नेपाली कांग्रेसका नेता भूपेन्द्रजङ्ग शाहीको नेतृत्वमा मेचीनगरदेखि महेन्द्रनगरसम्म युवा संकल्प यात्रा आयोजना हुने भएको छ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शाहीले यही कात्तिक २३ गतेदेखि यात्राको सुरुआत कोशी प्रदेशको झापा जिल्लाको मेचीनगरबाट हुने र यात्राको समापन सुदूरपश्चिम प्रदेशको कञ्चनपुरको महेन्द्रनगरमा हुने जानकारी गराएका हुन्।
युवालाई रोजगारीको सुनिश्चितता, योग्यता र सीप अनुसारको रोजगारी सुनिश्चित नभएका कारण अवसरका नाममा वर्षेनी लाखौं नेपाली युवा विदेशिन बाध्य भएका, स्वदेशमै शिक्षा र स्वदेशमै रोजगारीको सुनिश्चितताका लागि युवा संकल्प यात्राले आवश्यक पहल र दवावको अगुवाई गर्ने उनको विश्वास छ।
साथै उनले देशमा पटक-पटक राजनीतिक परिवर्तन भएपनि पनि जनताको जिवन शैलीमा कुनै परिवर्तन नहुनुको मुख्य कारण बेथिति, बेरोजगारी र भ्रष्टाचार रहेको भन्दै यात्रामार्फत तीनै तहका सरकारका व्याप्त भ्रष्टाचार उन्मुलन र सुशासनको स्थापनाका लागि आवश्यक पहल र खबरदारी गर्ने पनि बताए।