहिचान र व्यवस्थापनका लागि देशव्यापी अभियान सञ्चालन भइरहेको छ।
यस अभियानमा ३० वर्ष माथिका सम्पूर्ण नागरिकहरु आफूलाई सुहाउने स्थानीय तहद्वारा सञ्चालित स्वास्थ्य संस्थामा गई मधुमेह जाँच, रक्तचाप मापन, मृगौला सम्बन्धी रोगको जाँच र बिएम्आईको मापन गरि आफ्नो स्वास्थ्यको बारेमा जानकार रहन पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अपिल गर्दछ।’