कम्तीमा ८ रेक्टरको भूकम्प नआएसम्म थामिने छैन पश्चिमको हलचल

घाटमा लहरै जलिरहेका मान्छेका लाशहरूको दृश्यभन्दा कारुणिक थियो, घाटबाहिर बाँच्नेहरूको रोदन अनि क्रन्दन। 

कति घरमा त मलामी जाने मान्छे नै रहेनन्। कति परिवारमा बालबालिका टुहरा भए, कति घरमा वृद्धहरू टुहुरा भए। 

सबै घरहरू शून्य छन्। ढलेर धुलो बनेका कतिपय घरहरूको भग्नावशेष  नचिनिरहेका मानिसलाई आफन्त र छिमेकी गुमाउँदाको दृश्यले अझै तर्साइरहन्छ। 

र, त्यो भन्दा अझ बेस्सरी हल्लाउँछ भूकम्पको त्यो धक्काले।

शुक्रबार राति ११:४७ पछि पनि अरु सातवटा भूकम्पको धक्काकै बीच आफन्तका शव र उजाडिएका घरगाउँ हेर्दै जाजरकोट अनि रुकुमवासीले तीन दिन काटिसके। 

त्यो रात गएको ६.३ रेक्टरस्केलको भूकम्पले जाजरकोटको नलगाड नगरपालिका- १ का मात्रै २५ जनाको ज्यान लग्यो। लगभग कुनै त्यस्तो घर छैन जहाँ मान्छे बस्न लायक होस्। 


‘आफन्त गुमाएको पीडा’ले ‘भूकम्पपीडित’लाई पिरोलिरहेछ


यो नगरपालिकामा मात्रै लगभग ५६ जना मानिसको मृत्यु भएको छ भने ९ सय ५० भन्दा धेरै घरहरू भत्किएका छन्। त्योभन्दा धेरै घरहरू चर्किएका छन्। 

‘जीवनमा यस्तो दृश्य त कहिल्यै देखेको थिइनँ अब देख्न पनि नपरोस्’ भर्खरै मृत्यु भएका वडावासीहरूको दाहसंस्कार गरिसकेका वडा नं १ का वडाध्यक्ष धनबहादुर महर भन्छन् ‘परिवारमा मलामी जानेहरू बचेनन्। यस्तो विपद कसैले भोग्न नपरोस्।’

रुकुमतिर पनि त्यो भूकम्पको धक्काले धेरै घरहरू ढलेका छन्। प्रारम्भिक विवरणअनुसार पश्चिम रुकुममा करिब ३ हजार घरहरू ध्वस्त भएका छन् र त्यत्तिकै संख्यामा घरहरू चर्किएका छन्।

अहिलेसम्म घाइतेहरूको उद्धार र मृत्यु भएकाहरूको अन्तिम संस्कारमै सबैजना जुटेका थिए। अब सोमबारदेखि विस्थापितहरूको खानेबस्ने जोहो हुनेछ। एकद्वार प्रणालीबाट राहत बाँड्ने नीति भएका कारण अहिलेसम्म पीडितहरूसम्म पर्याप्त राहत पुगेको छैन। घरहरू बस्न लायकै छैनन् र भूकम्पको जोखिम पनि उत्तिकै छ। 

घरभित्रै छिर्ने अवस्था छैन र त्रिपाल पनि छैनन्। 

‘अब बल्ल दाहसंस्कार सकियो, उद्धार पनि लगभग सकिएको छ। अझैं कहिँकतै कोही आपतमा छ कि भनेर हामी पनि परिवारलाई बाहिरै राखेर हिँडिरहेका छौं’ महर भन्छन् ‘अहिलेसम्म सबैजना खुल्ला आकाशमुनि नै छौं। भएकाहरू त्रिपालमुनि छन् नभएका त्यत्तिकै कपडा ओढेरै रात काटिरहेका छौं।’


भूकम्पको डरः सग्ला छैनन् घर, ‘रातभरि त्रिपालकाे भर’


अझै ठूलो विपदको जोखिम

कम्तीमा १५७ जना मानिसको ज्यान लिएको अनि हजारौं घरगोठहरू भत्काएर विध्वंश मच्चाएको यो भूकम्प यत्तिमै भने थामिने छैन। यसका प्रशस्त बैज्ञानिक आधारहरू विज्ञहरूले दिएका छन्। 

