भूकम्पको अझ ठूलै कम्पन बेहोर्न बाँकी छ पश्चिम नेपालले

सन् १५०५ मा गएको भुइँचालाेले चीन र छेउछाउको नेपाली भू-भागलाई बेस्सरी हल्लाएको थियो। त्यसको एउटा ठूलो झट्काले हिमालयका रेखाहरूमा पनि कम्पन ल्यायो। त्यसको उद्गमबिन्दु हिमालय क्षेत्रकै मुस्ताङ थियो।

नेपालमा भूकम्पको आदिम कथाहरूमा त्यो भूकम्पका कारण ज्यान गुमाएका तिब्बतका राजाको पनि बखान छ।

यसपछि हिमाली भूगोल लगभग शान्त छ। २०४५ सालको महाभूकम्प र २०७२ सालमा दोहोरिएको त्यस्तै कम्पनबाहेक नेपालको जमिन त्यतिसारो ढलमलाएको छैन। तर, त्यसपछि पनि पश्चिम नेपालका पहाडी भूगोललाई केन्द्र बनाएर सर्किरहने कम्पनहरूले भने बेलाबेला झस्काउन थालेका थिए।

करिब ५०० वर्षअघि पश्चिम पहाडलाई केन्द्रबिन्दु बनाएको त्यो भूकम्पबाहेक मध्यनेपाल अर्थात् काठमाडौं र वरिपरीको भूगोललाई केन्द्रबिन्दु बनाएर सन् १२५५ देखि २०७२ सम्म लगभग १७ वटा ठूला भूकम्प गइसकेका छन्। ती ६ रेक्टरदेखि ८.७ रेक्टरस्केलसम्मका थिए।

नेपालको जमिन पहिलोपटक हल्लाएको १२५५ को त्यो भूकम्पमा तत्कालीन राजा अभय मल्ल र उनका परिवारको समेत मृत्यु भएको इतिहास छ।

तर, पाँच शताब्दीदेखि नहल्लिएको पश्चिम नेपालको भूगोलमुनि ठूलो शक्ति सञ्चय भएको हुनसक्ने भूकम्पविज्ञहरूले अनुमान लगाएका छन् र बेलाबेला आउने यस्ता भूकम्पलाई अझ ठूलो विपत्तिको पूर्वसंकेत पनि भनेका छन्। तर, त्यसको कुनै ठेगान छैन।

अर्थात्, बितेको ५०० वर्षदेखि त्यो भूगोलमुनि चलमलाइरहेको शक्ति कतिबेला जमिनको सतहमा विष्फोट हुन्छ, त्यो भन्न सकिने अवस्था छैन। दसैंअघि बझाङको केन्द्रबिन्दुबाट हल्लिएको यो क्षेत्र(हिमालय रेखा) कतिबेला अझ बेस्सरी खलबलिने हो त्यसको अनुमान छैन।

बझाङको त्यो ६.३ रेक्टर स्केल अनि जाजरकोटको यो ६.४ रेक्टरस्केल र त्यसका पराकम्पनहरू अझ ठूलो झट्काको पूर्वसंकेत पनि हुनसक्छन्।

शुक्रबार राति ११:४७ बजे जाजरकोटको जमिनभन्दा लगभग १० किलोमिटरमुनि भएको हलचलले निम्त्याएको बिनास त्यो डरको एउटा साक्षात् परिणाम बन्यो। जो अवश्यंभावी थियो तर यकीन थिएन।

आँधी-हुरी र चट्याङ अनि वर्षा र बाढीजस्तै भूकम्पको अनुमान पनि हुँदैन। त्यसको पूर्वानूमान विधि अहिलेसम्मको विज्ञानका लागि ठूलै चुनौती हो। जसका बारेमा अहिलेसम्म कुनै वैज्ञानिक अनुसन्धान सफल हुन सकेका छैनन्।

के भएको थियो जाजरकोटमा?

