राहतमा राजनीतिः ‘पहुँचवाला’काे हालीमुहाली, पीडितहरू आक्राेशित (भिडियाे)

File Photo
File Photo

‘पहुँचवाला’ र राजनीतिक दलका हर्ताकर्ता कार्यकर्ताहरूले ‘राहतमा राजनीति’ गरेकाे भन्दै जाजरकोटका भूकम्प पीडितहरू तीनै तहका सरकारसँग बेस्सरी रिसाएका छन्।

राहत सामाग्रीस्वरुप आएको त्रिपाल, अन्य सामाग्री स्थानीय कार्यकर्ताहरूले कुम्ल्याउँदा पीडितहरू आक्राेशित भएका हुन्। अर्काेतिर ‘पहुँचवाला’ घरधनीबाहेक अन्यले राहत नपाउने भनेपछि पीडितहरू हैरानीमा छन्। खास भूकम्प पीडितहरू खुल्ला चौरमा बस्नु परेकाे बाध्यता सुनाउँदैछन्।

धेरैजसाे पीडितहरूले वडा कार्यालयमा त्रिपाल माग्न जाँदा नपाएको गुनासो गरेका छन्। उनीहरूले राहत वितरणस्थलमै पुगेर स्थानीय तहका पदाधिकारीसँग राहत नपाएकाे रिस पाेखेका छन्।

जाजरकोट र रुकुमपश्चिमका विकट स्थानमा भूकम्प पीडितहरूले राहत नपाएको बताइरहेका छन्। घर पूर्णरूपमा भत्किएर समस्या परेकाहरूले अहिलेसम्म त्रिपालसम्म पाउन सकेका छैनन्। घर भत्किएपछि कुनै पनि सामाग्री घरबाट निकाल्न नपाएको र ‘पहुँचवाला’ले आफूहरूलाई किनारामा पारेकाे उनीहरूकाे राेदन छ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, पूर्वमन्त्री तथा माओवादी नेता जनार्दन शर्मालगायत उच्च अधिकारीहरू शनिबारदेखि प्रभावित क्षेत्रमै छन्। मित्रराष्ट्र र मुलुकभित्रैबाट राहत रकम र सामाग्री प्राप्त भइरहेका छन्। तर, पीडितहरूले विभेद भएकोमा आक्राेशित हुँदै नाराबाजी गरेका छन्।

त्यस्तै, राष्ट्रपति रामचन्द्र पौडेलको जाजरकोट भ्रमणले ‘भूकम्प पीडित’हरूको राहत बाँड्ने कार्यक्रम बिथोलिएको छ। जनप्रतिनिधि, सरकारी कर्मचारी र सुरक्षाकर्मीहरू राष्ट्रपति पौडेलको सुरक्षा र स्वागतमा खटिएपछि राहत सामाग्रीको पर्खाइमा रहेका ‘पीडितहरू खाली हात’ त्रिपालतिर फर्किएका छन्।

प्रकाशित मिति: : 2023-11-08 14:16:00

प्रतिकृया दिनुहोस्