यही असोज ३ गते संविधान दिवसका दिन राष्ट्रपतिबाट आममाफी पाएका व्यक्तिले रूकुम पश्चिममा एक महिलाको हत्या गरेका छन्।
सानीभेरी गाउँपालिका– ९ सिम्लीका ३३ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर बिकले मुसीकोट नगरपालिका– ७ साँखकी २८ वर्षीया भावना बिकको हत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रहरी नायक उपरिक्षक (डिएसपी) नमराज भट्टराईकाअनुसार लोकबहादुर र भावना यही आइतबार रूकुम (पश्चिम)को खलंगास्थित होटेल सत्कारमा बसेका थिए।
भावना मंगलबार बिहान होटेलको कोठा नम्बर १ मा मृत भेटिएकी थिइन्। उनको घाँटी रेटेको अवस्थामा शव भेटिएको र हत्यामा संलग्न लोकबहादुर रहेको पुष्टि भएको भट्टराईले बताए।
मुसीकोट नगरपालिका– १ छिङस्थित माइतीघरमा बस्दै आएकी भावना र लोकबहादुरबीच अनैतिक सम्बन्ध रहेको र आर्थिक लेनदेनको बिषयमा विवाद भएपछि हत्या भएको प्रहरीको अनुसन्धानमा खुलेको छ।
प्रहरीले घटनास्थलबाट रगत लागेको धारिलो चक्कु, मोबाइल, चक्कुको खोल र लोकबहादुरको घरकोठाबाट नगद ८५ हजार ८३५ रुपैयाँ बरामद गरेको छ।
आइतबार होटेल सत्कारमा पुगेका उनीहरुले त्रिवेणी गाउँपालिकाका विकास केसीको नामबाट होटेलको कोठा बुक गराएका थिए। नातामा श्रीमान श्रीमतीको सम्बन्ध उल्लेख गरेका उनीहरुले दिएको नाम र विवरण गलत रहेको प्रहरीले जनाएको छ।
बहुविवाह मुद्धामा कैद भुक्तान गरिरहेका लोकबहादुरको असोज ३ गते राष्ट्रपतिले राम्रो चालचलन भएको भन्दै कैद मिनाहा गरेका थिए।