जाजरकोट रामीडाँडाको लगभग १० किलोमिटरमुनि केन्द्रबिन्दुमा भएको हलचलले त्यो भूगोलको एक रेखामा बेस्सरी हल्लायो। त्यसको धक्का भारतको नयाँ दिल्ली र कतिपय चिनियाँ भू-भागसम्मै पुग्यो।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा ६.४ रेक्टर स्केलकाे त्यो धक्कापछि पनि त्यही रेखाका बिटहरूमा कैयौं त्यस्ता झट्काहरू गए।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार दिउँसोसम्म ४ रेक्टरस्केलका लगभग ५ वटा त्यस्ता पराकम्पहरू गए। यी महसुस गर्न सकिनेखालका भूकम्पीय धक्का थिए। तर, २४ घण्टाभित्र भौगोलिक प्रणालीमा त्यस्तो हलचल लगभग १०० भन्दा बढी भइसकेका छन्।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पृथ्वीमा भूकम्प र त्यसका कम्पन अनि पराकम्पनहरू निरन्तर प्रक्रिया हो।

फरक यत्ति हो, कुनै घर्षण शक्तिशाली हुन्छ र त्यसले अलि बेस्सरी हल्लाउँछ। कुनै कम्पनहरू महसुस नै हुँदैनन्।

गोरखाको बारपाक केन्द्रबिन्दु भएर २०७२ सालमा नेपालमा गएको भूकम्पपछि अहिलेसम्म लगभग ६० हजारभन्दा धेरै पराकम्प महसुस गरिएका छन्। तीमध्ये केहिले अलि बेस्सरी हल्लाएका छन् र केही थाहै नदिई गएका छन्।

पश्चिम नेपालको जोखिम

शुक्रबार मध्यराति गएको भूकम्पबाट जाजरकोट र रुकुममा याे समाचार तयार गर्दासम्म कम्तीमा १ सय ५७ जनाभन्दा धेरैको मृत्यु भइसकेको छ। सयौँ मानिस घाइते भएका छन् भने त्यत्तिकै संख्यामा घरगोठहरू भत्किएका छन्।

धन/जनको क्षतिबारे अझै विवरणहरू यकीन भइसकेका छैनन्। स्थानीय जनप्रतिनिधिहरू, प्रहरी-प्रशासनले पहुँच पुगेजति विवरण सार्वजनिक गरिरहेका छन्। तर, उद्धारमा खटिएका र स्थानीयवासीका अनुसार क्षतिका यी तथ्याङ्कहरू अझै बढ्नसक्छ।

दसैँअघि बझाङमा आएको भूकम्पले त्यहाँ एक जनाको ज्यान गएको थियो भने सयौँ मानिस घरबारविहीन भएका थिए। त्यसपछि अहिलेसम्म पनि बझाङमा त्यसका पराकम्प गइरहेका छन्।

उसैपनि पूर्वदेखि पश्चिमसम्म नेपालको पूरै भू-भाग भूकम्पीय जोखिममा छ। त्यसमाथि पनि मध्य र सुदूरका यी पहाडी जिल्लाका भू-भागहरू अति जोखिममा छन्।

भूकम्पविदहरूका अनुसार जाजरकोटमा यति धेरै मानवीय क्षति हुनुका पछि खासगरी ३ वटा मुख्य कारण छन्।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्प विशेषज्ञ डा.लोकविजय अधिकारीकाअनुसार खासगरी त्यो क्षेत्रको भूगोल, समय र संरचनाहरूका कारण त्यहाँ धेरै क्षति भएको हुनसक्छ।

‘खासगरी त्यो आफैँमा भूकम्पले निम्त्याउनसक्ने क्षतिका बारेमा हामीले संवेदनशील क्षेत्रमा राखेको हो’, उनले भने, ‘त्यसमाथि त्यहाँका कमजोर संरचनाहरू र समयका कारण बढी मानवीय क्षति हुनपुग्यो।’

उनका अनुसार यहाँ एकैपटक ठुलै स्केलको भूकम्प गयो। जसका कारण मानिसहरू सुरक्षित हुने मौकै पाएनन्। त्यसमाथि समय पनि मध्यरातको थियो।

‘बझाङमा पहिला त स-सानो भूकम्प पनि गएको थियो। त्यसैले मौका मिल्यो’, उनले भने, ‘यहाँ (जाजरकोट-रुकुम)मा एकैपटक ठूलै स्केलमा गयो र त्यो पनि मध्यरातमा भूकम्प गएका कारण मानिसहरूले सुरक्षित हुने मौका नै पाएनन्।’

उनका अनुसार यहाँ अरु पनि पराकम्पहरू जानसक्ने सम्भावना छ। अहिलेसम्म जाजरकोट नै केन्द्रबिन्दु भएर थप चारवटा भूकम्प गइसकेका छन्।

कसरी जान्छ, भूकम्प?

