‘मृत्यु पर्खिरहेछ’ गाजाः शवमाथि कुदिरहेका छन् हजाराैँ मानिसहरू

Photo - middleeasteye.net
Photo - middleeasteye.net

नवौँ दिनदेखि जारी छ, इजरायल–हमास युद्ध। र, रगतले लतपतिएको छ– गाजा। दुवैतर्फका मानिसहरू बम र बन्दुकको गोलीले ढलिरहेका छन्। नानीबाबुहरू हिंसाको चपेटामा छन्।

इजरायली रक्षा बलका १० हजार सैनिकले गाजापट्टीमा जमिनी आक्रमणको तयारी गर्दैछन्। इजरायली सेनाले उत्तरी गाजाका प्यानेस्टाइनी नागरिकलाई अन्यत्रै सर्न उर्दी जारी गरेको छ।

अर्कोतिर हिजबुल्लाह संगठनले लेबनान पक्षबाट इजरायलको सीमा क्षेत्र शतुलामा हवाई आक्रमण गरेको छ। जसमा एक इजरायली सैनिकको मृत्यु भएको छ। यसपछि इजरायलले पनि जवाफी कारबाही सुरु गरेको अधिकारीहरूले जनाएका छन्।

मिडिया स्रोतकाअनुसार इजरायली सेनाको आक्रमणबाट हालसम्म हमासका ३ शीर्ष कमाण्डर मारिएका छन्। यसअघि १४ अक्टोबरमा इजरायली सेनाले हमासका दुई शीर्ष कमाण्डरको हत्या गरेको थियो। सेनाले अक्टोबर ७ मा इजरायलमा आक्रमणको नेतृत्व गर्ने कमाण्डर अली कादीलाई मारेको जनाएको छ। अली कादीलाई मार्ने काम इजरायलको आन्तरिक खुफिया एजेन्सी शिन बेटले गरेको थियो।


‘बंकर’भित्रको कथाः इजरायलमा भाग्यले बाँचेका जिन्दगीहरू (भिडियो)


‘प्यालेस्टाइनी लडाकु समूह हमास’ले गाजाबाट मानिसहरूलाई बाहिर निकालन खोज्दा इजरायलले रोकेको दाबी गरेको छ। ‘इजरायलले गाजामा ठूलो आक्रमण गर्दैछ। हामीहरूले अहिलेसम्म हवाई हमला मात्र गरेका थियौँ। अब गाजामा जमिन, समुन्द्र र आकाशबाट आक्रमण गर्नेछौँ,’ इजरायल डिफेन्स फोर्सले भन्यो।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले साउदी अरबका युवराज मोहम्मद बिन सलमानलाई भेट गरेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बास र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग फोनमा कुराकानी गरेका छन्। उनले दुवै नेतालाई आम जनतालाई सहयोग गर्न अपिल गरेका छन्।

मिडिया रिपोर्टकाअनुसार युद्धविरामका लागि अरब देशहरूमा चीनले आफ्नो चाल चाल्दैछ। तर, चीनले इजरायलले गाजामा ‘अहिले जे गरिरहेको छ, त्यो आत्मरक्षाभन्दा बाहिर छ’ भनेर प्रतिक्रिया दिएको छ। इजरायली सेनाले शनिबार ‘हमासको सुरुङमार्ग’मा आक्रमण गरेको थियो। न्युयोर्क टाइम्सका अनुसार इजरायलले गाजाक्षेत्रको भूमि आक्रमणका लागि १० हजार सैनिक तैनाथ गरेको छ।

विश्व स्वास्थ्य संगठनले गाजाका अस्पतालहरूमा भर्ना भएका बिरामीहरूलाई देश छाड्न बाध्य पार्नु मृत्युदण्डको सजायसरह भएको बताएको छ। वास्तवमा, इजरायली आक्रमणमा १९ भन्दा बढी अस्पतालहरू क्षतिग्रस्त भएका छन्।

इजरायली सेनाको आक्रमणबाट गाजामा २० भन्दा बढी एम्बुलेन्स ध्वस्त भएका छन्। यस्तो अवस्थामा बिरामीलाई पनि बाहिर निकाल्ने काम भइरहेको छ। उनीहरूले गाजाका अन्य सुरक्षित अस्पतालहरूमा पनि ठाउँ पाएका छैनन् किनभने त्यहाँ हजारौँ घाइतेहरूको उपचार भइरहेको छ। बिरामीहरूले पनि देश छोडिरहेका छन्।

प्रकाशित मिति: : 2023-10-15 16:17:00

प्रतिकृया दिनुहोस्