नेम्वाङको पार्थिव शरीर आज पनि च्यासलमा रहने, बिहान ९ देखि १ बजेसम्म श्रदाञ्जली अर्पण गर्न सकिने

संविधानसभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर आज (बुधबार) पनि एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा रहनेछ।

विदेशमा रहेका दुई छोरा नेपाल फर्किएपछि बिहीबार मात्र राजकीय सम्मानसहित अन्त्यष्टि गरिने भएकाले उनको पार्थिव शरीर श्रदाञ्जलीको लागि पार्टी कार्यालयमै राखिएको हो । बुधबार बिहान ९ बजेदेखि १ बजेसम्म उनको पार्थिव शरीर श्रदाञ्जलीका लागि पार्टी कार्यालयमै राखिने बताइएको छ। 

उनको भोलि (बिहीबार) राजकीय सम्मानसहित अन्त्यष्टि गरिने छ।

मंगलबार बिहान साढे १ बजे हृदयघात भएपछि महाराजगञ्जस्थि त्रिवि शिक्षण अस्पताल लगिएका नेम्वाङलाई १ बजे ५० मिनेट जाँदा अस्पतालले मृत घोषणा गरेको थियो। उनी राति १ बजे घरको शौचालयमा अचेत अवस्थामा भेटिएका थिए।

बुधबार बिहान करिब १० बजे श्रदाञ्जलीको लागि नेम्वाङको पार्थिव शरीर एमाले पार्टी कार्यालय च्यासलमा लगिएको थियो। त्यहाँ नेम्वाङलाई प्रधानमन्त्रीसहित सबै मन्त्रीहरु, विभिन्न पार्टीका अध्यक्षहरु, आफन्तहरु, पार्टीका नेता कार्यकर्ताहरुले श्रदाञ्जली अर्पण गरेका थिए।

त्रिवि शिक्षण अस्पतालले मृत घोषणा गरेसँगै मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दालहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित अन्य नेता कार्यकर्तालगायत विभिन्न दलका अध्यक्षहरु अस्पताल पुगेका थिए।

चार पटकसम्म सभामुख (संविधानसभा अध्यक्षसहित) तथा पाँचपटक सांसद बनेका नेम्वाङको सम्मानमा सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

त्यस्तै एमालेले तीन दिनसम्म देशभरका पार्टी कार्यालयहरूमा रहेका पार्टी झण्डा आधा झुकाउने, तीन दिनसम्म पार्टीका कुनै पनि कार्यक्रम नगर्ने तथा असोज २ गते पार्टी कार्यालयमा श्रदाञ्जलीसभा गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति: : 2023-09-13 07:33:00

प्रतिकृया दिनुहोस्