‘समाजवादी मोर्चा’ बन्दा चित्त दुखेकाे मात्रै हाे, एमालेमा त जान्नँ– रामकुमारी झाँक्री

photo : imagekhabar

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि एमालेबाट टुक्रिएर बनेको एकीकृत समाजवादी पार्टी (एस)की सचिव रामकुमारी झाँक्रीले एमालेबाट छुट्टिनु परेकोमा बेला–बेलामा पश्चताप् मिश्रित अभिव्यक्ति दिइरहन्छिन्।

उनले दिने अभिव्यक्तिबाट अनुमान लगाउन सकिन्छ, एमालेबाट बाहिरिएपछि पार्टी दर्ताको लागि माधव नेपाललाई हात समाएर हिँडाउने रामकुमारीले अहिले पार्टीबाट सन्तुष्ट छैनिन्। एमालेमा रहँदाका सहकर्मी गोकर्ण विष्टसँग चुनाव हारेपछि झनै निराश बनेकी रामकुमारी अहिले पार्टीबाट पनि असन्तुष्ट देखिएकी छन्।

पार्टीको सचिवजस्तो महत्वपूर्ण पदमा रहेकी रामकुमारीले पार्टीको कार्यशैलीबाट सन्तुष्ट नरहेको बताइन्। मंगलबार दिउँसो बिएल नेपाली सेवासँग कुराकानी गर्दै रामकुमारीले भनिन्, ‘पार्टीका पछिल्ला कार्यशैलीबाट सन्तुष्ट छैन।’

नेकपा (माओवादी केन्द्र), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मिलेर बनेको ‘समाजवादी मोर्चा’मा आफ्नो पार्टी सामेल भएकोमा चित्त दुखेको उनको भनाइ छ। ‘हाम्रो पार्टी समाजवादी मोर्चामा गएको मलाई चित्तै बुझेको छैन। यो त हाम्रो सुरुवाती उद्देश्यविपरीत काम भयो नि’, झाँक्रीले भनिन्।

‘त्यही भएर तपाईं पार्टी अध्यक्ष माधव नेपालसँग बोल्न छाड्नु भएको हो ?’ भन्ने प्रश्नमा उनले भने, ‘किन नबोल्नु अस्ति पार्टीको बैठकमा कुराकानी भएको हो। बोलचाल छैन भन्ने कुरा चाहिँ होइन है।’

पार्टीका कार्यशैलीप्रति असन्तुष्टि रहे पनि एमालेमा फर्किनेबारे सोच्नै नसोचेको उनले बताइन्।

प्रकाशित मिति: : 2023-08-01 14:46:00

प्रतिकृया दिनुहोस्