यो खासमा पृथ्वीको गति र त्यसका सतहमा उत्पन्न हुने चालका प्रक्रियाहरू हुन्। पृथ्वीको एक सतह बनाई बसेका एक तहका विभिन्न प्लेटहरूको आफ्नै चाल र गति हुन्छ।

उदाहरणका लागि पृथ्वीको एक सतहमा भएका मुख्य १६ वटा प्लेटहरूको चाल र घर्षणले त्यसमा प्रभाव पारिरहेका हुन्छन्। पृथ्वीको भूगोलअनुसार फरक-फरक प्लेटहरू मिलेर पृथ्वीको बाहिरी सतह बनेको हुन्छ।

सजिलो भाषामा भन्दा यी प्लेट भनेका माटोको पत्रहरू हुन्। जो आफ्नै गतिमा चलिरहेका हुन्छन्।

त्योमध्ये नेपालको भूगोलमुनि चाल उत्पन्न गर्ने भनेको इन्डियन प्लेट र तिब्बतियन प्लेट हुन्। यी प्लेटहरूको गति एकदमै मिहीन हुन्छ।

उदाहरणका लागि नेपालमा भूकम्पको मुख्य कारक मानिने इन्डियन प्लेट प्रत्येक वर्ष १५-२० मिलिमिटरको चालमा तिब्बतियन प्लेटतर्फ धकेलिइरहेको छ।

यस्तै गतिमा एकअर्को सतह नमिल्दा पृथ्वी हल्लिन्छ, त्यो एउटा निश्चित बिन्दुमा हुन्छ र त्यसैलाई भूकम्प गएको भनिन्छ। यी प्लेट आ-आफ्नो क्षेत्रका लागि हिमालय श्रृङ्खलामुनि अर्थात् नेपालको भू-भागमा संघर्षरत छन्।

एउटा प्लेट अर्को प्लेटको स्थानमा घुस्दा वा छुँदा उत्पन्न हुने वा सञ्चित हुने शक्ति वा ऊर्जाबाट निस्किने कम्पन भनै भूकम्प हो। अर्थात्, घुसाइका कारण उत्पन्न हुने ऊर्जाको परिमाण बढ्दै जाँदा भूगर्भको संरचनाले थेग्न नसकी भूगर्भका चट्टानका चाक्लाहरु दोब्रिदाँ वा भाँच्चिदा हुने कम्पन नै भूकम्प हो। जसले जमिन हल्लाउँछ।

भूकम्प भनेकै पृथ्वीको कम्पन अर्थात् काँप्नु हो वा हल्लिनु भनेको हो।

पश्चिम नेपालको जमिनलाई बेलाबेलामा झट्का दिइरहने अर्थात् हल्लाइरहने भनेको यिनै प्लेटको गति र सतहको घर्षण नै हो। जसले कमजोर भूगोल खोजिरहेको हुन्छ।

अर्थात्, विज्ञहरूका अनुसार ती कम्पनहरू पृथ्वीको माथिल्लो सतहसम्म निस्किनका लागि भित्रभित्रै उत्पन्न घर्षण भूगोलको कमजोर वा सिथिल ठाउँमा विष्फोट हुन्छ। त्यही नै भूकम्प हो।

यसको अर्थ भूकम्प जोखिमका लागि पश्चिम नेपाल र अझ हिमाली काखको भू-भाग निकै संवेदनशील भूगोल हो।

‘खासमा यो भनेको केही ठूलो हुँदैछ है भन्ने पूर्वसंकेत पनि हो। त्यसैले हामी सचेत र चनाखो भएर रहनुको विकल्प नै छैन’, खानी तथा भूगर्भ विभागका भूगर्भविद् नारायण बाँस्कोटाले यसअघि यो क्षेत्रमा ‘जुनसुकै बेला पनि बिनाशकारी भूकम्प जानसक्ने’ भनेर चेतावनी दिएका थिए।

दसैंअघिको त्यो बेला बझाङको भूगोल हल्लिरहेको थियो।

भूकम्पको पूर्वानूमान हुन्छ?

