किन रिसाए नारायणकाजी? प्रचण्ड भन्छन्- फटाहाहरूले भ्रम छरे

पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र आन्तरिक मनमुटाव नभएको दाबी गरेका छन्।

बुधबार प्रेस सेन्टर मोरङद्वारा विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले झापामा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ रिसाएको प्रसंगमा स्पष्टीकरण दिँदै प्रचण्डले पार्टीभित्र आन्तरिक मनमुटाव नभएको बताएका हुन्।

माओवादीको तराई मधेस जागरण अभियानको उदघाटन कार्यक्रममा झापा सभामा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बोल्न नदिएको भन्दै आक्रोश व्यक्त गरेका थिए। पछि उनले चितवन पुगेर कार्यकर्तासँग माफी मागेका थिए।

प्रचण्डले पार्टी एकबद्ध नै रहेको दाबी गर्दै भने, ‘मैले भन्या छु एकताबद्ध नै छ। तपाईंहरूले देख्नु भयो केन्द्रीय समितिको बैठक भयो। तीन दिनसम्म भएको बैठकमा हामीले झण्डै एकहजार केन्द्रीय समितिका सल्लाहकार, ज्येष्ठ कम्युनिष्ट बस्दा सबैको एकमतले डकुमेन्ट, योजना पास भएको छ। हाम्रो पार्टीमा विवाद छैन भन्ने आधार त्यही भयो नि।’

उनले माओवादी अगाडि बढेको मन नपराउने तत्वहरूले पार्टीभित्र विवाद रहेको देखाउन भ्रम छरिरहेको दाबी गरे। उनले पार्टीका सबै पदाधिकारीहरू सँगै हिँडिरहेको दाबी गरे।

प्रचण्डले भने, ‘नोकरशाही, दलाल, जाली-फटाहाहरूलाई माओवादी बढेको मन परेको छैन। फेरि माओवादीहरू अघि बढ्ने हो कि क्या हो भन्ने परेको हुनाले भएको नभएको बढाई चढाइ गरेका छन्। तर, तथ्यले के पुष्टि गरेको छ, केन्द्रीय समिति एकमतमा छौं। अहिले हामी सबैसँगै हिँडेका छौं। जनतालाई देखाएका छौं।’

प्रकाशित मिति: : 2025-02-26 14:22:00

प्रतिकृया दिनुहोस्