गहिरो निन्द्राबाट ब्यूँझिएझैँ ‘फूला’ले घन्टौँपछि दुवै आखाँ खोलिन्। चारैतिर टुलुटुलु हेरिरहिन्। र, उनले हजुरआमालाई सोधिन्, ‘मलाई मेरी आमा चाहिन्छ! मेरो बुबा खै?’
अस्पतालको बेडबाट ६ वर्षीया फूलाले बारम्बार सोधिरहिन् आफ्ना ‘आमा–बावु’। उनको आवाज खान युनिस अस्पतालको अप्रेसन ‘थियटर’भित्र गुञ्जिरहेको थियो। उनकी हजुरमाआमा छेउतिर टोलाइरहेकी थिइन्।
भर्खंरै होसमा आएकी नातिनीलाई शान्त पार्ने प्रयासमा थिइन् उनी। तैपनि फूलाले आफ्ना आमा–बुबालाई खोजिरहिन्। उनी रोइन्, चिच्याइन्। हजुरआमालाई चिमोट्दै सामुन्ने नभएका ‘आमा–बा’लाई बोलाइरहिन्।
फूलाको मुखबाट ‘आमा–बा’को शब्द सुन्दा मौन हुन्थिन् हजुरआमा। उनी बोल्न खोज्थिन्। तर आँशु खसाल्दै रोकिन्थिन्। नातिनीको जिद्दीपनाले परिवार बिथोलिएको ‘कथा–व्यथा’ सुनाउँदै गइन्।
०००
दक्षिणी गाजापट्टीको तटीय सहर ‘अल–मावासी’। अघिल्लो शनिबार फूलाको परिवार सुत्नको लागि तयार हुँदै थियो। ५८ वर्षीया हजुरआमा नवल अत्ता शावान अल–लहमले टेलिफोनमा कुराकानी गरिरहेकी थिइन्।
रातको समयमा फूलाको परिवार सुतिरहेको बेला ‘बिना–चेतावनी’ घरमाथि मिसाइल प्रहार भयो। उनकी आमा, उनका बुबा, उनको सानो भाइ एज र ६ महिनाअघि गाजामा जन्मिएकी सानी बहिनी शाइमा इजरायली आक्रमणमा घरभित्रै मारिए।
१४ जना एकैचिहान हुँदा ‘गुलाबी र खैरो रंगको कपडा’ लगाएकी फूलालाई बिहानपख भग्नावशेषबाट निकालिएको थियो। उनी मरेतुल्य थिइन्। लगतै गाजाका सामाजिक कार्यकर्ताहरूले उनलाई अस्पताल लगे। र, उपचार थालियो।
०००
हजुरआमासँग बोलिरहँदा ‘फूला’ भर्खंरै कोमाबाट ब्यूँझिएकी थिइन्। उनको अनुहारमा दाग थियो, टाउकोमा चोट। आँखाहरू रसाइरहेका थिए। तैपनि बेसुरमा बोलिरहेकी थिइन् उनी।
फूलाको काँध र घुँडामा सेतो पट्टी बाँधिएको थियो। हजुरआमाले पानी पिलाइरहेकी थिइन्। र, खान युनिसको नासेर अस्पतालमा डाक्टर र नर्सहरूले उनको उपचार गरिरहेका थिए। अस्पतालमा उनीजस्ता हजारौँ बालबालिकाहरू छट्पटाइरहेका छन्।
‘फूला एकदमै दुःखी छिन्, बा–आमा गुमाइन्। शरीरभरि ठूलो चोट बोकिन्। बा–आमा खोजेर हजुरआमालाई हैरानी दिइरहेकी छिन्,’ थियटरमा खटिएकी एक नर्सले भनिन्।
फूलाको रोदन सुनेर हजुरआमा चिन्तित छिन्। ‘म फूलालाई मेरो हृदयमा राख्नेछु। इजरायली क्रूरताबाट लुकाउनेछु। मैले मेरो छोरा गुमाएँ तर नातिनी मेरो सबथोक हुन्। म उसलाई उसको बुबाले वाचा गरेको सबै खुशी दिनेछु,’ फूलाकी हजुरआमाले भनिन्।
विद्रोही समूह हमासले इजरायलमाथि जमिनी आक्रमण गरेपछि जवाफमा इजरायली सेनाले लगातार गाजापट्टी हानिरहेको छ। इजरायली आक्रमणबाट हजारौँ मानिसहरू मरिरहेका छन्, हजारौँ–हजार घाइते छन्। घाइतेहरूकाे उपचार भइरहेको छ। मृतकका शवहरू अस्पतालमा थुप्रिएका छन्।
very sad news for asian human. stop the war