मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नजरबन्द गरिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन परेकाे छ।
वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले शुक्रबार प्रसाईंको तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणकाे रिट दर्ता गराएका हुन्।
अधिवक्ता भण्डारीले प्रसाईंलाई घरमै नजरबन्द गरी मौलिक मानवअधिकार कुण्ठित गरेको जिकिर गरेका छन्।
उनले प्रसाईंको नजरबन्दले संविधानको धारा १७ ले प्रदत्त गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रतासम्बन्धी अधिकारमा समेत आघात पुर्याइएको दाबी गरेका छन्।
‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऔँ अभियान’ अन्तर्गत बिहीबार बल्खुमा प्रदर्शन गरेकाे दुर्गा प्रसाईं समूहले शुक्रबार तीनकुनेमा थप प्रदर्शन गर्न लागेकाे थियाे। तर जिल्ला प्रशासन कार्यालय काठमाडाैँले प्रसाईं समूहलाई तीनकुने क्षेत्रमा आन्दोलनका कार्यक्रम गर्न अनुमति दिएन।
प्रशासनकाे अनुमतिविना उनका समर्थकहरू प्रदर्शनका लागि तीनकुनेमा भेला भएपछि प्रहरीले पक्राउ गरेकाे थियाे।
प्रसाईंलाई भने स्थानीय प्रशासनले घरमै सुरक्षा दिएर राखेकाे छ। प्रहरीका अनुसार उनकै सुरक्षा समवेदनशीलतालाई ध्यानमा राखेर घरमै बस्न आग्रह गरिएको हाे।