मेरा दुईजना छोरीहरू एमए, एक जना बी.ए, अर्को दुईजना आइए र कान्छी छोरीले एसएलसी दिँदै गर्दा २०६१ सालमा सस्तो जग्गा खोज्दाखोज्दा बूढानीलकण्ठमा हामीले अलिकति जग्गा लियौँ।
मेरो नोकरीको अवकाशबाट आएको उपदानमा जेठी र माहिली छोरीको सहयोगले त्यो जग्गा लिन सकेका थियौँ। पछि २०६६ सालमा छोरीहरूकै सहयोगमा एकतल्ले घर बनायौँ र आफ्नै घरमा बस्न थाल्यौं। यतिबेलासम्म राजनीतिमा जेठी छोरी जिफन्टको राष्ट्रियस्तरको नेता र माहिली छोरी क्षेत्रीयस्तरको नेता भइसकेकी थिइन्।
माहिली छोरी एउटा अफिसको हाकिम बनिसकेको थियो। अर्की छोरी ज्वाइँसहित अमेरिका पुगिसकेकी थिइन्। भुइँतल्लाकाे त्यही घरमा सबै छोरीहरू मिलेर २०७२ सालमा अर्को तल्ला थप गरी केही व्यवस्थापन गर्ने काम सम्पन्न गर्यौँ।
२०७३ सालको पौषमा म र मेरी जहान अमेरिका पुग्यौँ। छोरीले घुमाउन बोलाइन्। मेरिल्याण्ड भन्ने ठाउँमा छोरीको फ्ल्याट रहेछ। छोरी, ज्वाइँ दुवैले व्यवसाय गरेको राम्रो लाग्यो। आ-आफ्नै गाडी चलाएर हिँडेको मनपर्यो। बजार जाँदा नुनदेखि सुनसम्म सबै एकै ठाउँमा पाउने। सडकको बजार पनि त्यस्तै राम्रो व्यवस्थापन, झिलिमिली बजार। हेर्दाहेर्दै नअघाउने।
पाउरोटी एक हात लामो, एक बित्ताको चौडाइ भएको अनि कस्तो नरम पनि। २ पीस खाएपछि टन्न हुने। बिहान २ पीस पाउरोटी खाएपछि १२ बजेतिर मात्रै भोक लाग्थ्यो। नेपालमा जस्तो दाल, भात, तरकारी पकाएर खाइरहन नपर्ने, सबै बजारमा रेडिमेड किन्ने र खाने। खाने पनि फुर्सद नहुने ठाउँ। तर छोरी र ज्वाइँको आफ्नै व्यवसाय भएकोले उनीहरूको घरमै खाना पकाउने र समयमै खाने अनि निस्कने आदत रहेछ, खुशी लाग्यो।
घुम्न जान्थ्यौं, गाडीमा चढेपछि गाडी गुडेको कि उडेको हो भन्ने लाग्थ्यो। १४० किलोमिटरको वेगमा गाडी कुद्ने रहेछ। यो पनि कम वेग हो भन्दोरहेछ। सबै गाडी उस्तै पाराले कुद्ने। बाटो ठूलो, फराकिलो, लामोलामो अनि टिलिक्क सफा। सडक बत्तीहरू र हरियाली, कतै धुलो छैन, फोहोर छैन, दुर्गन्ध छैन। कहिल्यै रूघाखोकीसम्म पनि नलाग्ने। अग्लोअग्लो घरहरू, धेरैजसो फ्ल्याट सिस्टममा बस्ने, तल हेर्दा त मानिस र गाडीहरू कमिला जस्तो लाग्ने।
कुन दुःखको पहाडबाट कहाँको अर्कै ब्रम्हाण्ड जस्तो लाग्ने ठाउँसम्म पुग्न पाउँदा कर्मको खेला, समयको लीला अचम्म लागेर आउँथ्यो। कहाँको मान्छे, कस्तो। कस्तो दुःख झेलेको मान्छे गह भरिएर आउँथ्यो सम्झँदा। यत्रो विकास र उन्नति हाम्रो देशमा कहिले होला? मजस्तै दुःखीहरूको जीवन कहिले बदलिन्छ होला? मेरो परिवारले पाएको जस्तो दुःख अरु कतिले झेलिरहेको होला?
