मध्यराति गएको भूकम्पबाट जाजरकोट र रुकुममा कम्तीमा १ सय ४० जनाको मृत्यु भइसकेको छ। सयौँ मानिस घाइते भएका छन् भने त्यत्तिकै संख्यामा घरगोठहरू भत्किएका छन्।
धनजनको क्षतिबारे अझै यकीन विवरणहरू आइसकेका छैनन्। स्थानीय जनप्रतिनिधिहरू, प्रहरी-प्रशासनले पहुँच पुगेजति विवरण सार्वजनिक गरिरहेका छन्। तर उद्धारमा खटिएका र स्थानीयवासीका अनुसार क्षतिका यी तथ्याङ्कहरू अझै बढ्नसक्छ।
दसैँअघि बझाङमा आएको भूकम्पले त्यहाँ एकजनाको ज्यान गएको थियो भने सयौँ मानिस घरबारविहीन भएका थिए। त्यसपछि अहिलेसम्म पनि बझाङमा त्यसका पराकम्प गइरहेका छन्।
बझाङको चैनपुर केन्द्रविन्दु बनाएर त्योबेला ६.३ रेक्टरस्केलको भूकम्प गएको थियो। तरपछि पनि चार रेक्टरभन्दा माथिका दर्जन बढी पराकम्पन गइसकेका छन्।
जाजरकोट-रुकुममा कसरी बढी क्षति?
उसै पनि पूर्वदेखि पश्चिमसम्म नेपालको पूरै भूभाग भूकम्पीय जोखिममा छ। त्यसमाथि पनि मध्य र सुदूरका यी पहाडी जिल्लाका भू-भागहरू अति जोखिममा छन्।
२०७२ को भूकम्पपछि नेपालका धेरै क्षेत्रका भूगोलको अध्ययन र अनुसन्धानसमेत भइरहेको छ।
२०७२ को महाभूकम्पपछि पछि संयुक्त राष्ट्रसंघको ‘ब्युरो अफ क्राइसिस प्रिभेन्सन’ले विश्वका १ सय ९८ राष्ट्रमध्य नेपाल भू–कम्पीय उच्च जोखिमको ११औँ स्थानमा रहेको निष्कर्ष निकालेको थियो।
त्यही जोखिम त्यो भूकम्पपछि करिब ८ हजार ७८९ जनाको मृत्यु र करिब ६ लाख भौतिक संरचनाहरू ध्वस्त हुनुको कारण बन्यो। जसले २२ हजारभन्दा बढी मानिसलाई घाइते र कैयौँलाई अपाग बनायो।
त्यो निकै शक्तिशाली अर्थात् ७.८ रेक्टरस्केलको कम्पन थियो। जसले छिमेकको भारत, चीन र बंगलादेशका समेत कतिपय भूभाग हल्लायो।
त्यो भूकम्पको ठुलो चोट त्यतिबेला सुदूरपश्चिमको भूगोललाई खासै लागेन। त्यसका दरारहरू पोखराभन्दा पश्चिमको भूभागतिर खासै देखिएनन्। अर्थात्, त्यो क्षेत्रमा कम्पनको त्यो शक्ति अहिले पनि सञ्चय भइरहेको भनेर विज्ञहरूले विश्लेषण गरेका छन्।
कम्तीमा शताब्दीको अन्तरालमा आउने भूकम्पले वर्षौँ सञ्चित भएको त्यो ऊर्जा एकैपटक ननिस्किन पनि सक्छ। त्यसैले उसले एउटा कमजोर जमिन खोजिरहेको हुन्।
भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार करिब ५०० वर्षयता गोरखाभन्दा पश्चिमतिर अर्थात् भारतको देहरादून भू-भागसम्म कुनै पनि ठूला भूकम्प गएका छैनन्।
भूकम्पविदहरूका अनुसार जाजरकोटमा यति धेरै मानवीय क्षति हुनुका पछि खासगरी ३ वटा मुख्य कारण छन्।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्प विशेषज्ञ डा. लोक विजय अधिकारीका अनुसार खासगरी त्यो क्षेत्रको भूगोल, समय र संरचनाहरूका कारण त्यहाँ धेरै क्षति भएको हुनसक्छ।
जाजरकोटको भूकम्पछि उनी पनि त्यस क्षेत्रमा जाँदैछन्। सुर्खेत पुगेका उनले बिएल नेपाली सेवासँग संक्षिप्त कुराकानी गर्दै उनले यसका अरु कारणहरूबारे भने केन्द्रबिन्दुमै पुगेर अध्ययनपछिमात्रै विस्तृतमा भन्न सकिने बताए।
‘खासगरी त्यो आफैँमा भूकम्पले निम्त्याउनसक्ने क्षतिका बारेमा हामीले संवेदनशील क्षेत्रमा राखेको हो’, उनले भने, ‘त्यसमाथि त्यहाँका कमजोर संरचनाहरू र समयका कारण बढी मानवीय क्षति हुनपुग्यो।’
उनका अनुसार यहाँ एकैपटक ठूलै स्केलको भूकम्प गयो। जसका कारण मानिसहरू सुरक्षित हुने मौकै पाएनन्। त्यसमाथि समय पनि मध्यरातको थियो।
‘बझाङमा पहिला त स-सानो भूकम्प पनि गएको थियो। त्यसैले मौका मिल्यो’, उनले भने, ‘यहाँ (जाजरकोट-रुकुम)मा एकैपटक ठूलै स्केलमा गयो र त्यो पनि मध्यरातमा भूकम्प गएका कारण मानिसहरूले सुरक्षित हुने मौका नै पाएनन्।’
उनका अनुसार यहाँ अरु पनि पराकम्पहरू जानसक्ने सम्भावना छ। अहिलेसम्म जाजरकोट नै केन्द्रबिन्दु भएर थप चारवटा भूकम्प गइसकेका छन्।
केन्द्रका अनुसार जाजरकोट केन्द्रबिन्दु भएर दोस्रोपटक शनिबार बिहान १:०८ बजे ४.५ रेक्टर, त्यसको २१ मिनेटपछि १:२९ बजे तेस्रोपटक ४.२ रेक्टर स्केलको भूकम्प गएको थियो।
त्यस्तै त्यसको ६ मिनेटपछि ४.३ रेक्टर तथा बिहान ४:१६ बजे ४.६ रेक्टर स्केलको भूकम्प गएको थियो।
भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठुलो क्षति भएको छ। सरकारले अहिले राहत तथा उद्दार कार्यको लागि सबै संयन्त्र परिचालन गरेको छ।