भूकम्पमा बाँचेकाहरु भन्छन्– ‘अस्पतालसम्म आइपुग्याैँ, अब त केही नहोला कि’

BreaknLinks
BreaknLinks

घर बस्सरी हल्लियाे। घर हल्लिदा भेरी नगरपालिका– १ जाजरकाेटकी यमुना रावललाई सपना जस्ताे लागेकाे थियाे। गर्ल्याम्म ढल्याे, घर । उठ्न नपाउँदै उनी च्यापिइन्। 

उनीमात्र च्यापिएकी  थिइनन्। सँगै सुतेका श्रीमान र छाेरा पनि च्यापिए। माथिल्लाे तलामा सुतेका आमा र दाईलाई त भूकम्पले लग्याे। धन्न यमुना, उनका श्रीमान र छाेरामाथि घरबाट खसेकाे काठ तेस्राे परेकाले उनीहरू बाँचे। 

उनका श्रीमानलाई गम्भिर चाेट लागेकाे छ।  ‘हामी भाग्नै पाएनौं। म, मेरो श्रीमान र छोरालाई त माथिबाट खसेर तेर्सिएको काठले बचाएको हो।आमा र दाईलाई लग्याे,’ २६ वर्षीया यमुनाले मलिन मुहारमा आफ्नाे कुरा सुनाइन्। 

भूकम्पमा घर भत्किँदा उनको दाँहिने टाउकोमा र दाहिने खुट्टामा पनि चोट लागेको छ भने उनका श्रीमान्काे काेखामा गहिराे चाेट लागेकाे छ। अहिले यमुना विस्तारै हिँड्डुल गर्न सक्छिन् भने उनका श्रीमान्लाई नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना गरिएको छ।

छोरालाई खासै चोट नलागेको हुनाले यमुनाले छिमेकीको भरमा जाजरकोट नै छाडेकी छिन्। छोरालाई अरुको जिम्मा लाएर आफू नेपालगञ्ज श्रीमान्को उपचारमा आएकी यमुनालाई भूकम्पले अझै तर्साइरहेको बताउँछिन्। 

०००

भेरी नगरपालिका–३ खलङ्गा जाजरकोटका ४८ वर्षीय चन्दा शाह श्रीमान्काे उपचारमा नेपालगञ्जमा छिन्। भूकम्पमा घर भत्किँदा उनका श्रीमान विमलकुमार कार्कीका दाँहिने खुट्टा भाँचिएको छ।

विमल शनिबार बिहान भेरी अस्पतालमा उपचारका लागि पुगेका पहिलो बिरामी पनि हुन्। ‘भूकम्पले श्रीमान्लाई घाइते बनाएपनि त्यसको पीडा मलाई र मेरो चार सन्तानलाई अझ बढी भएको छ,’ भेरी अस्पतालमा भेटिएकी चन्दाले भनिन्। श्रीमानकाे उपचारमा रहेकी उनलाई भूकम्पले त्रर्साइरहन्छ। 

उनीहरूजस्तै अहिले भेरी अस्पतालमा ३८ जनाकाे उपचार भइरहेकाे छ। अर्का एकजनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। शुक्रबार एक जनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए।

–रासस

प्रकाशित मिति: : 2023-11-06 13:40:00

प्रतिकृया दिनुहोस्