अमेरिकामा पनि छोरीज्वाइँले नेपाली टेलिभिजन च्यानल लगाइदिन्थे। नेपालको समाचारहरू सधैँ उस्तै देखेपछि मन हुँडलिन्थ्यो। काठमाडौँमा भएका अरु सन्तानहरूको यादले सताउँथ्यो। कस्तो कष्टको समय कटाएको थियो यही शरीरले, आज बसीबसी खान पाइएको छ, देश-विदेशमा सन्तानहरूले पौरख गरेका छन् भनेर गह भरिन्थ्यो।
अमेरिकाजस्तो देशमा पनि कहीँकहीँ भिख माग्नेहरू पनि देख्दा यहाँ पनि दुःख पाकाहरू हुनेरछ तर लुगा मैलेजस्तो घुँडामा फाटेको सुरुवाल, प्वाल परेको जुत्ता लगाएको हुँदैनथे। ठूलाठूला अग्ला घर बनाउने मजदुरहरू पनि कति सफा र राम्रा लुगा लगाएका। सरसफाइ सबभन्दा राम्रो लाग्यो मलाई अमेरिकामा। माग्ने मानिसहरूले किन दुःख पाएका होलान् यत्रो ठूलो धनी देशमा पनि भन्ने लाग्थ्यो। काम गर्नाको अल्छीहरू होला भन्थेँ। छोरीलाई सोध्थेँ। यहाँ पनि घर नभएको सडकमै बस्ने गरीबहरू छन्, दिनभरि काम गर्ने राति सडकमा बस्नेहरू पनि हुनेरहेछन्, छोरीले भनेपछि बुझेँ।
गरिबीको पनि देशअनुसारको भेष हुनेरछ। मलाई आफूले मजदुरी गर्दा बाहुला धुजाधुजा भएर च्यातेको कमिज, घुँडामा प्वाल परेको सुरुवाल र छोरीहरूको फाटेको जुत्ता चप्पलको याद आउँथ्यो। कारखानामा काम गर्दा कामअनुसारको ज्याला दिन साहुले गरेको कचकच, मरुन्जेल काम गरेपछि पनि समयमा पैसा नदिने, थोरैथोरै पेश्की रकम लिएर गर्जो टार्नुपर्दाको समय यादले मन भरिन्थ्यो। मनमा बिशेक हुँदै गएको घाउ फेरि ओल्ट्याइपल्टाई याद आउँदा किन यतिविध्न दुःखको समुन्द्रमा फालिदिएको होला? किन यति ठूलो परीक्षा लिएको होला मलाई?
तर म पास भएँ, गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री बन्न ४८ वर्ष पर्खनुपरे जस्तो मलाई पर्खनुपरेन। मेरो जीवनको अति दुःख र अभावको समय हटाउन १७ वर्ष लागेछ। जुन समयमा ४ घण्टा मात्रै सुतेर पूरा समय काम गर्थें। जति दुःख, पीडा भएपनि दुःखको समुन्द्रबाट स–परिवारलाई पार गराएरै छाडेँ।
अमेरिका गएर आएको डेढ वर्षपछि कान्छी छोरीले अष्ट्रेलिया घुमाउन लगिन्। अष्ट्रेलिया अमेरिकाभन्दा अलिक भीडभाड लाग्यो तर रमाइलो। अमेरिकामा छोरीको फ्ल्याट १४औँ तल्लामा थियो, बाहिरभित्र गर्न पनि लिफ्टबाट गर्नुपर्ने। बाहिर निस्कन डराउथियौँ। अष्ट्रेलियामा कान्छी छोरीको छुट्टै घर। घरबाहिर पार्क र पार्कमा धेरै नेपालीहरू भेला हुने। त्यसले गर्दा घरबाट बाहिर आवतजावत गर्न सजिलो हुन्थ्यो। नेपालकै जस्तो घरबाट आउजाउ गर्ने पारा मिलेर होला, हामी बुढाबुढीलाई सजिलो लागेको। कान्छी छोरीज्वाइँको पौरख र जाँगर राम्रो थियो। नेपालीहरूबीचको जमघट पनि भैरहन्थ्यो। हामी खुशी भएर ६ महिनासम्म अष्ट्रेलिया बसेर नेपाल फर्किएका थियौँ।
२०२६ साल फाल्गुन महिनादेखि कमलपोखरी पेट्रोल पम्पमा काम गरेको बेलादेखि मैले काठमाडौँमा डेरा जीवन सुरु गरेको, त्यसको ६ महिनापछि बिहे गरेको थिएँ। अनेकन हण्डर, दुःख, अभाव, हेपाइ, वेदना सहँदै जीवनको घुम्ती पार गर्ने क्रममा म र मेरो परिवारले २०२६ साल फाल्गुनदेखि २०६७ असोजसम्म काठमाडौँमा डेरा जीवन व्यतीत गरिएछ। करिब ४१ वर्षको डेरा जीवनमा दुःखको असह्य वेदनासँगै परिवर्तनका थुप्रै विषयहरू मेरो परिवारले महशुस गर्न पायो। ४१ वर्ष पूरा हुँदा नहुँदै काठमाडौँमा छोरीहरूको मेहनतले घर बनिसकेको थियो।
