आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ।
तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ। छठको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।
व्रतालुहरू आज पानीसमेत नखाइकन निराहार बस्दछन्। साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई अस्ताउँदो सूर्यको पूजा गर्दछन्। छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउँदछन्।
प्रातःकालीन अर्घका लागि केही व्रतालुहरू आज रातभर पानीमा बसेर सूर्य नउदाउन्जेल सम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन्। आज जलाशय क्षेत्रमा रातभर भजन कीर्तन र नाचगान हुने गर्दछ। घाटलाई पनि बेहुली झैँ सिङ्गारिएको छ।
तस्बिरमा गुहेश्वरीमा छठकाे अर्घ्य दिन उपस्थित भक्तालुहरू