नेपाल सरकार चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा तालिम परिषद् (सिटिभिटी)बीचकाे विवाद छानबिन गरी टुङ्याउनकाे लागि कार्यदल गठन भएकाे छ। सोमबार सिंहदरबरमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले माओवादी सांसद देबेन्द्र पौडेलको नेतृत्वमा १० सदस्सीय वार्ता तथा छानबिन कार्यदल गठन गरेकाे हाे।
साे कार्यदलकाे सदस्यहरुमा बद्री पाण्डे, प्रभु हजारा, दीपा शर्मा, डा. तोसिमा कार्की, रामकुमार चौधरी, अनिता सिंह, अरुण चौधरी, दीपक कार्की रहेका छन्। थप एक जनाकाे नाम नेपाली काँग्रेसले पठाउन बाँकी छ।
लामाे समयदेखि जारी यस विवादबारे बिहीबार संसदीय समितिकाे बैठकमा विषय उठेकाे थियाे। यद्यपि, त्यसदिन उक्त विवाद नटुङ्गिएपछि शुक्रबार शिक्षा मन्त्रीसहित सम्बन्धित मन्त्रालयका सचिव, सिटिइभिटीका उपाध्यक्ष र चिकित्सा शिक्षा आयोगका उपाध्यक्षसँग सांसदहरुले अन्तरक्रिया गरेका थिए।
त्यसदिन पनि दुवै पक्ष आफ्नाे अडान नछाडेपछि शिक्षामन्त्री अशाेक राईले विवाद सम्बन्धित मन्त्रालयबाट टुङ्गाउने बताएका थिए। तर, सांसदहरुले उक्त विवाद सहजै नसल्टिने भन्दै विवादबारे अनुसन्धान गर्नुपर्ने माग राेखेपछि साेमबार कार्यदल गठन भएकाे हाे।
विवाद समाधान नभए समयरेखा ताेकेर ऐन परिर्वतन गरेर भएपनि समाधान गर्ने कुरा शुक्रबारकाे बैठकमा उठेकाे थियाे।
प्रधानमन्त्री अध्यक्षमा रहने नेपाल सरकार चिकित्सा शिक्षा आयोगको सह-अध्यक्षमा शिक्षा र स्वास्थ्यमन्त्री रहेका छन्। भने, उपाध्यक्ष श्रीकृष्ण गिरी रहेका छन्।
त्यस्तै प्राविधिक शिक्षा तथा तालिम परिषद्को अध्यक्ष जागेश्वर सुवेदी रहेका छन। भने, उपाध्यक्ष लक्ष्मीप्रसाद मैनाली रहेका छन्।