पश्चिम पहाडको बझाङ-चैनपुरबाट भूगोलको एक रेखामा सुरु भएको कम्पनले भारतको दिल्लीसम्मै हल्लायो। त्यसको थोरै झट्का काठमाडौँले पनि महसुस गर्यो।
मंगलबार अपराह्न २ बजेर ४० मिनेटमा बझाङको तलकोट क्षेत्रमा केन्द्रबिन्दु बनाएर अलिअलि हल्लाएको भूकम्प (५.३ म्याग्निच्यूड)को अर्को पराकम्प (६.३म्याग्निच्यूड) जाँदा त्यसको केन्द्र चैनपुर क्षेत्र थियो। यो जिल्लाको सदरमुकाम क्षेत्र हो।
चैनपुरबाट पूर्वोत्तरको एउटा सानो पहाडबाट अर्को ठुलो झट्का चैनपुरबाटै हानियो। जसले नेपालको काठमाडौँलगायत कतिपय भू-भागलाई कपाउँदै त्यसको कम्पन भारतको नयाँ दिल्लीसम्मै पुग्यो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको एउटा विवरणअनुसार त्यसयता बुधबार बिहान ५ बजेर ४३ मिनेटसम्म कम्तीमा त्यसका १२ वटा पराकम्प महसुस गरिएका छन्। अन्तिम पराकम्प यो समयमा ४.३ म्याग्निच्यूड थियो।
यी १२ वटामध्ये ४ रेक्टर स्केलभन्दा माथिका ११ पराकम्प थिए। सामान्यतया अध्ययनका लागि २ रेक्टरस्केलदेखिका भूकम्प र त्यसका पराकम्पहरूलाई रेकर्डमा राखिन्छ।
तर, ४ रेक्टरस्केलभन्दा माथि भए त्यसलाई खतराको सूचीमा राखिन्छ।
बझाङको यो भूकम्पमा परेर एक जनाको ज्यान गएको छ। भूकम्पपछिको पहिरोमा परेर जयपृथ्वी नगरपालिका– ११ ओखलकी ४० वर्षीया गुनमति धामीको निधन भएको प्रहरीले जनाएको छ।
जिल्ला विभिन्न ठाउँमा ११ जना घाइते भएका छन्। क्षतिको त्यतिधेरै विवरणहरू त आइसकेका छैनन्, तर धेरै ठाउँमा घरहरू भत्किएको र सदरमुकाम चैनपुरमै प्रहरी चौकीलगायत धेरै भौतिक क्षति भएको छ।
भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पृथ्वीमा भूकम्प र त्यसका कम्पन अनि पराकम्पनहरू निरन्तर प्रक्रिया हो।
फरक यत्ति हो, कुनै घर्षण शक्तिशाली हुन्छ र त्यसले अलि बेस्सरी हल्लाउँछ। कुनै कम्पनहरू महसुस नै हुँदैनन्।
गोरखाको बारपाक इपिसेन्टर भएर २०७२ सालमा नेपालमा गएको भूकम्पपछि अहिलेसम्म लगभग ५६ हजार भन्दा धेरै पराकम्प महसुस गरिएका छन्। ती मध्ये केहीले अलि बेस्सरी हल्लाएका छन् र केही थाहै नदिई गएका छन्।
किन हल्लिरहन्छ सुदूरपश्चिम?