यसअघि नै पश्चिम पहाडी क्षेत्रको भूकम्पीय जोखिमबारे अनुसन्धान निकाय र अनुसन्धाताहरूले सरकारलाई चेतावनी दिइरहेका थिए। 

जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु भएको यसपालिको भूकम्पले लगभग १०-१५ किलोमिटरमुनिबाट हल्लाएको थियो। भूकम्पको गहिराइ जति कम भयो क्षतिको सम्भावना पनि उत्तिकै बढ्छ।

खासगरी जमिनमुनि सतह बनाएर बसेका प्लेटहरूको हलचलका कारण जमिनको सतहमा हुने कम्पन नै भूकम्प हो। जसले कमजोर संरचनाहरू ध्वस्त पार्नसक्छ त्यसमा परेर मानिसको ज्यान जानसक्ने जोखिम पनि उत्तिकै हुन्छ। हरेक भौतिक संरचनामा मानिस जोडिएकै हुन्छ।

इतिहासको लगभग ८०० वर्षयता नेपाली भूगोल बेस्सरी हल्लाएका ५० वटा ठूला भूकम्पमध्ये केहीले मात्रै पश्चिम पहाड वा हिमाली क्षेत्रको भूगोल खलबल्याइदिएको छ। भूकम्प इतिहासका जानकारहरू अनुसार त्यसपछि लगभग ५२० वर्षयता नेपालको पश्चिमी त्यो भेगमा त्यस्तो ठूलै भुइँचालो गएको छैन। 


भूकम्पको अझ ठूलै कम्पन बेहोर्न बाँकी छ पश्चिम नेपालले


त्यसको अर्थ त्यो भूगोलको मुनि सतहमा विष्फोट भएर निस्किनसक्ने ठूलै शक्ति थुप्रिएर बसेको छ। 

अर्थात् कम्तीमा पनि त्यसको शक्ति ८ म्याग्नेच्यूडभन्दा माथिकै छ। 

भूकम्पको यो शक्तिको अन्दाजअनुसार त जाजरकोटमा यसपालि आएको भूकम्प खासै शक्तिशाली होइन। त्यत्तिकै भूकम्प दसैंअघि बझाङले पनि झेलिसकेको थियो। त्यहाँ मानवीय क्षति भएन। अघिल्लो वर्ष डोटीको भूकम्प पनि यही पेरिफेरिको हो। त्यहाँ पनि केही भौतिक क्षति भयो। 

तर, सबैभन्दा धेरै यसपालि जाजरकोटले मानीवय मूल्य चुकाउनुपर्‍यो। त्यो भनेको भूकम्प आउने समय र कमजोर संरचनाहरूको कारण हो। 

मध्यरातमा मानिसले त्यसको छनकै पाएनन्। कति त निद्राबाट ब्यूँझिनै पाएनन्। घर ढलेर त्यसको ढुङ्गा र माटोमै च्यापिए। कहिल्यै उठ्न पाएनन्। 

अझै जोखिम टरेको छैन। पाँच सय वर्षयता नहल्लिएको यो भूगोलले यो भूकम्पको गर्जो टार्न अझै आठ रेक्टरभन्दा माथि आउने भूकम्प वा यत्तिकैमात्रा (६ रेक्टरसम्मका) कम्तीमा एक हजार २४ पटक भूकम्पको धक्का बेहोर्नुपर्नेछ। यो बराबर बल्ल ८ रेक्टरस्केलभन्दा माथि हुन्छ। वा ७ रेक्टरस्केलका कम्तीमा ३२ पटक भूकम्प जानुपर्ने हुन्छ।

सन् १२५५ देखि २०७२ साल (कम्तीमा साढ ७सय वर्षयता) ८ रेक्टरस्केलका लगभग ५ वटा भूकम्प गएका छन्।  

योभन्दा पनि कम हल्लिएको महसुस हुनेगरी (कम्तीमा ५ रेक्टरसम्म) नै त ३२ हजारपटक भूकम्प जानुपर्छ। अनिमात्रै ८ रेक्टरबराबरको शक्ति जमिनको सतहमा निस्कासन हुनसक्छ।  


भूकम्पपीडित भन्छन्, ‘भाग्यले बाँचे’


भूकम्पविज्ञ लोकविजय अधिकारीका अनुसार यो धादिङ, बझाङ, डोटी वा २०७२ साल (७.८रेक्टरस्केल)का पराकम्प होइन। यो नयाँ भूकम्प नै हो। जसले अझ जमिनमुनिको शक्ति सञ्चयलाई इंगित गर्छ। ८ रेक्टरभन्दा माथिल्लो स्केलका भूकम्प ‘महाभूकम्प’ हुन्छ। 