यति लामो डेरा जीवनमा एउटा कोठाको २४ रूपैयाँदेखि एउटा फ्ल्याटको १६ हजार रूपैयाँसम्म भाडा तिरेर बसेका थियौँ। खानेपानीको लाइन, मट्टीतेलको लाइन, पसलमा उधारो लिन लाइन बसेको अनुभव पनि धेरै बटुल्यौँ। प्रायः घरबेटीले हामीलाई धेरै राम्रो गरे, घर छाडेर जान भनेनन्। केहीकेही घरबेटीहरू छुद्र र हेला गर्ने स्वभावका भेटिए र कोठा छाडेर जान भनेका थिए। एकै ठाउँमा १० वर्षसम्म बसेको घटना पनि छ।
४१ वर्षसम्म करिब अढाइ दर्जन पटक कोठा सरियो होला, कोठा सर्दा सामानको पोकोपुन्द्रो बोकेर हिँड्दा र कोठा मिलाउँदाको दुःखको सम्झना गरिसाध्य छैन तर मेरो धैर्यताको कठिन परीक्षाले दिएको फल सम्झेर सारा दुःख मनमा बिसर्जन गर्न खोज्छु र दुःखको साहस बनेका मेरी जहान र छोरीहरू सम्झन्छु।
म आमाको एक्लो छोरो, म काखमै हुँदा मेरो आप्पा (बुवा) बित्नुभएको रे। त्यसैले मेरो अघिपछि कुनै दाजुभाइ छैनन्। दिदीहरू थिए, सबै बिहे गरी गइसकेका, बिहे नभएको दिदी बितिहाल्नुभो। बिरानो काठमाडौँमा दुःखको भूमरी पर्दा सहयोग गर्ने कोही इष्टमित्र, नातेदार थिएनन्। चिनेजानेकोलाई गुहार माग्दा उल्टो गाली र हेला गर्थे। यत्रोविधि ६ वटी छोरीहरू कसले जन्माउ भनेको थियो भनेर गिज्याउँथे। यही छोरीहरू हुर्केर, पढेर राम्रो काम गर्नुपर्छ भन्ने मनभित्रै इख थियो।
मेरो लागि केही चाहिएको थिएन, दुई छाक खाना र छोरीहरूलाई पढाउन, एकधरो लगाउन दिन सके हुन्थ्यो भनेरै रातदिन काम गर्थें। नभन्दै मेरो जीवनमा तिनै छोरीहरू वरदान बनेर प्रकट भए। मेरो भाग्यरेखा तिनै छोरीहरूले कोरिदिए। मैले लामा विद्याबाहेक ‘क’ अक्षर पढ्न स्कुल जान पाइनँ। लामा विद्या पनि पूरा गर्न सकिनँ। जस्तै दुःखमा पनि मेरा छोरीहरूले पढ्न पाउनुपर्छ भन्ने हेक्का राखिराखेँ र उनीहरूले पनि असल भावले पढेर मेरो इखलाई परिणाम दिए।
सबै छोरीहरू एमएसम्म पढेका छन्। कुनै दिन, कुनै समय, कुनै बेला छोरीहरूका विपरीत मैले कुनै पनि कुरा सोच्न वा बोल्न पुगेँ भने मलाई ठूलो अपराध बाेध हुनेछ, क्षमा योग्य हुनेछैन। किनभने मेरा छोरीहरू नै मेरो भाग्य विधाता हुन्। भगवानको भरोसा, विश्वास र मेरो सत्कर्मले नै यो सम्भव भएको हो। मैले जिन्दगीमा बैंक खाता खोलिनँ, खोल्नै परेन। मेरो बैंक नै छोरीहरू थिए, कमाई पनि तिनै, ब्याज पनि तिनै, ऋण पनि तिनै, धन पनि तिनै।
बुवा नभएको टुहुरा भएपनि मलाई मेरो पूर्खाले सहन सक्ने, धैर्य गरेर पर्खन सक्ने ठूलो शक्ति दिएको रहेछ र दुई छाक खान, एकधरो लाउन सक्ने अवस्था आउन १७ वर्ष लाग्यो। मेरो पनि घर छ भन्ने अवस्था आउन ४१ वर्ष लाग्यो। म अलि सानो छँदा मेरो काकाबाउ, जेठाबाउ, आखेमामहरूले गफ गरेको खुब सुन्थेँ- मेरो हल गोरु बेच्नुपर्ने, कोही किन्ने आउँछ कि भनेर पर्खेको। अर्को जेठाबाउले भन्थे- मलाई दुहुने भैंसी किन्नुछ, पैसा नपुगेर पर्खिरहेको छु। मामहरूले भन्थे- म्हेनिङ खाजी, तेलमसला, अन्न, लुगाफाटो किन्न वस्तु (खसीबोका) बेच्नुपर्ने, कोही किन्न आउँछ कि?
