मन्त्रालयबाट बिदा हुँदै माेदीले भने- प्रधानमन्त्रीको सकारात्मक कामलाई सहज बनाउन पद त्यागेँ

File Photo
File Photo

निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले प्रधानमन्त्रीको सकारात्मक कामको सहजताका लागि मन्त्री पद छोडेको बताएका छन्।

सिंहदरबारमा आयोजित बिदाइ पत्रकार सम्मेलनलाई बोल्दै उनले सरकारप्रति चौतर्फी घेराबन्दी भइरहेकाले प्रधानमन्त्रीको सजिलोको लागि आफूले सहज रूपमा मन्त्री पद त्याग गरेको बताएका हुन्।

‘सरकारले गरेको सकारात्मक कामलाई सहज बनाउनुछ। विविध परिस्थितिलाई मध्यनजर गर्दै सरकारलाई बलियो बनाउन कहीँ न कहीँ त त्याग गर्नुपर्‍यो। सहज तरिकाले प्रधानमन्त्रीले सबै पदाधिकारी र मन्त्रीलाई राखेर छलफल गर्नुभयो। कसले त्याग गर्ने, कसले सहज तरिकाले छोड्दिने भनेर? सबैको प्रस्ताव गर्दा अन्य साथीहरूले पनि बोल्नुभयो तर, मैले सहज रूपमा पद प्रतिष्ठा सधैँ रहँदैन भनेर आफैँ बिदा लिएँ। प्रधानमन्त्रीज्यू हाम्रो पार्टीको अध्यक्ष पनि हुनुहुन्छ’, मोदीले भने।

भावुक हुँदै मोदीले देश र जनताको लागि राम्रो परिस्थिति आए पद सामान्य रहेको तर्क गरे। मन्त्री पद छोड्दा दुखी हुनेहरुलाई स्मरण गर्दै उनले अहिले यस्तो स्थिति नरहेकाे बताए।

‘पार्टी अध्यक्ष प्रधानमन्त्री भएर यति राम्रो काम गर्दा सहयोग गर्छु। देश र जनताको लागि राम्रो काम गर्नुस्, पद प्रतिष्ठा आउँछ-जान्छ, सहज तरिकाले ६ महिना २६ दिन अवसर दिनुभो’, उनले भने, ‘पद सधैँ रहँदैन, मन्त्री पद छोड्दा विवाद गरेर, रोएर कहीँ के समस्या देखाएर राजनीति गर्ने अहिले स्थिति छैन।’

पद र प्रतिष्ठा सधैँ नमिल्ने भएकाले आफूले अनुभव गर्ने अवसर पाएको बताए। उनले आफ्नो बिदाइ पनि सुखद भएकाले खुसी व्यक्त गर्दै आफूलाई अवसर दिएकोमा प्रधानमन्त्रीलाई धन्यवादसमेत दिए।

प्रकाशित मिति: : 2023-08-14 12:07:00

प्रतिकृया दिनुहोस्