याे संवैधानिक व्यवस्थाले राजनीतिक स्थिरता र आर्थिक समृद्धि आउँदैन: आजपा

File Photo
File Photo

आम जनता पार्टी (आजपा)ले गलत संवैधानिक प्रावधानले गर्दा देशमा राजनीतिक एवं आर्थिक संकट बढदै गएको आराेप लगाएको छ।

राजनीतिक स्थायित्व एवं समृद्धिका लागि अहिलेको संविधान खारेज गरी नयाँ संविधानका लागि विद्रोहको आवश्यकता रहेको आजपाको दाबी गरेको छ।

आजपा प्रवक्ता चन्द्रभुषण साहले आज एक विज्ञप्ति जारी गर्दै गलत संवैधानिक व्यवस्थाका कारण राजनीतिक, आर्थिक, धार्मिक एवं साम्प्रदायिक हिंसाको माहाेल बढ्दै गएको जनाएका छन्।

यसै साता विराटनगर पुगेका आजाप अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले समेत अहिलेको संविधानको अन्त्येष्टि गर्नुपर्ने अभिव्यक्ति दिएका थिए।

‘गलत संवैधानिक प्रावधानहरूले गर्दा देशमा दिनप्रतिदिन राजनीतिक एवं आर्थिक संकट बढ्दै जानु, धार्मिक, संस्कृतिक एवं साम्प्रदायिक हिंसाको माहौल बढ्दै जानु, राज्य भ्रष्टाचार एवं कुशासनको दुष्चक्रमा फस्नु, लोकतन्त्रको स्थानमा दलीय लुटतन्त्र (दलतन्त्र) क्रियाशील रहनु, स्थिरता, बदलाव, विकास र समृद्धिको सपना चक्नाचुर हुनु अर्थात समग्रमा भन्नुपर्दा संवैधानिक दोषहरुको कारणले गर्दा देश अग्रगति भन्दापनि अधोगतितर्फ लागेको देखिन्छ’, आजपा प्रवक्ता साहले भनेका छन्।

नेपालको संविधान निर्माण पश्चात् यसको सफल कार्यान्वयनमार्फत देशबाट संक्रमणकाल र राजनीतिक द्वन्द्वको अन्त्यसहित स्थिरता, सुशासन, बदलाव र विकासले गति लिने अपेक्षा गरिएपछि गलत संवैधानिक व्यवस्थाकै कारण देशले सफलता हासिल गर्न नसकेको आजपाको निष्कर्ष रहेको छ।

यस गलत एवं विकृत संविधानको भण्डाफोर गर्दै यथाशीघ्र मुलुक र आम जनताको दीर्घकालिक हितको प्राप्ति, रक्षा एवं विकास हुन सक्ने गरी आम नेपाली जनताको मनोभाव तथा विभिन्न परिवर्तनका आन्दोलनहरुको मुलमर्म अनुरूपको नयाँ व्यवस्था ल्याउन तर्फ अग्रसर हुन आजपाले आह्वान गरेको छ।

नेपालको संविधान कुनै निश्चित दर्शन, सिद्धान्त र शासन प्रणालीमा आधारित नभई राजनीतिक भागबण्डा (लेनदेन) को आधारमा भएकोले संविधान कार्यन्वयनको पहिलो दशकमा नै यसले आफ्नो दुर्गुणहरु देखाउन थालिसकेको आजपाले जनाएको छ।

प्रकाशित मिति: : 2023-09-15 18:39:00

प्रतिकृया दिनुहोस्