अहिले सम्झन्छु- मलाई न केही बेच्नुथियो, न केही किन्नु थियो। मलाई त केवल अभाव हटाउनुथियो। दुःखको समुन्द्रबाट पार पाउनुथियो। छोरीहरू कहिले पढ्ला, बढ्ला भन्ने मात्रै लागिरहन्थ्यो। स्कुल कहिले पठाउने होला भन्ने पर्खाइ, स्कुल पठाइसकेपछि कक्षा कहिले चढ्ला भन्ने पर्खाइ, कहिले १० कक्षा पुग्ला, एसएलसी पास गर्ला भन्ने पर्खाइ, कलेज कहिले पढ्ला? जागिर कहिले खाला? अनि दुःख बिरामी पर्दा कहिले निको होला भन्ने पर्खाइ।
कोही छोरीहरूले काम पाए, आत्मनिर्भर भए, सबैले काम कहिले पाउला भन्ने पर्खाइ। पछि सबै आत्मनिर्भर भए तर कोही परदेश लागे, परदेशबाट कहिले आउला भन्ने पर्खाइ। आखिर जिन्दगी पर्खाइ नै पर्खाइमा बितिजाने रछ। खेती किसानी गर्दा पनि त कहिले उब्जनी होला? कति होला भन्ने पर्खाइ, आम्दानी के कस्तो होला भन्ने पर्खाइ, किरा, फट्याँग्रा, असिना, आँधी, खडेरी अतिवृष्टि भए के होला भन्ने शंकाको पर्खाइ। त्यस्तै नोकरी गर्दा पनि मासिक तलवको पर्खाइ, कोठा भाडा अहिलेको महिना तिर्यो, अर्को महिना फेरि तिर्नेबेला आउन लाग्यो भन्ने चिन्ताको पर्खाइ। यो पर्खाइको सागर मैले भोगेको दुःखको सागरभन्दा निकै गहिरो थियो।
२४ घण्टामा ४ घण्टा मात्रै सुत्ने गरेर वर्षौंसम्म काम गरियो। कति मान्छेहरूले मलाई सुनाउँथे- ‘तिमीलाई कसरी पुगेको छ? रातदिन मर्नेगरी काम गरेपनि उस्तै छ। त्यसैले मैले त चोरीडकैती पनि गर्ने गर्छु। चोरी पनि त कामै हो।’ निर्धक्कले लाजै नमानी यसो भन्ने मान्छेहरू देखेर छक्क पर्थें। धन्न मलाई चोरी, लुटपाट जस्ता अपराध काम गर्ने बुद्धि कहिल्यै आएन। बुद्धि त बुद्धि हो नि असल भए नि कमसल भए नि। यसलाई जत्रो दुःख दिए पनि यो बिग्रन्छ कि बिग्रँदैन भनेर मलाई परीक्षा लिएको हुनुपर्छ। परीक्षामा मलाई कहिल्यै घटिया काम गर्ने कुबुद्धि आएन। दुःखको पनि दिन बिग्रन्छ एकदिन भनेर मरिमरि काम नै गरिरहेँ। त्यसको लागि धेरै पसिना बगाइरहेँ।
म यो लेख पढिरहनुभएका तपाईं सबैलाई के भन्न चाहन्छु भने डकैती वा अपराध गरेर सुख खोज्नु भनेको विषको बोटमा अमृत खोज्नु जस्तो हो। कुनै न कुनै दिन त्यो कालो कामको, आफूले गरेको कर्तुतको नतिजा पनि कालो नै आउँछ अर्थात आफैँलाई पिरोल्ने भएर आउँछ। आफू अथवा आफ्नै सन्तान, दरसन्तानलाई संकट बनेर आउँछ।
त्यसैले कसैको दुःखमा मज्जा नलिउँ, अर्कालाई रुवाउने काम नगरुँ। मेरो जीवनको ठूलो कमाई भन्नु नै मेरो र मेरो जहान तथा छोरीहरूको पसिना हो। यो पसिनाले भित्र्याएको सुख यो संसारका सारा सुखहरूको अगाडि अत्यन्तै सानो होला तर हाम्रो परिवारका लागि यो अत्यन्त मूल्यवान छ। अब यही मूल्यलाई पारिवारिक मायाले दिगो बनाइरहनुपर्छ। देशविदेशमा रहेका मेरा सबै छोरीहरू, ज्वाइँ तथा नातीनातिनाहरू सबैलाई जीवनको यही मूल्य कहिल्यै नबिर्सनु भन्न चाहन्छु। पर्खन सक्नुपर्दछ, सहनसक्नुपर्दछ भन्न चाहन्छु।
(बुवाको मुख हेर्ने दिनको स्मरणमा लेखक अमृत दोर्जेको हालै प्रकाशित संघर्षको कथा ‘पर्खाइ’ बाट साभार एक अंश)