नेशनल प्याब्सनले विज्ञप्ति जारी गर्दै भन्यो, ‘अध्यक्ष पाण्डव हमालनै हुन्’

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन)ले नेपालगञ्जमा भएको सातौं राष्ट्रिय महाधिवेशनले चयन गरेको नेतृत्व नै आधिकारिक भएको बताएको छ।

आज (आईतबार) नेशनल प्याब्सनका महासचिव पारसमणि दाहालले केही व्यक्तिहरुले आधा–आधा कार्यकालमा सहमति भएको भन्दै हिजो अनुपम फुड ल्याण्डमा पदभार ग्रहण गरेको विषयमा भ्रममा नपर्न आग्रह गरेका छन्।

नेपालगञ्जमा भएको सातौं राष्ट्रिय महाधिवेशनले चयन गरेको नेतृत्व नै तीन वर्षे कार्यकालका लागि भएको बताएका छन्। सातौं राष्ट्रिय महाधिवेशनमा आधा–आधा कार्यकालका लागि सहमति भएको भन्दै अनुपम फुडल्याण्डमा आयोजित एक कार्यक्रममा सह– अध्यक्ष सुवास न्यौपानेले अध्यक्षको पदवहाली गरेका थिए। तर, नेशनल प्याब्सन केन्द्रीय समितिले अध्यक्ष पाण्डव हमाललाई बाहेक अरुलाई मान्न नसकिने बताएको छ।

‘राष्ट्रिय महाधिवेशन भइरहेको अवस्थामा केही पूर्व अध्यक्ष लगायतका केही व्यक्तिहरूले अध्यक्ष र सह–अध्यक्ष पदमा आधा–आधा कार्यकाल गर्ने गरी सहमति गरिएको भनि व्यापक प्रचार प्रसार गरिँदै आएकोमा सोही सहमतिलाई आधार मान्दै हिजो मिति २०८०/०६/ १३ गते काठमाडौंको अनुपम फुडल्याण्डमा केही व्यक्तिहरूको भेला बोलाई पदभार ग्रहण गरेको नाटक मञ्चन गरिएको छ,’– विज्ञप्तिमा भनिएको छ।

हिजो गरिएको स्वघोषित अध्यक्षता विधान विपरित र गैह्र कानूनी रहेको नेशनल प्याब्सनले बताएको छ। एशोसीएसनको केन्द्रीय कार्यालयमा हिजो अन्दाजी राति ७ बजेको समयमा हुलहुज्जतसहित जबरजस्ती कार्यालयभित्र प्रवेश गरेको भन्दै केन्द्रीय समितिले भत्सर्ना गरेको छ।

नेशनले प्याब्सनले सदस्य विद्यालय, पालिका, जिल्ला, प्रदेश र केन्द्रीय समितिलाई केन्द्रीय समितिका अध्यक्ष पाण्डव हमाल नै रहेको जानकारी गराएको छ।

विज्ञप्ति :

प्रकाशित मिति: : 2023-10-01 21:04:00

प्रतिकृया दिनुहोस्