यो खासमा पृथ्वीको गति र त्यसका सतहमा उत्पन्न हुने चालका प्रक्रियाहरू हुन्। पृथ्वीको एक सतह बनाइ बसेका एक तहका विभिन्न प्लेटहरूको आफ्नै चाल र गति हुन्छ।
उदाहरणका लागि पृथ्वीको एक सतहमा भएका मुख्य १६ वटा प्लेटहरूको चाल र घर्षणले त्यसमा प्रभाव पारिरहेका हुन्छन्। पृथ्वीको भूगोलअनुसार फरक-फरक प्लेटहरू मिलेर पृथ्वीको बाहिरी सतह बनेको हुन्छ।
सजिलो भाषामा भन्दा यी प्लेट भनेका माटोको पत्रहरू हुन्। जो चलिरहन्छन्, आफ्नै गतिमा।
त्योमध्ये नेपालमा चाल उत्पन्न गर्ने भनेको इन्डियन प्लेट र तिब्बतियन प्लेट हुन्। यी प्लेटहरूको गति एकदमै मिहीन हुन्छ।
उदाहरणका लागि नेपालमा भूकम्पको मुख्य कारक मानिने इन्डियन प्लेट प्रत्येक वर्ष १५-२० मिलिमिटरको चालमा तिब्बतियन प्लेटतर्फ धकेलिइरहेको छ। यस्तै गतिमा एकअर्को सतह नमिल्दा पृथ्वी हल्लिन्छ, त्यो एउटा निश्चित विन्दुमा हुन्छ र त्यसैलाई भूकम्प गएको भनिन्छ। यी प्लेट आ- आफ्नो क्षेत्रका लागि हिमालय श्रृङ्खलामुनि अर्थात् नेपालको भू-भागमा संघर्षरत छन्।
एउटा प्लेट अर्को प्लेटको स्थानमा घुस्दा वा छुँदा उत्पन्न हुने वा सञ्चित हुने शक्ति वा ऊर्जाबाट निस्किने कम्पन भनै भूकम्प हो। अर्थात्, घुसाइका कारण सञ्चित हुने ऊर्जाको परिमाण बढ्दै जाँदा भू-गर्भको संरचनाले थेग्न नसकी भू-गर्भका चट्टानका चाक्लाहरु दोब्रिदाँ वा भाँच्चिदा हुने कम्पन नै भूकम्प हो। जसले जमिन हल्लाउँछ।
भूकम्प भनेकै पृथ्वीको कम्पन अर्थात् काँप्नु हो वा हल्लिनु भनेको हो।
सुदूरपश्चिमलाई बेलाबेलामा झट्का दिइरहने अर्थात् हल्लाइरहने भनेको यिनै प्लेटको गति र सतहको घर्षण नै हो। जसले कमजोर भूगोल खोजिरहेको हुन्छ।
अर्थात्, विज्ञहरूकाअनुसार ती कम्पनहरू पृथ्वीको माथिल्लो सतहसम्म निस्किनका लागि भित्रभित्रै उत्पन्न घर्षण भूगोलको कमजोर वा सिथिल ठाउँमा विष्फोट हुन्छ। त्यही नै भूकम्प हो।
यसको अर्थ भूकम्प जोखिमका लागि सुदूरपश्चिम निकै संवेदनशील भूगोल हो।
‘खासमा यो भनेको केही ठुलो हुँदैछ है भन्ने पूर्वसंकेत पनि हो। त्यसैले हामी सचेत र चनाखो भएर रहनुको विकल्प नै छैन’, खानी तथा भूगर्भ विभागका भूगर्भविद् नारायण बाँस्कोटा भन्छन्, ‘सुदूरपश्चिमलाई उसै पनि भूकम्पको जोखिम क्षेत्रका रुपमा हामीले हेरिरहेको हो। धन्न अहिलेसम्म त्यस्तो विनाशकारी भूकम्प गएको छैन। तर, त्यो जुनसुकै बेला पनि जानसक्छ।’
यसको एकीन मिति, समय र स्थान भने हुँदैन। विज्ञ तथा वैज्ञानिकहरूले अहिलेसम्म संघर्ष गरिरहेको मध्ये भूकम्पको पूर्वानुमान प्रणाली पनि हो। जो अहिलेसम्म पत्तै लाग्न सकेको छैन वा त्यसको पूर्वानुमानबारे कसैले केही भन्नै सक्दैन।
वर्षा, बाढी, चट्याङ वा हुरिबतास अर्थात् मौसमको जस्तै भूकम्पको पूर्वानुमान हुँदैन। त्यसैले अहिलेसम्मको निष्कर्ष के हो भने- भूकम्प रोक्न सकिन्न। तर, त्यसको क्षतिबाट बच्नका लागि त्यसैअनुसारका जीवनशैली आवश्यक छ।
उसै पनि नेपालको सिङ्गै भूगोल भूकम्पको जोखिममा छ। २०७२ को भूकम्पपछि नेपालका धेरै क्षेत्रका भूगोलको अध्ययन र अनुसन्धानसमेत भइरहेको छ।