शुक्रबार राति जाजरकोटमा गएको ६.३ रेक्टरको भूकम्पपछि कम्तीमा ४ रेक्टरस्केलभन्दा माथिका लगभग ७ वटा भूकम्प गइसकेका छन् भने ससाना (महसुस नहुने, २ रेक्टरसम्म)का लगभग २११ वटा पराकम्प गइसकेका छन्। पराकम्पहरू सबै महसुस गर्न नसकिने हुँदैनन्, ७२ वैशाख १२ पछि दोस्रोपटक वैशाख २९का जस्ता विनाशकारी पनि हुन्छन्। 

उनका अनुसार केही दिनमै पश्चिमको भूगोलमा यस्तै र अर्को मध्यमस्तरको भूकम्प जान पनि सक्छ। 

‘खतरा त अझै टरिसकेको छैन। अहिले नै हामीले यतिधेरै मानवीय मूल्य चुकाइसकेका छौं। अझ खतराहरू छन्। त्यसका पूर्वसचेतनाबाहेक अर्को विकल्प त के रह्यो र!’ उनी भन्छन् ‘उसै पनि पूरै नेपाल भूकम्पीय जोखिममा छ। कहिले कहाँ भूकम्प आउँछ भन्ने पूर्वानूमान गर्न सकिँदैन। आउँदा बच्ने र त्यसलाई थेग्नेगरी संरचनाहरू बनाउनेमात्रै हो।’

अहिलेसम्मको वैज्ञानिक आंकलनअनुसार कम्तीमा शताब्दीमा एकपटक ७ रेक्टरस्केलभन्दा माथिका भूकम्प जाने गरेका छन्। 
त्यो भनेको जमिनमुनि हुने प्लेटको सहत र तिनका चालअनुसार हुन्छ। 


भूकम्पले चिरेकाे ‘चिउरी गाउँ’, उजाडिएका परिवार


कसरी जान्छ भूकम्प?

यो खासमा पृथ्वीको गति र त्यसका सतहमा उत्पन्न हुने चालका प्रक्रियाहरू हुन्। पृथ्वीको एक सतह बनाइ बसेका एक तहका विभिन्न प्लेटहरूको आफ्नै चाल र गति हुन्छ। 

उदाहरणका लागि पृथ्वीको एक सतहमा भएका मुख्य १६ वटा प्लेटहरूको चाल र घर्षणले त्यसमा प्रभाव पारिरहेका हुन्छन्। पृथ्वीको भूगोलअनुसार फरक फरक प्लेटहरू मिलेर पृथ्वीको बाहिरी सतह बनेको हुन्छ। 

सजिलो भाषामा भन्दा यी प्लेट भनेका माटोको पत्रहरू हुन्। जो आफ्नै गतिमा  चलिरहेका हुन्छन्।  

त्योमध्ये नेपालको भूगोलमुनि चाल उत्पन्न गर्ने भनेको इन्डियन प्लेट र तिब्बतियन प्लेट हुन्। यी प्लेटहरूको गति एकदमै मिहीन हुन्छ। 

उदाहरणका लागि नेपालमा  भूकम्पको मुख्य कारक मानिने इन्डियन प्लेट प्रत्येक वर्ष १५-२० मिलिमिटरको चालमा तिब्बतियन प्लेटतर्फ धकेलिइरहेको छ। 

यस्तै गतिमा एकअर्को सतह नमिल्दा पृथ्वी हल्लिन्छ, त्यो एउटा निश्चित विन्दुमा हुन्छ र त्यसैलाई भूकम्प गएको भनिन्छ। यी प्लेट आआफ्नो क्षेत्रका लागि हिमालय श्रृङ्खला मुनि अर्थात् नेपालको भूभागमा संघर्षरत छन्। 

एउटा प्लेट अर्को प्लेटको स्थानमा घुस्दा वा छुँदा उत्पन्न हुने वा सञ्चित हुने शक्ति वा उर्जाबाट निस्किने कम्पन भनै भूकम्प हो। अर्थात् घुसाइका कारण उत्पन्न हुने उर्जाको परिमाण बढ्दै जाँदा भूगर्भको संरचनाले थेग्न नसकी भूगर्भका चट्टानका चाक्लाहरु दोब्रिदाँ वा भाँच्चिदा हुने कम्पन नै भूकम्प हो। जसले जमिन हल्लाउँछ।

