भूकम्प अपडेट: घाइते २४३ जना उपचारपछि घर फर्किए, ९५ जनाको उपचार हुँदै

शुक्रबार पौने १२ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१ लामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी घाइते भएकामध्ये २४३ जना उपचारपछि घर फर्किएका छन्।

नेपाल प्रहरीले दिएको जानकारीअनुसार उपचारपछि जाजरकोटका ७७, रुकुम पश्चिमका १५०, दैलेखका दुई, जुम्लाका ६, सल्यानका दुई, रोल्पाका एक, प्युठानका दुई र बैतडीका ३ जना घर फर्किएका हुन्।

भूकम्पमा परी ३३८ जना घाइते भएका थिए। जसमा सबैभन्दा बढी रुकुम पश्चिममा १८९ जना घाइते भएका थिए। जाजरकोटमा १३१ जना, दैलेखमा ३, जुम्लामा ६, सल्यानका २, रोल्पाका १, प्युठान र बैतडीका तीन–तीन जना घाइते भएका थिए।

घाइतेमध्ये ९५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उपचाररतमा जाजरकोटका ५४ जना छन्। जसमध्ये ६ जनाकाे अवस्था गम्भीर रहेको छ भने १६ जनाको मध्यम र ३२ जनाको सामान्य अवस्था रहेको प्रहरीले जनाएको छ।

यस्तै रुकुम पश्चिमका ३९ जना उपचाररत छन्। जसमा २ जनाको अवस्था गम्भीर रहेको छ भने १६ जनाको मध्यम र २१ जनाको अवस्था सामान्य रहेको छ। दैलेख र प्युठानका एक–एक जनाको पनि अहिले उपचार भइरहेको छ।

भूकम्पमा परी मृत्यु हुनेको संख्या अहिले सच्याइएको छ। यसअघि मृतकको संख्या १५७ भनिएकोमा अहिले सच्याइएर प्रहरीले १५३ को भूकम्पमा परी मृत्यु भएको जनाएको छ। यसअघि मृतकको व्यक्ति दुई ठाउँबाट गणना भएकाले संख्या बढेको प्रहरीले जनाएको छ।

जाजरकोटको भेरी र नलगाड नगरपालिकामा ४ जनाको नाम दोहोरिँदा जाजरकोटमा यसअघि १०५ जनाको मृत्यु भएको भनिएको थियो। सच्याइएकोमा जाजरकोटमा १०१ जनाको मात्र मृत्यु भएको छ।

जाजरकोटका मृतक १०१ जनाको पोष्टमार्टम भइसकेको छ। जसमध्ये ९५ जनाको शव आफन्तले बुझिसकेका छन्। ६ जनाका आफन्त भने टाढा रहेकाले जिल्ला अस्पताल जाजरकोटमा राखिएको छ।

यसैगरी भूकम्पमा परी रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: : 2023-11-06 12:05:00

प्रतिकृया दिनुहोस्