अस्ट्रेलिया र न्युजिल्याण्डमा जारी नवौ फिफा महिला विश्वकपको १०औं दिन शनिबार समूह चरणका तीन खेल सम्पन्न भएका छन् ।
समूह 'जी'अन्तर्गत स्विडेन र इटालीबीच भएको पहिलो खेलमा स्विडेन ५-० को ठूलो गोल अन्तरले बिजयी भयो । पहिलो हाफमा तीन गोल गरेको स्विडेनले दोस्रो हाफमा दुई गोल थप्यो । यसरी पाँच गोल खाएको इटली भने कुनै गोल नगरी हेरेको हेरै भयो ।
फिफा बरियतामा स्विडेन तेस्रो र इटाली १६औं बरियतामा छन् ।
समूह 'एफ' अन्तर्गत ब्राजिल र फ्रान्सबीच भएको खेलमा फ्रान्स २-१ ले विजयी भयो । फ्रान्सका लागि १७औं मिनेटमा ले सोमर र ८३औं मिनेटमा रेनर्डले गोल गरेका थिए भने ब्राजिलका लागि ५८औं मिनेटमा डी ओलिभेराले गोल गरेकी थिइन् ।
अस्ट्रेलिया र न्युजिल्याण्डमा जारी नवौ फिफा महिला विश्वकपको १०औं दिन शनिबार स्विडेन, फ्रान्स र जमैका विजयी हुँदा ब्राजिल, इटली र पनामाले भने हार ब्यहोर्नु पर्यो।
यो जीतसँगै चार अंकका साथ फ्रान्स समूहको शीर्षस्थानमा पुग्यो भने ब्राजिल तीन अंकका साथ तेस्रो स्थानमा झर्यो ।
फिफा बरियतामा फ्रान्स पाँचौं र ब्राजिल आठौं बरियतामा छन् ।
समूह 'एफ' अन्तर्गत दिनको अन्तिम खेल पनामा र जमैकाबीच भएको थियो । यो खेलमा जमैका १-० ले विजयी भयो । खेलको एक मात्र निर्णायक गोल जमैकाकी स्वाबीले ५६औं मिनेटमा गरेकी थिइन् ।
यो जीतसँगै चार अंकका साथ जमैका दोस्रो स्थानमा उक्लियो भने पनामा लगातार दोस्रो खेलमा पनि पराजित भएर अंकको खाता खोल्नै सकेन ।
फिफा बरियतामा जमैका ४३औं र पनामा ५२औं बरियतामा छन् ।