शीर्ष नेताहरुबीच जुटेन सहमति, प्रतिनिधिसभा बैठक स्थगित

सदनको अवरोध हटाउने विषयमा सत्ता र प्रतिपक्ष दलबीच सहमति जुट्न नसक्दा आजको प्रतिनिधिसभा बैठक स्थगित भएको छ।

सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरुबीच दुई चरणमा भएको छलफलमा पनि सहमति नजुटेपछि सूचना टाँसेर संसद बैठक भोलि (मंगलबार) दिउँसो ३ बजेसम्मको लगि स्थगित भएको हो।

संसदको अवरोध हटाउन तीन दलका शीर्ष नेताहरुबीच दुई चरणमा भएको बैठकमा सहमति जुटेन।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले ‘सय किलो सुन प्रकरण’को अनुसन्धानको लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राखेर निरन्तर संसद बैठक स्थगित गर्दै आएपछि सोमबार सभामुखसहित दलका शीर्ष नेताहरु छलफलमा जुटेका थिए।

शीर्ष नेताहरुको बैठक सोमबार अपराह्न साढे १२ बजे सिंहरदबारस्थित सभामुखको कार्यकक्षमा बसेको थियो। करिब दुई घण्टासम्म चलेको छलफलमा पनि सहमति जुट्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक घण्टाको समय मागेर बैठक स्थगित गरेको थिए।

त्यसपछि साढे ३ बाट नयाँ बानेश्वरस्थित सभामुखको कार्यकक्षमा चलेको दोस्रो बैठकमा पनि सहमति जुट्न सकेन्।

सहमति जुट्न नसकेपछि १ बजेबाट ४ बजेको लागि सारिएको प्रतिनिधिसभा बैठक मंगलबार दिउँसो ३ बजेसम्मको लागि स्थगित गरिएको हो।

यही साउन २ गते त्रिभुवन विमानस्थलबाट जाँस पास भएर बाहिरिँदै गर्दा राजश्व अनुसन्धान विभागले बरामद गरेको करिब सय किलो सुन प्रकरणको अनुसन्धान गर्न एमालेले छानबिन समितिको माग गरेको छ।

यद्यपि, सरकारले भने सुन प्रकरणको अनुसन्धान राजश्व अनुसन्धान विभागबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)लाई जिम्मा दिइसकेकाे छ।

प्रहरी गरिरहेको अनुसन्धानमा छानबिन समितिमा ल्याएर सरकारसँग ‘बार्गिङ’ गर्ने खोजेको भन्दै एमालेको आलोचना समेत हुँदै आएको छ।

प्रकाशित मिति: : 2023-08-07 17:03:00

प्रतिकृया दिनुहोस्