सरकारी गोदाममा राहत थुप्रिँदैः भूकम्प पीडित ‘त्रिपालमुनि’ भोकभोकै

जाजरकाेटमै पुगेन सरकारी राहत, प्रशासनले सरकारी गोदाममै थन्क्यायाे

भुइँचालोपछिकाे ‘छेपारे’ गाउँ: ओत न ओछ्यान, गाँस न बास


भूकम्प गएर जाजरकोट र रुकुम पश्चिम तहसनहस भएको चार दिन भयो। भूकम्पको झड्काले घर सक्ला छैनन्। भएका घरमा पनि चर्किएर बस्न मिल्ने छैन। 

भूकम्प प्रभावितहरू शुक्रबार रातिदेखि उद्धार तथा राहतको आशमा छन्। सरकारले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना परिचालन गरेर घरमा पुरिएका, घाइते भएकाहरूको उद्धार त गरेको छ। 

तर भूकम्प गएको चार दिनसम्म राहत वितरणमा भने सरकारको तदारूकता देखिएको छैन। शनिबार बिहानैदेखि सरकारलाई विभिन्न संघसंस्थाबाट सहयोग मिलिरहेको छ। 

उक्त सहयोग भूकम्प प्रभावितसम्म पुगेको छैन। सरकारी गोदाममा थिप्रिएको छ। सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने भन्दै राहत वितरणमा ढिलाइ गरिरहेको छ। 

तर, भूकम्प पीडितहरू भने राहतबिहीन आफ्नो दैनिक कष्टपूर्ण रूपमा बिताइरहेका छन्। जाजरकोट नलगाड नगरपालिका–६ का भूकम्प प्रभावित शेरबहादुर रावलले अहिलेसम्म कुनै सहयोग नपाएको गुनासो गरे। ‘घर भत्किगयो। पाल पनि छैन। खानेकुरा पनि पाइएन,’ उनले भने। 

सरकारले शनिबारदेखि राहत संकलन गरिरहेको छ। भूकम्प प्रभावहीन अन्य स्थानीय तह, प्रदेश सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकम पश्चिमलाई राहत पठाइरहेका छन्। 

भारतबाटसमेत राहत आइरहेको छ। अहिले राहतको कमी छैन। तर, राहत भने दुई जिल्लाका सदरमुकाममा थुपार्ने काम मात्र भएको छ। 

राहत सदरमुकाम थुप्रिरहँदा भूकम्प प्रभावितको दैनिकी भने मुस्किलले चलिरहेको छ। एकद्वार प्रणालीबाट राहत वितरण गर्ने योजनाले गाउँमा भूकम्प प्रभावितको दैनिकी भने कठिन भइरहेको जाजरकोट भेरी नगरपालिकाका मेयरले चन्द्रप्रकाश घर्तीले बताए।

भूकम्प प्रभावितले कार्यालयसमेत घेरा हाल्ने अवस्था आइसकेको उनकाे भनाइ छ। उनले भने, ‘एकद्वार प्रणालीबाट राहत बाँड्दा समस्या भयो। अब हामीले त्यसरी सकिँदैन। यहाँ सर्वसाधारणले कार्यालय घेरा हाल्ने अवस्था आयो।’


भूकम्प पीडित भन्छन्- न ओड्ने कपडा छ, न खानका लागि गाँस नै छ


एकद्वार प्रणालीबाट राहत वितरण गर्दा अहिलेसम्म कुनै स्थानमा त्रिपालसमेत नपुगेको उनले बताए। भूकम्पको केन्द्रबिन्दु रहेको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने योजनाले आफुहरू समस्यामा परेको बताए। 

उनले भने, ‘यहाँ त्रिपाल, कम्बल, खाद्यान्न नपुगेर दुःख भइरहेको छ। सिडिओ (प्रमुख जिल्ला अधिकारी)सापले सबै कुरा उतै सदरमुकाममा रोकेर बसेका छन्।’

भूकम्प प्रभावितहरूले केही संघसंस्थाको राहत मात्र पाएका छन्। त्रिपाल नहुँदा बालबालिका, गर्भवती महिलाहरू खुला आकाशमुनी बस्न बाध्य भएका छन्। उनीहरूको दैनिकी कष्टकर बन्दै गएको छ। 

नलगाड नगरपालिकामा त्रिपाल पर्याप्त नहुँदा नागरिक खुला आकाशमुनी रात बिताउन बाध्य भएको नगर प्रमुख डम्बर रावत जानकारी दिए। उनले भने, ‘यहाँ सात हजारभन्दा बढी पालको आवश्यक छ।  तर हालसम्म मुस्किलले दुई सय ५० मात्र पुगेको आइपुगेको छ। नागरिक अहिले पनि खुला आकाशमुनी रात कटाउँदै छन्।’

उनले नगरपालिकाले सक्नेजति गरिरहेको भन्दै अब आफ्नो क्षमतालेसमेत नसक्ने बताए। ‘नगरपालिकाले सक्ने काम गरिरहेको छ। अब राहत वितरण हाम्रो क्षमताभन्दा बाहिर गइसकेको छ। हामी कसरी खाद्यान्न दिऊँ?,’ रावतले भने।


कम्तीमा ८ रेक्टरको भूकम्प नआएसम्म थामिने छैन पश्चिमको हलचल

प्रकाशित मिति: : 2023-11-06 23:49:00

प्रतिकृया दिनुहोस्