दक्षिण गाजाको ‘नासेर’ अस्पतालमा शनिबार एउटी आमाले रुँदै–चिच्याउँदै ‘जुम्ल्याहा छोरी’ जन्माइन्।
उत्तरी गाजाको ‘अल शिफा’ अस्पतालमा आक्रमण भएपछि उनी अघिल्लो साता लुकिछिपी परिवारसित दक्षिण गाजापट्टी आइन्। र, २६ वर्षीया नाहला अबु एलोफले समयअगावै छोरीहरूलाई जन्माइन्।
‘नूहा र फातिन’ नामका ती शिशुहरू इजरायलले गाजामाथि रकेट बर्साइरहेका बेला जन्मिएका हुन्। खान युनिसको ‘नासेर’ अस्पतालमा ‘पानी र बिजुलीको अभाव’का बीच जन्मिएका छोरीहरूले युद्धको चर्को मार खेपिरहेका छन्।
शिशुलाई थम्थम्याउँदै अस्पतालको ‘थियटर’मा सुत्केरी आमाहरू छट्पटाइरहेका छन्। आँगनमा परिवारका सदस्य र आफन्तहरू इजरायली आक्रमण कुरिरहेका छन्। शहर शोकमा डुबेको छ।
गाजापट्टीका पाँच लाख मानिसहरू इजरायली आक्रमणपछि आफ्नो घर छोडेर भागेका छन्। सात महिनाकी गर्भवती नाहलाले मानसिक तनाव खेप्दा पनि ‘जुम्ल्याहा छोरी’लाई राम्रोसित जन्म दिएको परिवारका सदस्यले जनाएका छन्।
इजरायलले गाजामा भारी हवाई आक्रमण गरिरहँदा गर्भवतीको रक्तचाप घट्यो। र, उनलाई अघिल्लो सोमबार ‘अल शिफा’ अस्पतालमा भर्ना गरियो। त्यहाँ हजारौँ घाइतेहरू उपचारका लागि लगिएको थियो। गाजापट्टीको सबैभन्दा ठूलो अस्पताल ‘अल शिफा’ बमबारीबाट घाइते भएका मानिसहरूले घेरिएको थियो।
उडिरहेको सुख्खा धुलो र रगतका टाटाले अस्पताल पुग्नेहरू डराउँथे। बस्नका लागि सुरक्षित ठाउँ खोज्दै मानिसहरू अस्पतालबाहिर भागिरहेका थिए। ‘शव’हरू मुर्दा घरबाहिर फुटपाथमा राखिएको थियो।
पीडादायी दृश्यको खाटा नमेटिँदै इजरायली सेनाले उत्तरी क्षेत्र खाली गर्न आदेश दियो। र, १० लाखभन्दा बढी मानिसलाई दक्षिणतिर सर्न चेतावनी दियो।
बिमारीहरूको चाप बढ्न थालेपछि २६ वर्षीया गर्भवती नाहलालाई अस्पतालले घर पठायो। र, उनी पतिसित उत्तरतिर लागिन्।
खान युनिस शहर नपुग्दै नाहलालाई बेथाले च्याप्यो। अनि, उनलाई हतारहतार ‘नासेर’ अस्पताल भर्ना गरियो।
‘इमर्जेन्सी सी–सेक्शन’मा भर्ना भएपछि नाहलाले सात महिनामै ‘जुम्ल्याहा छोरी’ जन्माइन्। उनका भाइ समर अबु एलोफका अनुसार अस्पतालमा पानी, बिजुली र औषधिको अभाव छ। ‘नूहा र फातिन’ धर्ती टेकेको पहिलो दिनमै अनकौँ अभावसँग जुधिरहेका छन्।