२०७२ को महाभूकम्पपछि पछि संयुक्त राष्ट्र संघको ‘ब्युरो अफ क्राइसिस प्रिभेन्सन’ले विश्वका १ सय ९८ राष्ट्रमध्य नेपाल भू–कम्पीय उच्च जोखिमको ११औं स्थानमा रहेको निष्कर्ष निकालेको थियो।
त्यही जोखिम त्यो भूकम्पपछि करिब ८ हजार ७८९ जनाको मृत्यु र करिब ६ लाख भौतिक संरचनाहरू ध्वस्त हुनुको कारण बन्यो। जसले २२ हजारभन्दा बढी मानिसलाई घाइते र कैयौलाई अपांग बनायो।
त्यो निकै शक्तिशाली अर्थात् ७.८ रेक्टरस्केलको कम्पन थियो। जसले छिमेकको भारत, चीन र बंगलादेशका समेत कतिपय भूभाग हल्लायो।
त्यो भूकम्पको ठुलो चोट त्यतिबेला सुदूरपश्चिमको भूगोललाई खासै लागेन। त्यसका दरारहरू पोखराभन्दा पश्चिमको भूभागतिर खासै देखिएनन्।
अर्थात्, त्यो क्षेत्रमा कम्पनको त्यो शक्ति अहिले पनि सञ्चय भइरहेको भनेर विज्ञहरूले विश्लेषण गरेका छन्।
कम्तीमा शताब्दीको अन्तरालमा आउने भूकम्पले वर्षौं सञ्चित भएको त्यो ऊर्जा एकैपटक ननिस्किन पनि सक्छ। त्यसैले उसले एउटा कमजोर जमिन खोजिरहेको हुन्।
भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार करिब ५०० वर्षयता गोरखाभन्दा पश्चिमतिर अर्थात् भारतको देहरादून भू-भागसम्म कुनै पनि ठूला भूकम्प गएका छैनन्।
‘अब हामी आफैँ बिचार गर्नसक्छौं। मुनितिर कति शक्ति सञ्चय भइरहेको हो। त्यसैले यो सुदूरपश्चिमका क्षेत्रमा क्षेत्रमा महाभूकम्प जानसक्ने शक्ति सञ्चित भएको छ बुझ्न सकिन्छ र यो भूगोलमा महाभूकम्प वा ठूला भूकम्पको खतरामा छ भन्ने अनुमान गर्न सकिन्छ’, भूगर्भविद् बाँस्कोटाले भने, ‘यस्तो भूकम्प कहिले जान्छ भनेर भन्नचाहिँ सकिन्न।’
गत कार्तिक २३ गते २२ गते राति डोटी केन्द्रबिन्दू भएर सुरुमा ९ बजेर ७ मिनेटमा ५.७ म्याग्निच्यूड र ९ बजेर ५६ मिनेटमा ४.१ म्याग्निच्यूडको भूकम्प भएको थियो।
त्यसको लगत्तै २३ गते बिहान ६.६ म्याग्निच्यूडको भूकम्प गयो। यो निकै शक्तिशाली थियो, जसले देशको पूर्वी भागसमेत हल्लायो।
यो भूकम्पमा परेर डोटी र वरिपरि जिल्लामा धेरै जनधनको क्षति भएको थियो। त्यो बेला कम्तीमा ६ जना घाइते भएका थिए भने कैयौ घरगोठहरू भत्किएका थिए।
‘हामीले यसैबाट बुझ्नसक्छौं त्यहाँको भूगोल अनि त्यहाँको माटो कति संवेदनशील छ भनेर’, बाँस्कोटा भन्छन्, ‘हाम्रा घरगोठहरू पनि त्यस्तै प्रकारले बनेका हुन्छन्। हामीले त्यस्तो ठाउँमा भूकम्पीय जोखिमबारे ख्याल नगरी संरचनाहरू निर्माण गर्छौं। त्यसपछि हुने क्षति त्यसकै कारण हुन्।’
उनका अनुसार पाँच सय वर्षभन्दा धेरै समयदेखि त्यो भूगोलमुनि प्लेटहरूबीच भइरहेको संघर्षका कारण ठूलै शक्ति सञ्चित भएको हुनसक्छ।
तर, बेला-बेला आउने यस्ता साना स्केलका भूकम्प वा पराकम्पनहरूले त्यो शक्तिलाई पूरै निष्कासन गर्न नसक्ने उनको भनाइ छ।
‘हुन त मंगलबार बझाङ केन्द्रबिन्दु भएको ६.३ म्याग्निच्यूडको भूकम्प पनि कम शक्तिशाली त होइन तर अझै यस्ता भूकम्पहरूले यसपछि आउनसक्ने महाभूकम्प वा शक्तिशाली भूकम्पलाई निस्तेज गर्नसक्दैनन्’, उनले भने।, ‘यसलाई एउटा पूर्वसंकेतका रुपमा वा अब आपनसक्ने ठूलै कम्पनका रुपमा बुझेर त्यसैअनुसार हामी चनाखो भइरहनुपर्छ।’