भूकम्प भनेकै पृथ्वीको कम्पन अर्थात् काँप्नु हो वा हल्लिनु भनेको हो। 

पश्चिम नेपालको जमिनलाई बेलाबेलामा झट्का दिइरहने अर्थात् हल्लाइरहने भनेको यिनै प्लेटको गति र सतहको घर्षण नै हो। जसले कमजोर भूगोल खोजिरहेको हुन्छ। 

अर्थात् विज्ञहरूका अनुसार ती कम्पनहरू पृथ्वीको माथिल्लो सतहसम्म निस्किनका लागि भित्रभित्रै उत्पन्न घर्षण भूगोलको कमजोर वा सिथिल ठाउँमा विष्फोट हुन्छ। त्यही नै भूकम्प हो। 

यसको अर्थ भूकम्प जोखिमका लागि पश्चिम नेपाल र अझ हिमाली काखको भूभाग निकै संवेदनशील भूगोल हो।


भूकम्पले जाजरकोट-रुकुममा धेरै मानवीय क्षति हुनुका ३ कारण


सरकार के गरिरहेको छ?

२०७२ सालको भूकम्पपछि सरकारले संरचना निर्माणमा केही कडाई गर्‍यो। त्यसपछि नयाँ संरचना बनाउनेहरूले पनि सकेसम्म भूकम्पलाई प्रतिरोध गर्नसक्नेगरी निर्माण गरे। 

तर पुस्तौं त्यही संरचनाको उपभोग गर्दै आएका ग्रामीण क्षेत्रले पनि अहिले पनि भूकम्पको वर्वादी खेपिरहेको छ। 

जाजरकोटको भूकम्पमा भएको मानवीय क्षति र विपदलाई सरकारले यसपालि तत्काल सम्बोधन गर्‍यो। भूकम्प गएसँगै प्रत्यक्ष र अप्रत्यक्षरुपमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना करिब १८ घण्टा भूकम्पपीडितहरूकै लागि बिताए। 

देशभरिका स्थानीय तह, राजनीतिक दल र अरू संघसंस्था अनि आमनागरिकले जाजरकोट र रुकुमको भूकम्पले निम्त्याएको क्षतिप्रति सहानूभूति देखाएका छन्। देश यतिबेला यो पीडामा एकाकार भएको छ। संसारभरिका देशले नेपाललाई समवेदना पठाएका छन् र सहयोगको बचन पनि दिएका छन्।

सरकारले जाजरकोट र रुकुमलाई पाँच पाँच करोड दिने र भूकम्पबाट ज्यान गुमाएका परिवारलाई दुई दुई लाखका दरले सहायता प्रदान गर्नेगरी निर्णय गरिसकेको छ।

अब जाजरकोटलाई आधार बनाएर एकवर्षभित्र भूकम्प प्रतिरोधात्मक संरचनाहरूको निर्माण गर्दै एक वर्षभित्र पुनर्निर्माण सक्ने निर्णय पनि सरकारले गरेको छ। 

प्रधानमन्त्रीले जोखिम छ भन्ने थाहा पाउँदा पाउँदै पनि अप्रत्याशित रुपमा ठूलो मानवीय मूल्य चुकाउनुपरेको बताएका छन्। उनले यस्ता आपतविपदबाट बच्न र तत्काल राहत अनि उद्धारका लागि कम्तीमा जोखिमपूर्ण क्षेत्रमा त्यस्ता संरचनाहरू बनाउनुपर्ने आवश्यकता पनि औंल्याएका छन्। 

‘२०७२ को भूकम्पपछि पनि हामीले गर्न खोजेकै हो। तर हामीबाट पनि कमीकमजोरी भयो। सरकारले पनि गर्न खोज्यो तर सकेन’ प्रधानमन्त्री प्रचण्डले भने ‘हामीले पनि गर्न सकेनौं र विपदको जोखिम छ भन्ने जान्दा जान्दै पनि जनतामा सचेना पनि फैलाउन सकेनौं। हामीले राम्रा पाठ र नराम्रा अनुभव पनि बटुलेका छौं। अब सिकेका राम्रो पाठको पालना गर्नुपर्छ।’

प्रकाशित मिति: : 2023-11-05 21:16:00

प्रतिकृया दिनुहोस्