नेकपा एमालेले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार भएको आक्रमणप्रति आपत्ति जनाएको छ।
प्रतिनिधिसभाको बिहीबारकाे बैठकमा बोल्दै एमालेका सचेतक महेश बर्तौलाले याे घटनाकाे प्रधानमन्त्रीले जिम्मा लिनुपर्ने बताए।
‘याे घटनाकाे सम्माननीय प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ, आएर जवाफ दिनुपर्छ। काठमाडाैँकाे मध्य भागमा यस प्रकारले सत्तापक्षकाे पार्टी केन्द्रका सहमहामन्त्री असुरक्षित हुने जुन प्रकारले जे परिस्थिति बन्याे सरकारले गम्भीरताका साथ सदनमा आएर जवाफ दिनुपर्छ’, उनले भने।
सत्तापक्षका सांसदहरूमाथि खोजी खोजी आक्रमण हुने थालेकाे भन्दै उनले भने, ‘यस्ता घटना देशका विभिन्न ठाउँमा भइरहेका छन्। प्रमुख प्रतिपक्षी दलको नेता आफ्नो क्षेत्रहरूमा जाँदा, जनताकाे बीचमा जाँदा विभिन्न धावा बोलिने र आक्रमण हुने श्रृङ्खला पहिलादेखि नै चलिआएको थियो। हिजो प्रतिपक्षतिर हुँदा ध्यान कम थियो होला आज सत्तापक्षका सांसदहरूमाथि खोजी खोजी आक्रमण हुने, धारिलो हतियार प्रयोग हुने। त्यसमा अपराधीलाई प्रत्साहित गर्ने गरी जुन ढंग ल्याउन खाेजिएकाे छ, त्यसमा सरकारले निर्ममताको साथ अध्ययन गरोस्।’