यसको एकीन मिति, समय र स्थान भने हुँदैन। विज्ञ तथा वैज्ञानिकहरूले अहिलेसम्म संघर्ष गरिरहेको मध्ये भूकम्पको पूर्वानुमान प्रणाली पनि हो। जो अहिलेसम्म पत्तै लाग्न सकेको छैन वा त्यसको पूर्वानुमानबारे कसैले केही भन्नै सक्दैन।

वर्षा, बाढी, चट्याङ वा हुरिबतास् अर्थात्, मौसमको जस्तै भूकम्पको पूर्वानुमान हुँदैन। त्यसैले अहिलेसम्मको निष्कर्ष के हो भने- भूकम्प रोक्न सकिन्न। तर, त्यसको क्षतिबाट बच्नका लागि त्यसैअनुसारका जीवनशैली आवश्यक छ।

उसै पनि नेपालको सिङ्गै भूगोल भूकम्पको जोखिममा छ। २०७२ को भूकम्पपछि नेपालका धेरै क्षेत्रका भूगोलको अध्ययन र अनुसन्धानसमेत भइरहेको छ।

२०७२ को महाभूकम्पपछि पछि संयुक्त राष्ट्र संघको ‘ब्युरो अफ क्राइसिस प्रिभेन्सन’ले विश्वका १ सय ९८ राष्ट्रमध्ये नेपाल भू–कम्पीय उच्च जोखिमको ११औं स्थानमा रहेको निष्कर्ष निकालेको थियो।

त्यही जोखिम त्यो भूकम्पपछि करिब ८ हजार ७८९ जनाको मृत्यु र करिब ६ लाख भौतिक संरचनाहरू ध्वस्त हुनुको कारण बन्यो। जसले २२ हजारभन्दा बढी मानिसलाई घाइते र कैयौलाई अपाङ्ग बनायो।

त्यो निकै शक्तिशाली अर्थात् ७.८ रेक्टरस्केलको कम्पन थियो। जसले छिमेकको भारत, चीन र बंगलादेशका समेत कतिपय भू-भाग हल्लायो।

त्यो भूकम्पको ठूलो चोट त्यतिबेला पश्चिम नेपालको भूगोललाई खासै लागेन। त्यसका दरारहरू पोखराभन्दा पश्चिमको भू-भागतिर खासै देखिएनन्।

अर्थात्, त्यो क्षेत्रमा कम्पनको त्यो शक्ति अहिले पनि सञ्चय भइरहेको भनेर विज्ञहरूले विश्लेषण गरेका छन्।

कम्तीमा शताब्दीको अन्तरालमा आउने भूकम्पले वर्षौं सञ्चित भएको त्यो ऊर्जा एकैपटक ननिस्किन पनि सक्छ। त्यसैले उसले एउटा कमजोर जमिन खोजिरहेको हुन्।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार करिब ५०० वर्षयता गोरखाभन्दा पश्चिमतिर अर्थात् भारतको देहरादून भू-भागसम्म कुनै पनि ठूला भूकम्प गएका छैनन्। यसको अर्थ त्यो भूगोलमुनि सञ्चित भइरहेको शक्ति जतिखेर पनि भूकम्प बनेर विष्फोट हुनसक्छ।

अहिलेका यी भूकम्पीय झट्काबाट मात्रै त्यो शक्ति निख्रिन सम्भव छैन।

‘अब हामी आफैँ बिचार गर्नसक्छौं। मुनितिर कति शक्ति सञ्चय भइरहेको हो। त्यसैले यो सुदूरपश्चिमका क्षेत्रमा क्षेत्रमा महाभूकम्प जानसक्ने शक्ति सञ्चित भएको छ बुझ्न सकिन्छ र यो भूगोलमा महाभूकम्प वा ठूला भूकम्पको खतरामा छ भन्ने अनुमान गर्न सकिन्छ’, भूगर्भविद् बाँस्कोटाले भने, ‘यस्तो भूकम्प कहिले जान्छ भनेर भन्नचाहिँ सकिन्न।’

उनका अनुसार पाँच सय वर्षभन्दा धेरै समयदेखि त्यो भूगोलमुनि प्लेटहरूबीच भइरहेको संघर्षका कारण ठूलै शक्ति सञ्चित भएको हुनसक्छ।

तर, बेला-बेला आउने यस्ता साना स्केलका भूकम्प वा पराकम्पनहरूले त्यो शक्तिलाई पूरै निस्कासन गर्न नसक्ने उनको भनाइ छ।

अर्थात्, अझ ठूलो भूकम्पको धक्का त हामीले बेहाेर्नै बाँकी छ।


सम्बन्धित भिडियाे :

प्रकाशित मिति: : 2023-11-04 20:43:00

प्रतिकृया दिनुहोस्