सरकारले भन्याे- प्रधानमन्त्री अमेरिकाबाटै चीन जाने कुरा प्राविधिक पाटो हाे

File Photo
File Photo

सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाबाटै चीन भ्रमणमा जाने कुरा प्राविधिक पाटो भएको जनाएको छ।

शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीकाे जिज्ञासाको जवाफ दिँदै सरकारका प्रवक्ता रेखा शर्माले प्रधानमन्त्री अमेरिका भ्रमणमा गएर त्यसपछि चीन भ्रमण गर्ने विषय टुंगिसकेको बताइन्।

उनले अमेरिकाबाटै चीन जाने कुरा नितान्त भ्रमणको विषय भएकाले अन्यथा नबुझ्न आग्रह गरिन्। भ्रमण कुन उद्देश्यमा पुग्ने भन्नेमात्रै रहेको भन्दै रुटको कुरा प्राविधिक विषय भएको शर्माले सुनाइन्।

उनले भनिन्, ‘प्रधानमन्त्रीज्युले अमेरिका भ्रमण गर्ने र त्यसपछि चीन भ्रमण गर्ने भन्ने विषय टुंगिसकेको छ। तयारीबारे हाम्रो आफ्नै सिस्टम छ, त्यो सिस्टमअनुसार परराष्ट्रले अन्य मन्त्रालयसँग र सम्बन्धित निकायसँग संयोजन गरेर तयारी भइरहेको छ।’

प्रवक्ता शर्माले अमेरिकाबाटै चीन जाने कुरा राम्रो नभएको कुरा आइरहेका बेला उनले भ्रमणको उद्देश्यमा पुग्नु मुख्य भएको बताइन्।

‘कहाँबाट कुन बाटो पर्‍यो भन्ने प्राविधिक कुरा हो। त्यसमा धेरै चर्चा परिचर्चा आवश्यक छैन। उहाँहरुले कुन ढंगबाट उठाउनु भयो, सकारात्मक ढंगबाटै उठाउनु भयो भन्ने बुझौँ। बाटो, रुट कुन अपनाइयो भन्ने कुरा प्राविधिक हो। यसमा कुनै नियत, विषयवस्तु छैन’, उनले भनिन्।’

प्रकाशित मिति: : 2023-09-08 18:26:00

प्रतिकृया दिनुहोस्