ललिता निवास प्रकरण: गच्छदारविरुद्ध पक्राउ पुर्जी जारी, माधव नेपाल युरोपतिर

फाइल तस्बिर : विजयकुमरा गच्छदार (दायाँ), माधवकुमार नेपाल (बायाँ)

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारसहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

जिल्ला अदालत काठमाडौँले आइतबार गच्छदारसहित चार जना पूर्वमन्त्रीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले जनाएको छ।

व्यूरोकाअनुसार गच्छदारसँगै पूर्वराज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमि सुधार मन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।
उनीहरुमाथि ललिता निवासको सरकारी जग्गा हिनामिना गर्न ‘सरकारी लिखत किर्ते’ गरेको आरोप छ।

आइतबारमात्रै सर्वोच्च अदालतले यस प्रकरणमा मन्त्रीपरिषद्बाट निर्णय गराउने तथा प्रमाणित गरी कार्यन्वयनमा ल्याउनेसम्मका सबैमाथि अनुसन्धान गर्न आदेश दिएको थियो।

योसँगै ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने गरी मन्त्रिपरिषद् बैठकबाट निर्णय गराउने तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराई र माधवकुमार नेपालमाथि पनि अनुसन्धान गर्ने बाटो खुलेको छ।

सर्वाेच्चले यो आदेश दिएको केही घण्टामै एकीकृत समाजवादी पार्टी (एस)का अध्यक्षसमेत रहेका नेपाल भने युरोपतिर लागेका छन्। नेपाल सोमबार बिहान टर्किस एयरलाइन्सको विमानबाट जेनेभातर्फ प्रस्थान गरेका हुन्।

उनी प्रवासी नेपाली एकता मञ्च युरोपले स्वीटजरल्याण्ड र लण्डनमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन्।

२०४९ सालदेखि २०६९ सालको अवधिमा ललिता निवासको १४३ रोपनी भन्दा बढी जग्गा हिनामिना भएको थियो। हिनामिनामा तत्कालीन प्रधानमन्त्री, मन्त्रीका साथै  सम्बन्धित मन्त्रालय, गुठी संस्थान र मालपोत कार्यालयका कर्मचारीहरु पनि मुछिएका छन्।

प्रकाशित मिति: : 2023-08-07 09:51:00

प्रतिकृया दिनुहोस्